दोहोरो अंकले बढेपछि नेप्से २१ सय बिन्दुमाथि उक्लियो, जलविद्युतमै आकर्षण

0
Shares

जलविद्युत कम्पनीका सेयरमा लगानीकर्ताका आकर्षण कायमै रहँदा आइतबारपछि दोस्रो दिन सोमबार पनि नेप्से दोहोरो अंकले बढेको छ । यससँगै बजार सूचक २१ सय बिन्दुमाथि पुगेको छ ।

सात कारोबार दिनमा लगातारको गिरावट सहित ९१ अंकको करेक्शनपछि आइतबारदेखि बजार लयमा फर्किएको हो । आइतबार पनि बजार १०.३७ अंकले बढेको थियो । बढेको बजारमा लगानीकर्ताको आकर्षण हाइड्रोको सेयरमा नै देखिएको छ । घट्दो बैंक ब्याजका कारण यस वर्ष जलविद्युत कम्पनीको ब्याज खर्च घट्दा लाभांश र पुँजीगत लाभ पाइने आंकलनका साथ हाइड्रोपावरको सेयरमा लगानीकर्ताले लगानी खन्याएका हुन् । प्रतिमेगावाट लागत सस्तो र कम पुँजी भएका कम्पनीको सेयरमा कारोबारीको ध्यान देखिन्छ । सेयरमूल्य बढेका दशमध्ये ९ ओटा त हाइड्रोपावर मात्र छन् ।

सोमबार बजार परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ बिन्दुमा अडिएको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.११ अंक घटेको छ । आज ३११ कम्पनीका १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर १ लाख ३ हजार १५२ ओटा सङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँमा समेटिएको छ ।आइतबारको तुलनामा दैनिक कारोबार ७२ करोड ७८ लाख रुपैयाँले बढेको हो ।आइतबार ३ अर्ब ८३ करोड ८७ लाख ७६ हजार ५८० रुपैयाँको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएका उपसमूहगत सूचक मिश्रित देखिएको छ । तेह्रमध्ये १० ओटा बढेको छ भने ३ ओटा मात्र घटेको छ । यसदिन बैंकिङ्ग, लघुवित्त र निर्जीवन बीमाको इन्डेक्स सामान्य घटेको छ । उता अन्यको सूचक सर्वाधिक १.६४ प्रतिशतले बढेको छ भने जलविद्युत पनि १.०३ प्रतिशतले उकालो लागेको छ । लगानी ०.९८, जीवन बीमा ०.७२, फाइनान्स ०.४९ र उत्पादन तथा प्रशोधनमुलक ०.४४ प्रतिशतले बढेको छ । आज १८२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ कम्पनीको घटेको छ । १६ कम्पनीको स्थीर रहेको छ ।

सोमबार पनि कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा छ । सबैभन्दा धेरै कारोबार भएको यस कम्पनीको ६० करोड १६ लाख ७१ हजार रुपैयाँ बराबरको ९ लाख ५११ कित्ता सेयर २३ हजार ४५७ ओटा सङ्ख्यामा खरिद बिक्री भएको हो । यस्तै ङादी ग्रुप पावरको सर्वाधिक २३ करोड ८३ लाख ५६ हजार रुपैयाँमा कारोबार भएको छ । यसैगरी हाथवे इन्भेस्टमेन्ट लिमिटेडको १२ करोड ८७ लाख रुपैयाँको सेयर खरिद बिक्री हुँदा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ११ करोड ७ लाख तथा नेपाल रि इन्योरेन्सको ९ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भयो ।

सोमबारको बजारमा युनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । तीनवटै कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । यससँगै मिड सोलुको प्रतिकित्ता ८३२.५० रुपैयाँ, अरुण भ्यालीको २०९.१० रुपैयाँ र युनियन हाइड्रोपावरको २४३.१० रुपैयाँ पुगेको छ । यसैगरी बिन्धबासिनी हाइड्रोपावरको ८.७०, अपर स्याङ्गे हाइड्रोपावरको ८.४३, समाज लघुवित्त ८.३०, कालिका पावर ७.७८, युनाइटेड इदिमार्दी आरबि हाइड्रोपावरको ६.७८, मकर जितुमाया सुरी हाइड्रोपावरको ६.३८ पााँचथर पावरको सेयर मूल्य ६.१९ प्रतिशतले बढेको छ ।

उता आजको बजारबाट गरिमा डिबेञ्चर २०८८ को मूल्य सर्वाधिक १० प्रतिशतले घटेर ८८६.५० रुपैयाँमा झरेको छ । यस्तै ज्योति विकास बैंक बन्ड २०८७ को ७.४७ प्रतिशत, सिद्धार्थ ग्रोथस्कीम–२ को ३.७१, महुली लघुवित्तको ३.४६ र लक्ष्मी उन्नति कोषको इकाईमूल्य ३.५४५ प्रतिशतले ओराला लागेको छ ।

सोमबार कुल बजार पुँजीकरण ३३ खर्ब ७ अर्ब ६५ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार ३२ खर्ब ८९ अर्ब ६६ करोड ४९ लाख पुँजीकरण रहेकोमा यसदिन १७ अर्ब ९९ करोड ४३ लाख रुपैयाँले बजार पुँजीकरण बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।