सम्पत्ति शुद्धिकरणपछि ग्राहक संरक्षण कोषको दुरुपयोगमा मुक्तिनाथ विकास बैंकका सञ्चालक कारबाहीमा

0
Shares

नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकको सञ्चालक तथा प्रमुख कार्यकारीले फेरी कारबाही गरेको छ । यसअघि सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिका पालना नगरेको बैंकले यसपटक ग्राहक संरक्षण कोषको दूरुपयोग गरेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी पालना गर्नुपर्ने वास्तविक धनी पहिचान गर्ने संयन्त्रको स्थापना नभएको तथा निरन्तर अनुगमन गर्नुपर्ने निर्देशन उल्लंघन गरेपछि केन्द्रीय बैंकले १० लाख नगद जरिवाना गराएको थियो । त्यसका साथै केन्द्रीय बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले ग्राहक संरक्षण कोषको रकम दुरुपयोग गरेको भन्दै सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ ।

संस्थाबाट व्यक्तिगत तथा सामुहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम संस्थागत सुशासनको मर्म र भावना विपरीत निर्णय गरी ऋणी ग्राहक सदस्यको सामुहिक हित नहुने अन्य उद्देश्यमा खर्च गरेको केन्द्रीय बैंकले जनाएको छ ।

उक्त रकम पछि फिर्ता गरेको भनी जानकारी गराएको भएतापनि नीति विपरित ग्राहक संरक्षण कोषको प्रयोगबाट वित्तीय संस्थाका निक्षेपकर्ता र सर्वसाधारणको हित विपरीतको कार्य गरेको भेटेपछि मुक्तिनाथ विकास बैंकको सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।

त्यसैगरी केन्द्रीय बैंकले सप्तकोसी डेभलपमेन्ट बैंक र नारायणी विकास बैंकलाई पनि कारबाही तथा आर्थिक जरिवाना गरेको छ । सप्तकोसी डेभलपमेन्ट बैंकले सञ्चालकलाई निजको पहिलो कार्यकाल सकिएपछि समेत निज स्वतन्त्र सञ्चालककै हैसियतमा सञ्चालक समितिको बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएको केन्द्रीय बैंकले पाएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरित निजलाई दोश्रो कार्यकालका लागि समेत स्वतन्त्र सञ्चालकको रुपमा पुनः नियुक्त गरेको पाईएकोले सञ्चालक समितिलाई सचेत गराएको छ ।

त्यसैगरी बैंकले जारी गरेको आधार दर गणना सम्बन्धी कार्यविधि, २०६९ बमोजिम गणना गर्नुपर्ने कर्जाको आधार दरलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतले यस बैंकको निर्देशन विपरित आफ्नो तजविजले एकै महिनामा पटक पटक कोर बैंकिङ प्रणालीमा गइ आधार दर परिवर्तन गरेको पाएपछि प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराई त्यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

त्यसैगरी नारायणी विकास बैंकलाई पनि केन्द्रीय बैंकले कारबाही गरेको छ । केन्द्रीय बैंकले बैंकको नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा १२ हजार ८ सय ४६ रुपैयाँ नगद जरिवाना गराइएको । संस्थाको कर्जा–निक्षेप अनुपात अधिकतम ९० प्रतिशतको सीमाभन्दा बढी रहेको पाइएकोले संस्थालाई २ लाख ४१ हजार ९ सय २४ हर्जाना लगाइएको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले चालु आवको दोस्रो त्रैमासमा प्रोग्रेशिभ फाइनान्सलाई पनि कारबाही गरेको छ । फाइनान्सले महर्जन विजनेश एशोसियट्स प्रा.लि. लाई कर्जा प्रवाह गर्दाको बखत नै कर्जा पूर्णरुपले सुरक्षित हुने सुनिश्चित गर्नुपर्नेमा सामान्यतः बैकिङ्ग क्षेत्रमा चलनचल्तीमा नरहेको धितो मूल्याङ्कन प्रकिया अपनाई जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको पाएपछि केन्द्रीय बैंकले कारबाही गरेको हो । पारिपासु सम्झौता अनुसार सम्बन्धित मालपोत कार्यालयमा धितो सम्पत्ति उपर सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई दृष्टिबन्धक मार्फत् सुनिश्चित नगरेसम्म कर्जा पूर्णरुपमा सुरक्षित नरहेकोले संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आवको दोस्रो त्रैमासमा बैंकले गुडविल फाइनान्सलाई पनि कारबाही गरेको छ । संस्थाले पनि कर्जा प्रवाह गर्दा परियोजनाको पर्याप्त विश्लेषण तथा कर्जा रकमको सदुपयोगिता सुनिश्चित नगरी महर्जन विजनेश एशोसियट्सलाई नै कर्जा प्रवाह गरेको पाइएकोले त्यस्तो कर्जा लगानीको निर्णय गर्ने कार्यमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृतलाई पनि कारबाही गरेको छ । एकीकृत निर्देशन विपरित संस्थाले आर्थिक वर्ष २०७९/८० मा तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको सेयर बिक्री गरी नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएकोले संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराई आगामी दिनमा सम्पूर्ण नियामकीय व्यवस्थाहरुको पूर्ण पालना गर्न निर्देशन समेत दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।