बचतको ब्याजदर ३ प्रतिशत भन्दा कम हुने बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा नपाउने

0
Shares

बैंक तथा वित्तीय संस्थाले बचत निक्षेपको ब्याजदर न्यूनतम ३ प्रतिशत कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले दिने स्थायी निक्षेप सुविधाका लागि भएपनि बचत निक्षेपको न्यूनतम ब्याजदर ३ प्रतिशत कायम गर्नुपर्ने भएको हो ।

केन्द्रीय बैंकले फागुन १ गते देखि स्थायी निक्षेप सुविधाको सुरुवात गरेको छ । सो अनुसार फागुन २ गते बैंक तथा वित्तीय संस्थाले २७ अर्ब ८५ करोड रुपैयाँ केन्द्रीय बैंकमा निक्षेप राखेका छन् । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएको खण्डमा सिधै केन्द्रीय बैंकमा निक्षेप राख्न सकिने सुविधा नै स्थायी निक्षेप सुविधा हो ।

केन्द्रीय बैंकले अधिक तरलता भएको समयमा बचत निक्षेपकर्तालाई न्याय गर्दै स्थायी निक्षेप सुविधा लिनका लागि बचतको न्यूनतम ब्याजदर ३ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले खुलाबजार कारोबार विनियमावली र कार्यविधि संशोधन गरेर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा कम अर्थात ३ प्रतिशत बराबर बचत निक्षेपको न्यूनतम ब्याजदर हुनुपर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले तरलतामा आउने उतारचढावले ब्याजदरमा अस्वभाविक उतारचढाव नहोस भन्दै न्यूनतम ब्याजदरको सीमा तोकेको छ । वित्तीय प्रणालीमा अधिक तरलता भइ ब्याजदर अस्वभाविक घट्ने अवस्था आएमा निक्षेप संकलन उपकरण, रिभर्स रिपो तथा स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्ने र तरलता अधिक हुँदा स्थायी तरलता सुविधा तथा रिपो मार्फत बजारमा तरलता पठाउछ ।

वित्तीय प्रणालीको तरलता तथा ब्याजदर व्यवस्थापनका लागि केन्द्रीय बैंकले ब्याजदर करिडोर कार्यन्वयन गर्दै आएको छ । सो अनुसार करिडोरको तल्लो सीमामा भन्दा तल अन्तर बैंक दर कायम भएको खण्डमा निक्षेप संकलन उपकरण मार्फत अन्तर बैंक दर बढाउने काम गर्छ।

केन्द्रीय बैंकले करिडोरको तल्लो सीमालाई निक्षेप संकलन उपकरणको ब्याजदर ३ प्रतिशत तोकेको छ । सो अनुसार ब्याजदर करिडोरको तल्लो सीमा भन्दा माथि अन्तर बैंक दर राख्नका लागि निक्षेप संकलन उपकरण जारी गर्छ । केन्द्रीय बैंकले स्थायी निक्षेपको सुविधामा पनि बैंक वित्तीय संस्थालाई ३ प्रतिशत नै ब्याजदर तोकेको छ ।

कार्यविधि अनुसार अन्तर बैंक सापटीको दायित्व बाँकी नरहेको, पछिल्लो तीस दिनको दैनिक कर्जा निक्षेप अनुपात तोकिएको सीमा भित्र रहेको, पछिल्लो तीस दिनको दैनिक खुद तरल सम्पत्ति तोकिएको सीमाभन्दा बढी रहेको, र काउण्टरपार्टीले सबै प्रकृतिका स्वदेशी मुद्राको बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको हुनु पर्नेछ । यो व्यवस्थाले ब्याजदरमा आउने अस्वभाविक उतारचढावलाई नियन्त्रण गर्ने अपेक्षा केन्द्रीय बैंकको रहेको छ ।

Bank Minimum saving interest rate %
PARBHU 3
ADBL 3
NBL 3.5
SCB 3.6
NICASIA 3.65
SANIMA 3.65
PCBL 3.7
MBL 3.75
SBL 3.75
RBBl 3.85
GBIME 3.85
NABIL 4
NMB 4
EBL 4
CITIZEN 4
LAXMI SUNRISE 4
KUMARI 4.01
SBI 4.16
HBL 4.5
NIMBL 4.5

त्यसैगरी ब्याजदरमा उतारचढाव आएको खण्डमा सबैभन्दा धेरै बचत निक्षेपकर्तालाई पर्थ्यो । त्यसपछि बचतकर्ताले उक्त बचतलाई सेयर बजार र घरजग्गामा लगानी सिफ्ट गर्ने गरेका थिए । केन्द्रीय बैंकले न्यूनतम ब्याजदर तोकेर सम्पत्तिमा हुने लगानीलाई समेत केही हदसम्म निरुत्साहीत गर्न खोजेको स्पष्ट हुन्छ ।

चालु आर्थिक वर्षको फागुन महिनाका लागि बैंकहरुले बचत निक्षेपमा तोकेको न्यूनतम ब्याजदर केन्द्रीय बैंकले तोकेको भन्दा तल छैन । तर, केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको निक्षेप लिँदा प्रदान गर्ने ब्याजदर भन्दा बैंकहरुको बचतको न्यूनतम औसत ब्याजदर ०.८३ प्रतिशत विन्दुले धेरै छ ।

फागुन महिनामा १० बैंकको बचत निक्षेपको न्यूनतम ब्याजदर ३ प्रतिशतको लाइनमा छ । कृषि विकास बैंक र प्रभु बैंकको भने ३ प्रतिशत रहेको छ । यी दुई बैंकले चैत महिनाका लागि बचतको ब्याजदर घटाउने सक्ने अवस्था छैन । बचतको ब्याजदर घटाएको खण्डमा स्थायी निक्षेप सुविधा पाउने छैनन् ।

त्यसैगरी सानिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक, एनआइसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमइ बैंक, सिद्धार्थ बैंकले आगामी महिनाका लागि बचतको न्यूनतम ब्याजदर घटाउन थोरै मात्र स्पेस छ । तर, सञ्चालनमा रहेका ९ वाणिज्य बैंकहरुले भने एक देखि १.५ प्रीतशत विन्दुसम्म बचतको न्यूनतम बयाजदर घटाउन सक्ने अवस्था छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।