बैंक तथा वित्तीय संस्था धेरै ब्याजदरका कारण निक्षेप संकलनभन्दा ट्रेजरी बिल्समा आकर्षित


थोरै भए पनि आम्दानी बढाउनका लागि बैंक तथा वित्तीय संस्था ट्रेजरी बिल्सको लगानीमा बढी आकर्षित देखिएका छन् । केन्द्रीय बैंकले ब्याजदर तथा तरलता सन्तुलनका लागि प्रयोग गर्ने निक्षेप उपकरणको भन्दा ट्रेजरीको ब्याजदर र अवधि धेरै भएपछि बैंक वित्तीय संस्था त्यता आकर्षित भएका हुन् ।

केन्द्रीय बैंकले तरलता व्यवस्थापन गरेर अल्पकालीन ब्याजदरलाई सन्तुलित बनाइराख्न निक्षेप संकलन उपकरणको प्रयोग गर्छ । निक्षेप संकलन उपकरणले छोटो अवधिका लागि बैंक तथा वित्तीय संस्थामा भएको तरलता केन्द्रीय बैंकमा लैजान्छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको तरलता खिचेबापत ब्याज दिन्छ । त्यसैगरी सरकारले आन्तरिक ऋण उठाउनका लागि ट्रेजरी बिल्सको प्रयोग गर्छ । ट्रेजरी बिल्समा लगानी गर्दा बैंकहरुलाई आम्दानी हुनुका साथै तरलता व्यवस्थापनमा पनि योगदान दिन्छ । निक्षेप संकलन उपकरणमा बैंकहरुले ब्याज पाउँछन भने ट्रेजरीमा डिस्काउन्ट रेटका आधारमा आम्दानी गर्छन् ।

पछिल्लो समय केन्द्रीय बैंकले अल्पकालीन ब्याजदर सन्ुतलन बनाइराख्न निरन्तर निक्षेप संकलन उपकरण प्रयोग गरेको छ । निरन्तरको प्रयास पछि निक्षेप संकलनको ब्याजदर ३ प्रतिशतभन्दा माथि पुगेको छ । निक्षेप संकलन उपकरणको औसत ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमा पनि हो । वित्तीय प्रणालीमा अधिक तरलता भई अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल आएको खण्डमा केन्द्रिय बैंकले तरलता खिचेर निक्षेप संकलनमार्फत अन्तर बैंक दर बढाउँछ ।

अहिले अन्तर बैंक दर ३.०२, निक्षेप संकलन दर ३.१८ प्रतिशत रहेको छ । तर, ट्रेजरी बिल्सको रेट समयावधि अनुसार ३ भन्दा माथि र ५ प्रतिशतभन्दा तल छ । त्यसैले बैंक तथा वित्तीय संस्थाले ब्याज आम्दानी धेरै हुने भएकाले ट्रेजरी बिल्समा लगानी गर्न प्रतिस्पर्धा गरेका हुन् । बैंकहरुको उच्च प्रतिस्पर्धाका कारण ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि सोमबार केही घटेको छ ।

सोमबार केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल्सको नबीकरण गरेको छ । सो मध्ये सरकारले १२ अर्ब १० करोड रुपैयाँ बरावरको ९१ दिने ट्रेजरी बिल्सको साँवा फिर्ता गरेको छ । तर, ७ अर्ब रुपैयाँ बरावरको १८२ दिने ट्रेजरी बिल्सका लागि बैंकहरुले २९ अर्ब ५ करोडको माग आवेदन दिएका छन् । त्यसैगरी बैंक तथा वित्तीय संस्थाले ५ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरीका लागि २८ अर्ब २ करोड रुपैयाँ बरावरको माग आवेदन गरेका छन् ।

सोमबार १८२ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ३.५३७९ प्रतिशत कायम भएको छ । यो औसत डिस्काउन्ट रेट यसभन्दा अघिको तुलनामा थोरै हो । यसभन्दा अघि माघ १६ गते निष्काशन भएको १८२ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ३.५५६१ प्रतिशत थियो ।

केन्द्रीय बैंकले सोमबार निष्काशन गरेको ३६४ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ४.०७२८ प्रतिशत कायम भएको छ । यसभन्दा अघि माघ १६ गते निष्काशन भएको ३६४ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ४.१८०० प्रतिशत थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।