व्यवसायिक किवी खेतीमा लगानीको प्रतिशत ८० प्रतिशतसम्म हुने गरेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले कोसी प्रदेशमा गरेको अध्ययन अनुसार किबीको व्यवसायिक खेती गर्दा लगानीमा प्रतिशत औसतमा पनि ५१.४ प्रतिशत रहेको अध्ययनले देखाएको हो ।
केन्द्रीय बैंकको अध्ययन अनुसार कोसी प्रदेशमा किवी खेती गर्दा समग्र लगानीमा प्रतिफल दर ५१.४ प्रतिशत रहेको छ । जिल्लागत रुपमा उक्त दर सोलुखुम्बु जिल्लामा सबैभन्दा बढी ७९.८ प्रतिशत र सबैभन्दा कम धनकुटा जिल्लामा १८.१ प्रतिशत देखिएको छ । सोलुखुम्बु जिल्लाको कुल उत्पादन लागत न्यून आएकोले सो जिल्लामा लगानीमा प्रतिफल दर उच्च रहन गएको अध्ययनमा उल्लेख छ ।
सरकारले कोसी प्रदेशको इलाम जिल्लालाई किवी जोन भनेर घोषणा गरेको छ । तर, कोसी प्रदेशको इलाममा मात्र नभई अन्य जिल्लाहरूमा पनि व्यवसायिक किवी खेतीको विकास भएको छ ।
किवी किसानमध्ये ५ देखि १० वर्षको अवधिदेखि संलग्न किसानको संख्या सबैभन्दा धेरै ५८.३ प्रतिशत छ । १० देखि १५ वर्षको अवधिदेखि यस व्यवसायमा संलग्न किसान सबैभन्दा कम १९.५ प्रतिशत छन । किवी किसानमध्ये ४२.४ प्रतिशतले ५ रोपनी भन्दा कम क्षेत्रफलमा किवी खेती गरेका छन् भने १५ रोपनी भन्दा बढी क्षेत्रफलमा किवी खेती गर्ने किसान २३.६ प्रतिशत रहेका छन् ।
किवी खेती गर्ने किसानमध्ये साक्षर किसानको संख्या ७२.९ प्रतिशत रहेको अध्ययनले देखाएको छ । कोसी प्रदेशका किवी किसानमध्ये ५६.३ प्रतिशत किसानले मात्र औपचारिक रुपमा व्यवसाय दर्ता गरी खेती गरेका छन् । माटो परिक्षण गरी किवी खेती प्रारम्भ गर्ने किसानको संख्या २९.९ प्रतिशत छ । बहुसंख्यक किसानहरूले माटो परिक्षण नगरी व्यवसाय गर्ने गरेको अध्ययनले औँल्याएको छ ।
किवी किसानमध्ये ६९.४ प्रतिशत किसानहरूले किवी खेती सम्बन्धी कुनै न कुनै प्रकारको तालिम वा प्रशिक्षण प्राप्त गरेको देखिएको छ । उक्त प्रदेशका ५४.९ प्रतिशत किसानहरूले सरकारी निकायबाट किवी सम्बन्धी अनुदान प्राप्त गरेका छन् । वास्तविक किसानसम्म अनुदान नपुगेको, अनुदानको प्रभावकारी अनुगमन हुन नसकेको जस्ता कारणले अनुदान प्राप्त गरेका र नगरेका किसानबीच उत्पादकत्वमा भिन्नता नरहेको अध्ययनबाट देखिएको छ ।
कोसी प्रदेशका किवी खेती गर्ने किसान मध्ये १२.५ प्रतिशत किसानहरूले मात्र कृषि सम्बन्धी सहुलियतपूर्ण कर्जाको उपयोग गरेको देखिएको छ । साथै अधिकांश किसानहरूले सहुलियतपूर्ण कर्जाको माग गरेपनि नपाएको गुनासो गरेका छन् ।
किवी किसान मध्ये ६१.१ प्रतिशत किसानहरूले कुनैपनि कर्जा लिएका छैनन । तर २५ प्रतिशत किसानहरूले बैंक तथा वित्तीय संस्था लगायत अन्य सङ्गठित संस्थाबाट कर्जा लिएका छन् । अनौपचारिक क्षेत्रबाट कर्जा लिने किसानको संख्या १३.२ प्रतिशत रहेको देखिएको छ । व्यवसायको स्थापना र विस्तार गर्न पटकपटक बैंक तथा वित्तीय संस्थामा कर्जा माग गर्दै आएपनि लामो कागजी प्रक्रिया, विद्यमान धितो मूल्यांकन प्रणालीमा आधारित कर्जा प्रवाह, कर्जाको भुक्तानी अवधि र व्यवसायको आम्दानी प्रारम्भ हुने अवधिबीचको भिन्नता जस्ता कारणले कर्जा प्राप्त गर्न कठिनाइ भएको गुनासो उनीहरूको छ ।
