चीनमा देखियो मूल्य संकुचन समस्या, उपभोक्ता मूल्य सूचकांक २००९ यताकै न्यून


विश्वव्यापी रुपमा मूल्य वृद्धिको समस्याले उपभोक्ता मारमा परिरहेको समयमा चीनमा मूल्य संकुचनको समस्या देखिएको छ । सन् २०२४ को जनवरी महिनामा उपभोक्ता मूल्य सूचकांक २००९ को सेप्टेम्बर महिनायताकै कमजोर विन्दुमा पुगेको हो । 

जनवरी महिनामा उपभोक्ता मूल्य सुचांक  ०.८ प्रतिशतको घटेको छ । त्यसैगरी उपभोक्ता मूल्यमा मात्रै नभई उत्पादन मूल्य सूचकाङ्कमा समेत गिरावट आएको छ । जनवरी महिनामा उत्पादन मूल्य सूचकांक २.५ प्रतिशतले घटेको हो । बजारको माग भन्दा धेरै उत्पादन हुँदा चीनले कोभिड–१९ को समयदेखि नै मूल्य अवमूल्यनको समस्याको सामना गर्दे आएको छ । 

सन् २०२२ सम्म कोभिड–१९ को चपेटामा परेका चीनका उद्योग तथा कल कारखानाहरू चिनियाँ सरकारले कोभिड नियन्त्रणका लागि अपनाएको शून्य कोभिड नीति सन् २०२३ मा हटाएपछि सञ्चालनमा आएका थिए । कोभिड पछि अर्थतन्त्रलाई गति दिन चीनले प्रभावित भएका उद्योग तथा कल कारखानाहरूमा विशेष स्टीमुलस जारी समेत गरेको थियो । सन् २०२० देखि २०२२ सम्म विश्वव्यापी रुपमा फैलिएको कोभिड– १९ सङ्क्रमणका कारण मानिसहरको जीवनशैली कायापलट भएको थियो । यसकारण चीनले उपभोक्ता मूल्य सूचकांक बढ्ने आशा गरे पनि उपभोक्ताहरूले खर्च नबढाउँदा सूचकांक घट्ने क्रममा रह्यो । 

लामो समयसम्म बन्द भएका कलकारखानाले समेत माग बढ्ने आशामा सामाग्री उत्पादन बढाए । तर उद्योगीहरूले आकलन गरे अनुसार सामाग्रीहरूको माग बढ्न सकेन । यस्तै चीन र अमेरिकाबीचको व्यापार युद्धका कारण अमेरिकामा चिनियाँ वस्तुहरूको माग घट्दै गएको छ । आपूर्ति बढि र माग कम हुँदा हाल चीनमा मुद्रा संकुचन समस्या देखिएको छ । 

उपभोक्ता मूल्य सूचकाङ्कमा आएको गिरावटको अप्रत्यक्ष असर उत्पादन मूल्य सूचकाङ्कमा समेत परेको छ । यसरी उत्पादन मूल्य सूचकाङ्कमा गिरावट आउँदा सामाग्री उत्पादनका लागि गरेको लगानी समेत उठ्न सकेको छैन । जसको प्रभाव साना तथा मझौला उद्योगहरूमा परेको युनियन कान्कायेर प्रिभि हङकङका वरिष्ठ अर्थशास्त्री कार्लोस कासानोभाले बताएका छन् । चीनमा मुद्रा संकुचन समस्याले जरा गाडेर बसेको र यसको समाधानका लागि राज्यस्तरबाट कार्य हुनुपर्ने उनको धारणा रहेको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।