आधा वाणिज्य बैंकको पुँजीकोष दबाबले कर्जा लगानी बढ्न सकेन, साढे ६ महिनामा १७० अर्ब कर्जा

0
Shares

बैंकहरुले चालु आर्थिक वर्षको सुरु भएदेखि अपेक्षा अनुरुप कर्जा विस्तार गर्न सकेका छैनन । घट्दो ब्याजदर संगै कर्जा लगानी योग्य रकम भएर पनि प्राथमिक पुँजीकोषमा दबाबका कारण कर्जा लगानी बढाउन नसकेका हुन ।

चालु आर्थिक वर्ष सुरु भएदेखि ब्याजदर पनि घट्दो क्रममा देखिएको छ । त्यसका साथै बैंकहरुसंग कर्जा लगानी योग्य रकमको उपलब्धता पनि उत्तिकै मात्रामा छ । तर, बैंकहरुले कर्जा लगानी गर्न नसकेको अवस्था छ । बैंकहरुले ब्याजदर धेरै भएको र अर्थतन्त्रमा देखिएको समस्याले कर्जाको माग बढ्न नसकेको तर्क गर्दै आएका छन् ।

बैंकहरुले विगतका वर्षहरुमा गरेको अधिक लगानीका कारण पुँजी कोषमा परेको दबाब अझै पनि कायम छ । त्यसलै पनि बैंकहरुलाई कर्जा लगानी बढाउन समस्या भएको हो । त्यसका साथै कर्जाको सावाँ ब्याज नउठ्ने र त्यसको प्रोभिजनिङ गर्नु परेकाले समेत बैंकहरुको पुँजीकोषमा असर गरेको हो ।

चालु आर्थिक वर्षको पहिलो दिन साउन १ गते वाणिज्य बैंकहरुको मात्रै कर्जा लगानी ४३ खर्ब १२ अर्ब रहेको थियो । चालु आर्थिक वर्षको माघ ७ गतेसम्ममा बैंकहरुको कुल कर्जा लगानी ४४ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकहरुले १७० अर्ब रुपैयाँ कर्जा लगानी विस्तार गरेका हुन । यो अवधिमा बैंकहरुको निक्षेप भने ३६१ अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको पहिलो दिन वाणिज्य बैंकहरुको निक्षेप ५० खर्ब ६२ अर्ब थियो भने माघ ७ गतेसम्म बढेर ५४ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकहरुको कर्जा निक्षेप अनुपात पनि ८० प्रतिशतको हाराहारीमा रहदै आएको छ । बैंकहरुले कर्जा लगानी नगर्ने र निक्षेप थपिने क्रम बढेपछि कर्जा निक्षेप अनुपात समेत ८० प्रतिशत भन्दा तल झरेको थियो । बैंकहरुमा थपिएको निक्षेप र विस्तार भएको कर्जालाई हेर्दा पनि ब्याजदर घट्ने तरलता अधिक हुने अवस्थामा पनि कर्जा किन बढ्न सकेन भन्ने प्रश्न आउछ । तर, त्यसको जवाफमा पुँजीकोषमा परेको दाबब नै प्रमूख हो ।

राष्ट्र बैंकका अनुसार प्राथमिक पुँजी कोष अनुपात ८.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ । आगामी आर्थिक वर्ष देखि काउन्टर साइक्लिकल बफर पनि थपिएको हुनाले प्राथमिक पुँजी कोष (टियर वान क्यापिटल) अनुपात ९ प्रतिशत पुग्नेछ । बैंकहरुको प्राथमिक पुँजी कोष अनुपातले थेग्नेसम्मको मात्र जोखिम लिन अर्थात कर्जा लगानी गर्न पाउछन ।

क्यापिटल एडिक्वसी फ्रेमवर्क २०१५ अनुसार बैंकहरुले ११ प्रतिशत पुँजी कोष अनुपात कायमा गर्नु पर्छ । त्यसमा पनि प्राथमिक पुँजी कोष अर्थात टियर १ क्यापिटल ८.५ प्रतिशत कायम गर्नुपर्छ । प्राथमिक पुँजीकोषमा चुक्ता पुँजी, रिजर्भ, रिटेन अर्निङ, पछिल्लो नाफा लगायतका रकमहरु समावेश हुन्छन । पछिल्लो समयमा बैंकहरुले रिटेन अर्निङबाट बक्यौता कर तिरेको अवस्था छ । बैंकहरुले गत मंसिर अन्तिममा र पुसमसान्तसम्ममा सेयर प्रिमियम आम्दानी बाट लाभांस वितरण गर्दा र मर्जरको लाभमा लाग्ने आयकर नलाग्ने भन्दै नतिरी बसेका थिए । तर, सर्वोच्च अदालतले नै कर लाग्ने भन्दै बैंकहरुको रिट नै खारेज गरेपछि कर तिर्न बाध्य भएका थिए ।

प्राथमिक पुँजी कोष गणना गर्दा प्राथमीक पुँजीकोषलाई एक सयले गुणन गरी बैंकहरुको कुल जोखिम भारले भाग गर्ने हो । यसले बैंक तथा वित्तीय संस्थाको जोखिम बहन क्षमतालाई पनि संकेत गर्छ । बैंकहरुको प्राथमिक पुँजी कोष अनुपात ८.५ भन्दा कम भएमा केन्द्रीय बैंकले लाभासं वितरणमा रोक लगाउने देखि व्यवस्थापन जिम्म लिनेसम्मको कारबाही गर्छ । जब बैंकहरुको प्राथमिक पुँजी कोष अनुपात ८.५ प्रतिशतको बीन्दुमा आउछ कर्जा लगानी गर्न सक्दैनन् । त्यसका लागि बैंकहरुले पुरानो कर्जा घटाउने तथा प्राथमिक पुँजी कोष बढाउनु पर्ने हुन्छ । प्राथमिक पुँजी कोष बढाउन बैंकहरुले हकप्रद सेयर, बोनस सेयर जारी गर्न सक्छन । तर, पछिल्लो समयमा केन्द्रीय बैंकले हकप्रद सेयर जारी गर्न रोकेको छ ।

केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० वाणिज्य बैंकको प्राथमिक पुँजी एकल अंकमा रहेको छ । त्यसमा पनि कुमारी बैंकको प्राथमिक पुँजी ८.५ प्रतिशत भन्दा तल अर्थात ८.२१ प्रतिशतमा झरेको छ । त्यसैगरी प्राथमिक पुँजी ८ प्रतिशतको लाइनमा रहेका बैंकको संख्या तीन रहेको छ । केन्द्रीय बैंकका अनुसार माछापुच्छ«े बैंकको ८.७९, एनआइसी एसिया बैंकको ८.७३ र प्रभु बैंकको ८.९२ प्रतिशत रहेको छ । त्यसैगरी ९ प्रतिशतको हाराहारीमा हुने बैंकहरुमा नबिल बैंक ९.८५, हिमालयन बैंक ९.४३, लक्षमी सनराइज ९.८३, सिद्धार्थ बैंक ९.१५, सिटिजन्स बैंक ९.१८ र एनएमबी बैंक ९.९६ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यी बैंकहरुको पुँजीकोष झनै घट्ने निश्चित छ । किनभने बैंकहरुले बक्यौता कर रिटेन अर्निङबाट भुक्तान गरेका छन । रिटेन अर्निङ पनि प्राथमिक पुँजी कोषको एउटा अंश हो । केन्द्रीय बैंकका अनुसार यो अवधिमा सबैभन्दा धेरै पुँजीकोष हुने बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकको प्राथमिक पुँजी कोष १४.३२ प्रतिशत छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।