माथिल्लो मैलुङखोलाको परीक्षण विद्युत उत्पादन सुरु, घट्यो नोक्सानी

0
Shares

सानिमा ग्रुपको प्रमुख लगानी रहेको १४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडले माघ १० गतेदेखि परीक्षण उत्पादन थालेको छ । विसं २०६९ सालदेखि निर्माण सुरु भएको आयोजना २०८० पुस मसान्तसम्म शतप्रतिशत निर्माण सम्पन्न भएसँगै जलविद्युत आयोजनाले परीक्षण उत्पादन थालेको हो ।

निर्माण सम्पन्न भएसँगै आयोजनाले छिट्टै व्यवसायिक रुपमा विद्युत उत्पादन थाल्ने भएको छ । आयोजनाले व्यापारिक उत्पादन सुरु गर्नुपर्ने २०८० साउन १५ तोकिएको भएतापनि विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र कोरोना भाइरसको असरले गर्दा निर्माण सम्पन्न गर्ने म्याद थपिएको थियो । रन अफ रिभर प्रणालीमा निर्माण सम्पन्न भएको आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजारका दरले कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । साधारण लगानी फर्ता हुने ७.८६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुन १२.२९ वर्ष लाग्ने अनुमान छ । आयोजनाले हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्यत् उत्पादन गर्न सक्नेछ ।

कम्पनीले रसुवा जिल्ला, उत्तरगया गाउँपालिका वडा नम्बर १ भई बग्ने मैलुङ खोलाको पानीको बहाव सदुपयोग हुने गरी १४.३ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाबाट उत्पादन गरेको हो । आयोजनाबाट उत्पादन हुने विद्युतीय उर्जालाई स्वीचयार्डबाट ११ किलोमिटर लामो १३२ केभी सिद्गल सर्किट विद्युत प्रशारण लाईन मार्फत नेपाल विद्युत प्राधिकरणको निर्माण भईरहेको नुवाकोट जिल्लाको पहिरेबेसी स्थित त्रिशुली थ्रिबी सबस्टेसनमा पुण्याई राष्ट्रिय प्रशारण प्रणालीमा समाहित गरिने छ ।

चालू आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्म कम्पनी ७८ लाख ४२ हजार रुपैयाँ खुद नोक्सानीमा छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको नोक्सानी घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनी ९२ लाख ४७ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा थियो । ब्यावसायिक रुपमा विद्युत उत्पादन र बिक्री सुरु हुन बाँकी रहेको कम्पनीले ब्याज आम्दानीबाट ४ लाख ७३ हजार र ५० हजार अन्य आय गरेको छ । कम्पनीको प्रशासनिक खर्च समीक्षा अवधिमा २७ लाख ७१ हजारले घटेर ८३ लाख ६५ हजार रुपैयाँ खर्च भएको छ । प्रशासनिक र अन्य सञ्चालन खर्च गत वर्ष १ करोड ११ लाख ३६ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी १ अर्ब रहेको कम्पनीको रिटेन्ड अर्निङ ५ करोड ६६ लाख ६ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीका जगेडामा ४ लाख २८ हजार रुपैयाँ सञ्चित छ । दोस्रो त्रैमाससम्म ९६ पैसा प्रति सेयर नोक्सानीमा रहेको छ भने कम्पनीको प्रति सेयर नेटवर्थ ९४ रुपैयाँ ३४ पैसा छ ।

परियोजनाको जीवनको आधारमा, कम्पनीले प्लान्टले व्यावसायिक सञ्चालन सुरु गरेपछि अमूर्त सम्पत्तिहरू परिशोधन गर्ने जनाएको छ। सम्पत्ति प्लान्ट र उपकरणको हकमा, आयकर ऐन, २०५८ को प्रावधान अनुसार लिखित मूल्यको आधारमा मूल्यह्रास गणना गरिएको कम्पनीले जनाएको छ । कुल बक्यौता ऋणमा अवधि ऋण (गैर–चालू ऋण) र ब्रिज ग्याप लोन (चालू उधारो) रकम १ अर्ब ८१ करोड २० लाख ६५ हजार ९६८ समावेश छ । आईएफआरआईसी–१२ अनुसार निर्माण राजस्व र निर्माण लागत १९ करोड २७ लाख १६ हजार २६० रुपैयाँ छ ।

माथिल्लो मैलुङ खोलाको उत्पादन अनुमति बहाल अवधि (जेनेरेसन लाइसेन्स अनुसार) विं सं. २१०७ फागुन २७ गतेसम्म रहेको छ । आयोजनामा सानिमा माई हाइड्रोपावरको ३१%, सानिमा हाइड्रोपावरको १२%, मेल्निया पावर लिमिटेडको ९.८७%, सानिमा बैंकको ५%, सोपान मल्टिपल कम्पनीको ४.५३% र मैलुङ्गखोला जलविद्युतको ३.४६% लगानी छ ।

यस कम्पनीले १७ मेगावाट क्षमताको माथिल्लो मैलुङ्ग बि जलविद्युत आयोजना र १३ मेगावाट मध्य मैलुङखोला जलविद्युत (क्यास्केड) योजना निर्माण गर्दैछ । अनुमानित लागत ३ अर्ब ३९ करोड रुपैयाँ रहेको माथिल्लो मैलुङ्ग बिको सम्भाव्यता अध्ययन सम्पन्न विद्युत विकास विभागमा विद्युत उत्पादन अनुमतिपत्रका लागि प्रकृयामा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  

प्रकाशित मिति: १ फागुन २०८०, मंगलबार  १६ : १२ बजे