जिल्लागत रुपमा विश्लेषण गर्दा सोलुखुम्बु, धनकुटा र पाँचथर जिल्लामा किवी खेती व्यवसायको श्रमको आपूर्तिमा पुरुषको उपस्थिति बढी रहेको देखिएको छ । इलाम जिल्लामा महिला श्रमिकको सहभागिता बढी रहेको देखिएको छ । ८८.२ प्रतिशत किवी किसानहरू व्यवसाय प्रति सन्तुष्ट रहेको अध्ययनले देखाएको छ । अन्य बालीका तुलनामा कम झन्झटिलो, बहुवर्षीय बाली र उच्च उत्पादकत्व भएको कारण किसानहरू यस व्यवसाय प्रति सन्तुष्ट रहेको देखिन्छ ।
किवी किसानहरूबाट लिइएको आम्दानी र खर्च सम्बन्धी विवरणका आधारमा विश्लेषण गर्दा प्रति के.जी. औसत परिवर्तनशील लागत २३.९ रुपैयाँ प्रति के.जी, औसत कुल उत्पादन लागत ३४.२ रुपैयाँ र अनुदान बाहेकको प्रति के.जी.औसत आम्दानी १३१ रुपैयाँ रहेको अध्ययनले देखाएको छ । प्रति रोपनी औसत आम्दानी ४५ हजार ८८.३ रुपैयाँ र प्रति के.जी.औसत मुनाफा ९६.९ रुपैयाँ रहेको देखिएको छ ।
जिल्लागत रुपमा धनकुटा जिल्लामा प्रति के.जी. औसत उत्पादन लागत सबैभन्दा बढी ८८.७ रुपैयाँ र सोलुखुम्बु जिल्लाको औसत उत्पादन लागत सबैभन्दा न्यून प्रति के.जी २८.२ रुपैयाँ रहेको छ । सोलुखुम्बु जिल्लामा ऋण उपभोग गर्ने किसानको संख्या न्यून रहेको र ब्याज खर्च अन्य जिल्लाको भन्दा कम रहेकोले उत्पादन लागत कम देखिएको हो ।
वि.सं.२०७९ सालमा सोलुखुम्बु जिल्लाका किसानहरूले अधिकतम मूल्य प्रति के.जी ३०० रुपैयाँ सम्म प्राप्त गरेको देखिएको छ भने इलाम जिल्लाका किसानहरूले सबैभन्दा न्यूनतम मूल्य प्रति के.जी ३५ रुपैयाँ सम्ममा किवी फल बिक्री गरेको देखिएको छ ।
किसानहरूको परिवर्तनशील लागत अनुपात १९.७ प्रतिशत रहेको छ । जिल्लागत रुपमा उक्त अनुपात धनकुटा जिल्लामा सबैभन्दा बढी ४१.८ प्रतिशत र इलाम जिल्लामा सबैभन्दा कम १६.८ प्रतिशत रहेको छ । किसानहरूको कुल आम्दानीमा मुनाफा दर ८०.९ प्रतिशत छ । जिल्लागत रुपमा सोलुखुम्बु जिल्लामा उक्त दर सबैभन्दा बढी ८४.८ प्रतिशत र धनकुटा जिल्लामा सबैभन्दा कम ६१.३ प्रतिशत रहेको छ ।
किवी किसानहरूले यस व्यवसायमा गरेको कुल लगानी फिर्ता पाउन औसत १.९ वर्ष लाग्ने देखिएको छ । सोलुखुम्बु जिल्लाका किसानले सबैभन्दा छिटो औसत १.३ वर्ष र धनकुटा जिल्लाका किसानले सबैभन्दा ढिलो औसत ५.५ वर्षमा व्यवसायको लगानी फिर्ता पाउने देखिन्छ । केन्द्रीय बैंकले कोशी प्रदेशमा व्यावसायिक किवी खेतीको अवस्था, सम्भावना तथा चुनौतीहरू विषयमा इलाम, पाँचथर, धनकुटा र सोलुखुम्बु जिल्लाका कुल १४४ जना नमुना कृषकबाट संकलन गरेको तथ्याङ्क आधारमा अध्ययन पुरा गरेको जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया