भारतमा इन्धनको मूल्यमा लगातार तेस्रो दिन गिरावट, नेपालमा के होला ?

0
Shares

भारतका सबै ठूला शहरहरूमा लगातार तेस्रो दिन इन्धनको मूल्यमा गिरावट आएको छ। भारतका सबै प्रमुख शहरहरुमा पेट्रोल मूल्यमा १४ देखि १५ पैसा र डिजेलको मूल्यमा १५ देखि १७ पैसा कटौती गरिएको छ।

राजधानी नयाँ दिल्लीमा एक लिटर पेट्रोलको मूल्य भारतीय रुपैयाँ ७५ रुपैयाँ ७६ पैसा छ भने डिजेल प्रतिलिटर ६८ रुपैयाँ ६१ पैसा कायम गरिएको छ।

यस्तै मुम्बईमा पेट्रोल ८० रुपैयाँ ८५ पैसा र डिजेल ७१ रुपैयाँ ९४ पैसा तथा चेन्नमा एक लिटर पेट्रोलका लागि उपभोक्ताले ७८ रुपैयाँ १९ पैसा र डिजेटलाई ७२ रुपैयाँ ५० पैसा भारतीय रुपैयाँ खर्चनुपर्नेछ।

  यस्तै हैदराबादमा पेट्रोल ८० रुपैयाँ ३ पैसा र डिजेल ७४ रुपैयाँ ८३ पैसा, गुडगांउँमा पेट्रोल एक लिटरका लागि ७४ रुपैयाँ ७५ पैसा र डिजेल ६७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

यसअघिको दुई दिनमा मात्रै भारतीय बजारमा पेट्रोल र डिजेलको मूल्यमा ४३ देखि ४७ पैसाले सस्तो भैसकेको छ।

अमेरिका र चीनले बहुप्रतीक्षित व्यापार सम्झौतामा हस्ताक्षर गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा सुधार आएको छ। विश्व बजारमा कायम कच्चा तेलको मूल्य र भारतीय रुपैयाँ डलर विनिमय दरका आधारमा भारतीय बजारमा ईन्धनको खुद्रा मूल्य निर्भर हुने गर्दछ। किनकी भारतले आफ्नो आवश्यकताको ८० प्रतिशत कच्चा तेल आयात गर्ने गर्दछ।

देशभित्रका तेल कम्पनीहरूले नियमित रूपमा घरेलु रुपमा बिक्री हुने पेट्रोल र डिजेलको मूल्य निर्धारण गर्ने गर्दछन्। भारतमा हरेक दिनको बिहान बिहान ६ देखि संशोधित मूल्य ईन्धन स्टेशनहरुमा लागू गरिन्छ।

नेपालमा इन्डियन आयल कर्पोरेशन (आईओसी) ले हरेक महिनाको १ र १५ तारिखका दिन निगमलाई पठाउने गर्दछ। सोही मूल्यलाई आधार मानेर निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्यसूची निर्धारण गर्दै आएको छ । निगम सञ्चालक समितिले गरेको निर्णय अनुसार राति १२ बजेदेखि नेपालमा बिक्री गरिने इन्धनको नयाँ मूल्यसूची निर्धारण हुने गरेको छ ।

अमेरिका र चीनले बहुप्रतीक्षित व्यापार सम्झौतामा हस्ताक्षर गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा सुधार आएकोले यहि अवस्था कायम भएको खण्डमा अगामी फेब्रुअरी १ तारिख अर्थात माद्द १८ गतेपछि नेपालमा पनि मूल्य समायोजन हुनसक्ने देखिन्छ। विश्वब्यापी बजारमा पुन कच्चा तेलको मूल्य बढेको खण्डमा भने भाउ नघट्न पनि सक्छ।

नेपाल आयल निगमले जनवरी १५ तारिखका आधारमा भने इन्धनको मूल्य यथावत राखेको छ । निगमका अनुसार हाल पेट्रोल प्रतिलिटर ११०, डिजेल र मट्टीतेल प्रतिलिटर १००, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर र आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर ९४.५० तथा एलपी ग्यास प्रतिसिलिन्डर एक हजार ३५० बिक्री मूल्य तोकेको छ।

अहिलेको बिक्री मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर तीन, डिजेलमा चार, हवाई इन्धनमा १० नाफा छ भने एलपी ग्यासमा प्रतिसिलिन्डर १६२ घाटामा रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा करपछि करिब आठ अर्ब ७५ करोड मुनाफा आर्जन गरेर कर्मचारीलाई लाभांश वितरण गर्ने तयारी गरेपनि शेयरमूल्य समायोजनमा भने कञ्जुस्याई गर्दै आएरहेको छ।  कुनै समय निकै घाटा व्यहोरेर डुब्ने अवस्थामा पुगेको नेपाल आयल निगमले पछिल्ला वर्षहरुमा भने मूल्य नघटाउँदा निगमको ‘आर्थिक स्वास्थ्य’ मा सुधार आई नाफा उकालो लाग्न थालिसकेको छ ।

-एजेन्सीको सहयोगमा