न्यून प्राथमिक पुँजीका कारण मुक्तिनाथ विकास बैंकले लाभांश वितरण गर्न नपाउने


मुक्तिनाथ विकास बैंकले आगामी आर्थिक वर्षमा सेयरधनीलाई लाभाशं वितरण गर्न नपाउने भएको छ । बैंकले `क्यापिटल एडिक्वयसी फ्रेमवर्क २०१५` अनुसार प्राथमिक पुँजी कोष ८.५ प्रतिशत कायम गर्न नसकेका कारण लाभांश वितरण गर्न नपाउने भएको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष देखि राष्ट्रियस्तरका विकास बैंकलाई पनि क्यापिटल एडिक्वयसी फ्रेमवर्क २०१५ लागू गरेको छ । केन्द्रीय बैंकले फ्रेमवक लागू गरेपछि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नै मुक्तिनाथ विकास बैंकले तोकिएको प्राथमिक पुँजीकोष कायम गर्न नसकेको हो ।

क्यापिटल एडिक्वयसी फ्रेमवर्क २०१५ अनुसार विकास बैंकको प्राथमिक पुँजीकोष अर्थात टियर वान क्यापिटलको अनुपात जोखिम भारीत सम्पत्तिको ८.५ प्रतिशत हुनु पर्छ । त्यसैगरी कुल पुँजीको अनुपात (कोर क्यापिटल र सप्लीमेन्ट्री क्यापिटल गरेर) ११ प्रतिशत हुनु पर्छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा मुक्तिनाथ विकास बैंकको प्राथमीक पुँजीकोष अनुपात ८.२६ प्रतिशत छ । त्यसैगरी बैंकको कुल पुँजीकोष अनुपात ११.२५ प्रतिशत छ । पुससम्ममा बैंकको प्राथमिक पुँजी ७ अर्ब ९६ करोड रुपैयाँ बरावर छ । त्यसैगरी सो अवधिमा बैंकको कर्जा, मार्केट तथा सञ्चालन जोखिम ९२ अर्ब ७३ करोड रुपैयाँ बरावरको छ । प्राथमिक पुँजी (कोर क्यापिटल) भनेको बैंक तथा वित्तीय संस्थाको जोखिम बहन गर्ने सुचक हो । संस्थाले लिने र लिन सक्ने जोखिम प्राथमिक पुँजीको आधारमा निर्धारण हुन्छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सञ्चालनमा रहेका ८ राष्ट्रियस्तरका विकास बैंक मध्ये ज्योती विकास बैंक, महालक्ष्मी विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक र गरिमा विकास बैंकले बासेल थ्रि अनुसारको रिपोर्ट सार्वजनिक गरेका छैनन् । तर, मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक र साइन रेसुङगा बैंकले भने बासेल ३ अनुसार नै सार्वजनिक गरेका छन् । वित्तीय विबरणहरु सार्वजनिक गरेका बैंकहरु मध्ये मुक्तिनाथको प्राथमिक पुँजी कोष अनुपात ८.२६, लुम्बिनीको ९.३३, कामना सेवाको १०.९ प्रतिशत रहेको छ ।

पुस मसान्तसम्मको प्राथमिक पुँजीकोषलाई हेर्दा मुक्तिनाथ विकास बैंकले कर्जा दिनेभन्दा पनि पुरानो कर्जा घटाउनु पर्ने देखिन्छ । प्राथमिक पुँजी कोष वृद्धि गर्न तत्कालका लागि कर्जा घटाउन जस्तो सहज भने देखिँदैन । अर्कातिर केन्द्रीय बैंकले हकप्रद सेयर जारी गर्न रोकेको अवस्था छ ।

केन्द्रीय बैंकले विकास बैंकलाई पनि लागू गरेको क्यापिटल एडिक्वयसी फ्रेमवर्क २०१५ अनुसार काम गर्नु पर्ने राष्ट्र बैंकका एक अधिकारीले बताए । “कायम गर्नु पर्ने पुँजी अनुपात नभएको खण्डमा सोही अनुसार कारबाही भोग्नु पर्छ,” ती अधिकारीले नोटबजारसँग भने, “प्राथमिक पुँजी कोष ८.५ प्रतिशतभन्दा तल आएको खण्डमा पहिलो चरणमा लाभांश वितरणमा रोक लगाउने हो । मुक्तिनाथको प्राथमिक पुँजी कोष तोकिएको सीमाभन्दा कम भएको बोसन सेयर वा नगद लाभांश वितरण गर्न पाउँदैन ।” बैंकहरुले चालु आर्थिक वर्ष सकिएपछि साधारणसभा गरेर लाभाशं दिने भएकाले यस आवको लाभांश आगामी आवमा मात्र वितरण हुन्छ । मुक्तिनाथ विकास बैंकको हकमा आगामी आवमा पनि सेयरधनीले लाभांश पाउने छैनन् ।

केन्द्रीय बैंकले पुँजीकोष सम्बन्धी निर्देशन पालना नगरेमा बैंक तथा वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ अनुसरा कारवाही गर्छ । उक्त विनियमावली अनुसार लाभांश वितरणमा रोकदेखि व्यवस्थापन लिनेसम्मको कारबाही हुन्छ । त्यसैगरी पुँजीको गणना गर्दा कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेको भएतापनि सोही आर्थिक वर्षको अन्त्यमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा नगद लाभांश तथा बोनस सेयर घोषणा तथा वितरण गर्न नपाउने केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशनमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।