स्थानीय तहले समन्वय नगर्दा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध हुन समस्या

0
Shares

स्थानीय तहका सरकारले सहयोग नगर्दा अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकहरु सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सकेका छैनन् ।

अनौपचारिक र स्वरोजगार क्षेत्रका योगदानकर्ता सामाजिक सुरक्षा कोषमा समेट्ने उदेश्यले गत साउन ३१ गते एक समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक रुपमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षा कोषमा समेटिएको घोषणा गरेका थिए । तर, स्थानीय तहको सहयोग नपाइएकोले योगदानकर्ता कोषमा समेटिन नसकेको सामाजिक सुरक्षा कोषका सूचना अधिकारी उत्तमराज नेपालले बताए ।सरकारको सहयोग कानूनत अपेक्षित रहेको बताउँदै नेपालले तीन वटै तहको सरकारको सहयोग बिना यो स्कीम प्रभावकारी बन्न नसकेको उनको भनाई छ ।

योगदानमा आधारित सामजिक सुरक्षा, २०७४ को दफा ५ तथा योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ को नियम ४ अनुसार यस्ता श्रमिकको योगदान रकममा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले पनि योगदान गर्नुपर्ने व्यवस्था छ ।

अनौपचारिक क्षेत्रका श्रमिक आफैँ मात्र कोषमा आबद्ध हुन नसक्ने बताउँदै नेपालले भने, “१ हजार १४ रुपैयाँ एउटा पालिकाले एउटा श्रमिकको प्रतिमहिना हाल्नुपर्छ । ११ सय ९४ रुपैयाँ योगदानकर्ताले हाल्नुपर्छ । त्यसैले आफ्नो नगरपालिकामा कति कृषिमा छन्, कति अरु पेसामा छन् उनीहरुको एकीन गरी पहिलो योगदान रकम स्थानिय पालिकाले हाल्नुपर्छ । त्यसैले स्थानिय तहले नै उनीहरुलाई आबद्ध गराउने हो ।”

हालसम्म ४३ वटा पालिका मात्र सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । त्यसमध्ये भीमफेदी र फेदीखोला गाउँपालिकाले रकम संकलन समेत गरेको बताउँदै उनले अब अनौपचारिक र स्वरोजगार क्षेत्रमा श्रमिक पनि क्रमश आबद्ध हुने उनको भनाई छ ।  प्रचार प्रसारको अभावले यो क्षेत्रमा श्रमिकको आकर्षण नभएको जस्तो देखिएको भएतापनि प्रसार प्रचारलाई व्यापक बनाई १ वर्षमा दुई हजार जना श्रमिक यो क्षेत्रका समेटिने उनको भनाई छ ।

अनौपचारिक र स्वरोजगार क्षेत्रका कति श्रमिक भए आबद्ध ?

अनौपचारिक र स्वरोजगारलाई सामानिक सुरक्षामा समेटिएको साढे ५ महिनामा ६१ जना स्वरोजगार र ११९ जना अनौपचारिक क्षेत्रका श्रमिक मात्र आबद्ध भएका छन् । हालसम्म अनौपचारिक क्षेत्रबाट आबद्ध भएका ११९ जनाबाट ५७ हजार ८९३ रुपैयाँ मात्र संकलन भएको छ । जसमध्ये औषधी, उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा आबद्ध हुने योगदानकर्ताबाट २७ हजार ४४० रुपैयाँ संकलन भएको छ भने बृद्ध अवस्था सुरक्षा योजनामा आबद्ध हुने योगदानकर्ताबाट ३० हजार ४५३ रुपैयाँ संकलन भएको कोषले जनाएको छ ।

स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्ने कार्यविधि आएको साढे पाँच महिनामा भइसक्दा पनि अनौपचारिक क्षेत्रको श्रमिक दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा आबद्ध हुनेको संख्या भने शून्य छ । अर्थात् उक्त योजनामा कोही पनि श्रमिक आबद्ध भएका छैनन् ।

यता, स्वरोजगार क्षेत्रमा ६१ जना आबद्ध हुँदा ४ लाख ५२ हजार ८५ रुपैयाँ संकलन भएको छ । जसमध्ये स्वरोजगार क्षेत्रको श्रमिकको रोजाइमा बृद्ध अवस्था सुरक्षा योजना परेको छ । उक्त योजनाबाट ४ लाख १५ हजार ४८२ जना आबद्ध भएका छन् । यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजना कोषबाट १९ हजार २४५ रुपैयाँ संकलन भएको छ ।

