ऋणपत्रको भरमा धितोपत्रको प्राथमिक बजार: साढे १६ अर्ब स्वीकृति, १३ अर्ब पाइपलाईनमा

0
Shares

धितोपत्रको प्राथमिक बजार पछिल्लो समयमा भने ऋणपत्रको भरमा अडिएको पाइएको छ। चालु आर्थिक वर्षको पुस महिनासम्ममा नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारका लागि वित्तीय औजार जारी गर्ने अनुमति दिएको सबैभन्दा धेरै ऋणपत्र नै रहेको देखिन्छ।

धितोपत्रको दोस्रो बजारमा ऋणपत्रको कारोबार गर्ने संयन्त्र प्रभावकारी हुन नसक्दा विगतका वर्षहरुमा ऋणपत्रको निष्कासन पनि सीमित मात्रामा हुने गरेको थियो। तर, चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले ‘क ‘ वर्गका बैंकलाई चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य निष्काशन गर्नुपर्ने व्यवस्था गरेसँगै ऋणपत्र निष्काशनमा वृद्धि देखिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।

धितोपत्र बोर्डका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात पुष सम्ममा १६ कम्पनीले २० अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्काशन अनुमति प्राप्त गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतको धेरै हो। सो अवधिमा सार्वजनिक निष्काशन अनुमति प्राप्त रकम मध्ये १६.५ अर्ब रुपैयाँ बराबरको रकम ऋणपत्रको रहेको बोर्डले जनाएको छ। यो रकम कूल सार्वजनिक निष्कासनको ८३ प्रतिशत हो।

गत आर्थिक वर्षको पुससम्ममा ११ अर्ब ६० करोड रुपैयाँ बरावरको ऋणपत्र निष्कासन अनुमति दिएको बोर्डले चालु आर्थिक वर्षमा १६ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन अनुमति दिएको हो।

चालु आर्थिक वर्षको पुससम्मको ऋणपत्र निष्कासन अनुमति गत आवको सोही अवधीको तुलनामा ४२ प्रतिशतले धेरै हो।

नेपाल राष्ट्र बैंकले ऋणपत्र निष्कासनमा बैंकहरुलाइ अनिवार्य मात्र नगरी ऋणपत्र मार्फत संकलन गरेको रकम बराबर कर्जा लगानी गर्न सक्ने व्यवस्था समेत गरेको छ । स्रोत अभवाको समस्या भयो भनिरहेका बैंकहरुले शतप्रतिशत लगानी गर्न पाउने गरी दिर्घकालीन ऋणपत्र जारी गर्न इच्छुक समेत देखिएपछि एकपछि अर्को बैंकले ऋणपत्रको निष्कासन गर्न लागेका हुन्।

पुस मसान्तसम्ममा सिद्धार्थ बैंकले २ अर्ब ५० करोड, लक्ष्मी बैंकले २ अर्ब, लक्ष्मी बैंकले एक अर्ब, सनराइज बैंकले ३ अर्ब, कुमारी बैंकले ३ अर्ब, नेपाल एसबिआई बैंकले २ अर्ब ५० करोड तथा कृषि विकास बैंकले दुई अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासनको अनुमति पाएका हुन्। जसमध्ये कुमारी बैंकको बिक्रीको क्रममा रहेको छ भने एसबिआई र कृषि विकास बैंकको बिक्रीमा आउन बाँकी छ। सिद्धार्थ, सनराइज, लक्ष्मी र प्रभु बैंकले ऋणपत्र बिक्री गरिसकेका छन् ।

धितोपत्र बोर्डका अनुसार अझै १२ अर्ब ९५ करोडको ऋणपत्र निष्कासनको क्रममा रहेको छ । बोर्डमा ७ बैंक तथा वित्तीय संस्थाले उक्त परिमाणको ऋणपत्र निष्कासनको माग गर्दै आवेदन गरेका छन् । सबैभन्दा धेरै सानिमा बैंकले चार अर्बको ऋणपत्र निष्काशनको माग गरेको छ । एनसीसी बैंकले ३ अर्ब, सिटिजन्स बैंकले २ अर्ब ५० करोड, नबिल बैंकले २ अर्ब र एभरेष्ट बैंकले एक अर्ब बराबरको ऋणपत्र निष्कासनको माग गर्दै आवेदन दिएका छन् । यस्तै गुडविल फाइनान्सले २५ करोड तथा आईसिएफसि फाइनान्सले २० करोड बराबरको ऋणपत्र निष्काशनको माग गर्दै बोर्डमा आवेदन गरेका छन् ।