बेलायतमा आर्थिक मन्दी, सार्वजनिक क्षेत्रमा लगानी बढाउन आह्वान


बेलायती अर्थतन्त्रमा मन्दी उत्पन्न भएको छ । बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०२३/२४ को अन्तिम दुई त्रैमासमा आर्थिक वृद्धि खुम्चिएपछि अर्थतन्त्रमा मन्दी आएको हो ।

आव २०२३/२४ को जुलाईदेखि सेप्टेम्बर महिनासम्मको त्रैमासमा आर्थिक वृद्धि ०.१ प्रतिशतले खुम्चिएको छ भने अक्टोबर–डिसेम्बरसम्मको त्रैमासमा अर्थतन्त्र ०.३ प्रतिशतले खुम्चिएको हो । कुनै पनि आर्थिक वर्षमा निरन्तर दुई त्रैमाससम्म अर्थतन्त्रमा संकुचन आउने प्रक्रियालाई मन्दी (रिसेसन) भनिन्छ ।

सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको काभिड–१९ संक्रमण सन् २०२२ मा नियन्त्रणमा आएको थियो । कोभिड–१९ का कारण धरासायी भएको अर्थतन्त्र रिकभर हुन नपाउँदै बेलायती राजनीतिमा देखिएको परिवर्तनका कारण देशमा थप अस्थिरता छाएको थियो ।

सन् २०२२ मा तत्कालीन प्रधानमन्त्री बोरिस जन्सनले राजीनामा दिएपछि सन् २०२२ को सेप्टेम्बर ५ मा लिज ट्रस प्रधानमन्त्री भएकी थिइन् । तर संकटबाट गुज्रिरहेको बेलायती अर्थतन्त्र उकास्नका लागि लिजले अपनाएका उपायहरु पर्याप्त भएनन् । जसका कारण उनको पार्टीले नै उनलाई प्रधानमन्त्रीबाट हटायो । लिज ट्रस पछि बेलायतका प्रधानमन्त्री ऋषि सुनाक भएका थिए ।

प्रधानमन्त्री ऋषि सुनाकले सार्वजनिक लगानी बढाउने, अर्थतन्त्रमा सुधार ल्याउने, रोजगारी बढाउने जस्ता प्रतिबद्धता जनतालाई दिएका थिए । तथापि उनको प्रतिबद्धता अनुरुप काम हुन सकेको छैन । यसै सन्दर्भमा इन्स्टीच्युट फर पब्लिक पोलिसी रिसर्चका अनुसन्धानदाता प्रनेश नारायनले गत वर्ष प्रधानमन्त्री ऋषि सुनाकले अर्थतन्त्रमा सुधार ल्याउने बताएता पनि तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले अर्थतन्त्रको वास्तविक अवस्था औंल्याएको बताए ।

सार्वजनिक क्षेत्र, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकासमा लगानी नबढाउँदा अर्थतन्त्रको अवस्था कमजोर हुन पुगेको र अर्थतन्त्रमा सुधार ल्याउन सार्वजनिक क्षेत्रमा लगानी बढाउनु पर्ने उनको तर्क छ ।

यस्तै सन् २०२४ को जनवरी महिनामा बेलायतको मुद्रास्फीति दर ४ प्रतिशत रहेको छ । बेलायतको केन्द्रीय बैंक “बैंक अफ इङ्गल्यान्ड” ले मूल्यवृद्धि नियन्त्रणका लागि आक्रामक शैलीमा ब्याजदर बढाए पनि मूल्यवृद्धि बैंकको लक्षित २ प्रतिशत विन्दुमा पुगेको छैन । जसका कारण मानिसहरुको क्रय शक्ति घटिरहेको छ भने केन्द्रीय बैंकले ब्याजदर बढाइरहँदा मानिसहरुले कर्जा लिएर लगानी बढाउन सकेका छैनन् ।

पछिल्लो ३ महिनामा बेलायतमा ९ लाख ३२ हजार रोजगारी सिर्जना भएका छन् जुन सन् २०२१ को जुन महिना यताकै न्युन हो । सन् २०२४ को अन्त्यसम्ममा बेलायतमा आम चुनाव हुने प्रक्षेपण गरिएको छ । अर्थतन्त्रमा देखिएको संकुचन, रोजगारी सिर्जना हुन नसक्नुले प्रधानमन्त्री ऋषि सुनाकलाई आगामी चुनावमा मत पाउन र विजयी हुन मुश्किल पर्ने विश्लेषकको दाबी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।