यस्तै, औषधी, उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा आबद्ध हुने योगदानकर्ताबाट १३ हजार ७४७ रुपैयाँ संकलन हुँदा आश्रित परिवार सुरक्षा योजना कोषबाट ३ हजार ७११ रुपैयाँ संकलन भएको छ ।

कोषले अनौपचारिक क्षेत्र र स्वरोजगारलाई कोषमा आबद्ध गराउने कार्यविधि जारी गर्दै स्थानीय तह, प्रदेश र संघीय सरकारसँग सहकार्य गर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार आफ्ना क्षेत्रका श्रमिकलाई कोषमा सूचीकृत गराउने स्थानीय तहहरूले कोषसँग सम्झौता गरेका हुन् ।

स्वरोजगार र अनौपचारिक क्षेत्रमा कस्ता श्रमिक आबद्ध हुन सक्छन् ?

कोषले जारी गरेको अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ अनुसार अनौपचारिक प्रबन्धले नसमेटिएका सबै प्रकारका श्रमिकहरू अनौपचारिक क्षेत्रका श्रमिक हुन् । अनौपचारिक क्षेत्रमा जुन सुकै पेसा गरिरहेका तर अनौपचारिक प्रबन्धले नसमेटिएका सम्पूर्ण आबद्ध हुन सक्छन् ।

त्यस्तै, प्रचलित कानुनबमोजिम दर्ता भई वा नभई स्वयंले वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने व्यक्तिलाई स्वरोजगार क्षेत्रमा आबद्ध श्रमिक हुन् । यसमा आफैँले सानो पसल वा ठूलो व्यापार व्यवसाय गरेर बसेका श्रमिकहरु आबद्ध हुन सक्ने छन् ।

जम्मा गर्नुपर्ने रकम

अनौपचारिक क्षेत्रको योगदानकर्ताको हकमा सरकारले तोकेको न्युनतम आधारभुत पारिश्रमीक १० हजार ८२० को २०.३७ प्रतिशतले हुन आउने रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्दछ । २०.३७ प्रतिशत मध्ये योगदानकर्ता स्वयमले ११ प्रतिशत रकम र सरकार (स्थानिय सरकार समेत) को तर्फबाट सहयोगदान स्वरुप ९.३७ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्दछ । योगदानको उक्त रकमलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता र आश्रति परिवार सुरक्षा योजनाका लागि १०.३७ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनाका लागि १० प्रतिशत रकम बाँडफाँड हुने छ ।

यस्तै सरकारले स्वरोजगार क्षेत्रका श्रमिले आधारभूत पारिश्रमिकको १० हजार ८२० को ३१ प्रतिशत तथा अधिकतम राख्न चाहे सरकारले तोकेको न्यूनतम पारिश्रमीक बराबर (१०,८२०) को ३ गुणासम्म राख्न पाउने व्यवस्था रहेको छ ।

स्वरोजगार तर्फको उक्त रकम औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि एक प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४० प्रतिशत, आश्रति परिवार सुरक्षा योजनाका लागि ०.२७ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत बाँडफाँड हुने छ ।

कार्यविधि अनुसार सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्नका लागि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिले घटना घटेको भन्दा अघिको १२ महिनामा कम्तिमा नौ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्ने छ । यसैगरी अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको उमेर ६० वर्ष पूरा भएको र कम्तिमा १८० महिना योगदान गरेको हुनुपर्ने छ ।

सामाजिक सुरक्षा कोषमा हालसम्म कति भए आबद्ध ?

सरकारले २०७४ साल साउनदेखि औपचारिक रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । सामाजिक सुरक्षा कोष कार्यान्यनमा आएको ६ वर्ष पुगेको छ ।

६ वर्षमा सामाजिक सुरक्षा कोषमा ४९ खर्ब ७ करोड रुपैयाँ जम्मा भएको छ । कोषमा १८ हजार ६३४ रोजगारदाता मार्फत ४ लाख ७६ हजार ५ सय ५१ जना योगदानकर्ता आबद्ध भएका छन् ।

यस्तै, कोषमा वैदेशिक रोजगारीका क्रममा रहेका ६ लाख १५ हजार ८ सय २७ जना आबद्ध भएका छन् । यता, कोषले हालसम्म ७ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले २ लाख ६० हजार ५ सय ४० पटक दाबी भुक्तानी गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १७ माघ २०८०, बुधबार  १३ : ५९ बजे