चलन चल्तिका नोट २२ अर्बले बढ्यो, केन्द्रीय बैंकको टर्म डिपोजिटमा ५६ अर्बको वृद्धि

0
Shares

चालु आर्थिक वर्षको पुससम्ममा चलनचल्तिका नोट २२ अर्ब २ करोड रुपैयाँ बराबरका थप भएका छन् । पछिल्लो ६ महिनामा थपिएका चलनचल्तिका नोटसंगै बजारमा ६ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको नोट प्रयोगमा रहेका हुन् ।

नेपाल राष्ट्र बैंकको पुस महिनाको तथ्याङक अनुसार गत असारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपौयाँ भन्दाधेरै रकम बराबरका नोट चलनचल्तिमा थिए । चालु आर्थिक वर्षको केन्द्रीय बैंकले आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ । सोही अनुसार केन्द्रीय बैंकले वित्तीय प्रणालीमा मनि सप्लाई बढाएको हुन सक्ने देखिन्छ । त्यसैगरी चाडबाडका लागि बजारमा पठाइएका नोट समेत फर्किनसकेको हुनाले पनि चलनचल्तिका नोट बढेको केन्द्रीय बैंकका एक अधिकारीले बताए ।

पछिल्लो समयमा डिजिटल कारोबार बढेको हुनाले चलनचल्तिका नोटमा कमी आउने अनुमान गरिएको भएपनि पुससम्ममा झनै बढेको देखिएको हो । केन्द्रीय बैंकले नोटको प्रयोगलाई घटाई विद्युतीय कारोबारलाई प्रबद्र्धन गरेको भएपनि चाडबाडको समयमा नोटको प्रयोगमा कमी आउन नसकेको हो ।

त्यसैगरी औपचारिक अर्थतन्त्रमा डिजिटल बैंकिङ कारोबार बढेपनि अनौपचारिक कारोबार भने नगदमै हुने गरेको छ । त्यसले गर्दा पनि डिजिटल बैंकिङ प्रयोगले पनि चलनचल्तिका नोट घट्न सकेका छैनन् । अर्थतन्त्रको विस्तार, सरकारी खर्चको भुक्तानी तथा चाडवाडको सिजनले पनि चलनचल्तिका नोट घट्ने वा बढ्ने हुन्छ ।

चालु आर्थिक वर्षको भदौसम्ममा विदेशी मुद्राको सम्पत्ति समेत बढेको छ । गत असार अन्तिममा विदेशी मुद्राको सम्पत्ति १४ खर्ब ४४ अर्ब रहेकोमा पछिल्लो ६ महिनामा बढेर १७ खर्ब २ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । चालु आवको छ महिनामा केन्द्रीय बैंकले विदेशी बैंकहरुमा राखेको टर्म निक्षेप मात्रै ५६ अर्बले बढेको छ । केन्द्रीय बैंकले विदेशी बैंकहरुमा राखेको टर्म निक्षेप गत असारमा ५ खर्ब २२ अर्ब ४६ करोड रहेकोमा पुससम्ममा आइपुग्दा बढेर ५ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ बराबरको पुगेको छ ।

केन्द्रीय बैंकसँग चालु आवको पुससम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप भने १७ अर्ब ९९ करोड रुपौयाँले घटेको छ । गत असारमा केन्द्रीय बैंकसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेप २ अर्ब ८० अर्ब ७७ करोड रहेकोमा पुससम्म आइपुग्दा घटेर २ अर्ब ६२ अर्ब ७८ करोडमा झरेको हो । चालु आवको ६ महिनामा केन्द्रीय बैंकसँग सरकारी निक्षेप भने उल्लेख्य बढेको छ । गत असारमा ४५ अर्ब ८ करोड सरकारी निक्षेप रहेको केन्द्रीय बैंकसँग पुससम्ममा २ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ बचत रहेको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा केन्द्रीय बैंकको सञ्चिति करिब ४६ अर्बले बढेको छ । गत असार अन्तिमसम्ममा ४ खर्ब ६४ खर्ब ९५ करोड रहेको केन्द्रीय बैंकको सञ्चिति पुसससम्ममा बढेर ५ खर्ब १० अर्ब ४६ करोड पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।