भ्रष्टाचार सबैभन्दा कम हुने मुलुकमा डेनमार्क, नेपाल १०८ औं स्थानमा


विश्वभरका मुलुकहरु मध्ये सबैभन्दा न्युन भ्रष्टाचार हुने देशमा डेनमार्क देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनले सार्वजनिक गरेको सन् २०२३ को ‘करप्सन प्रसेप्सन इण्डेक्स’ अनुसार सबैभन्दा कम डेनमार्क र धेरै भ्रष्टाचार सोमालियामा हुने गरेको पाइएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन अनुसार १८० देश सहभागी भएको उक्त र्याङकीङमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक कायम भएको छ । तर, सोमालियाले भने ११ अङ्क मात्र प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक कायम भएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले गरेको र्याङकीङमा १०० अङ्कले पाउने देशको भ्रष्टाचारको अवस्था सुन्य र ० अङ्कले अति भ्रष्ट मुलुक जनाउँदछ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचार न्यूनीकरणका लागि हरेक देशले न्याय प्रणालीलाई स्वतन्त्र राख्न सके भ्रष्ट आचरणमाथि कारबाही बढ्ने र शक्ति सन्तुलन हुने सुझाएको छ । करेप्सन प्रसेप्सन इण्डेक्स(सीपीआई) २०२३ प्रतिवेदनमा विगत १ दशकमा सार्वजनिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा प्रगति हुन नसकेको उल्लेख छ ।

सरकारहरु भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा असफल रहेका तथा कमजोर न्याय प्रणालीले भ्रष्टाचारलाई मलजल पु¥याएको ट्रान्सपरेन्सी इन्टरनेशलको ठहर छ । निरंकुश हुन वा लोकतान्त्रिक, नेताहरूले न्यायलाई अवमूल्यन गरेकाले भ्रष्टाचारमा दण्डहिनता बढेको निष्कर्ष प्रतिवेदनको छ ।

घट्दै नेपालको भ्रष्टाचार

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन अनुसार नेपालमा भ्रष्टाचार घट्दै गएको छ । सन २०२२ भ्रष्टाचारको सुचीमा ११० स्थानमा रहेको नेपाल सन् २०२३ मा १०८ औ स्थामा पुगेको छ । प्रतिवेदन अनुसार सीपीआई २०२३ मा नेपालले १०० मा ३५ अङ्क पाएको छ । सीपीआई २०२२ मा नेपालको अंक ३४ (११० औं स्थान) रहेको थियो । सूचकाङ्कमा यस वर्षको औसत अंक ४३ रहेको छ । एशिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ । विश्वका दुई तिहाई मुलुकले ५० भन्दा कम अंक पाएका छन् । यसले ती देशमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको देखिन्छ । गतवर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीबाट बाहिर आउन भने सकेको छैन्।

सीपीआई २०२३ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले २६, भारत ९३, माल्दिभ्स ९३, नेपाल १०८, श्रीलङ्का ११५, पाकिस्तान १३३, बङ्गलादेश १४९ र अफगानिस्तान १६२ औं स्थानमा रहेका छन । छिमेकी मुलुक चीन पनि भ्रष्टाचारको सुचीमा ७६ औं स्थानमा छ । सीपीआई २०२३ मा नेपालको स्कोर बर्टेल्सम्यान फाउन्डेशन, ग्लोबल इनसाइट, भी–डीईएम, विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम र वल्र्ड जस्टिस प्रोजेक्ट र सहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई आधार मानी तयार गरिएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ।

सीपीआई २०२३ सूचकाङ्कमा रहेको नेपालको विषम स्थितिलाई मध्यनजर गर्दै भ्रष्टाचार विरुद्ध सरकार अति गम्भीर हुन पर्ने देखिन्छ । यसका लागि संसदमा विचाराधीन रहेका भ्रष्टाचार विरोधी ऐन कानुनलाई फितलो बनाउने प्रयास रोक्न, राजनीतिक व्यक्तिउपर भ्रष्टाचारका मुद्दामा निष्पक्ष अनुसन्धान तथा कारबाही गर्न, सार्वजनिक पदाधिकारीहरूको सम्पत्तिको जाँच गरिने सरकारको प्रतिवद्धता कार्यान्वयन गर्न र राजनीतिक पदाधिकारीहरूद्वारा मन्त्रीपरिषद्को नीतिगत निर्णयका नाममा भ्रष्टाचारको अनुसन्धानबाट उन्मुक्ति पाउने व्यवस्थाको अन्त्य गर्न अति नै जरुरी रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।