चौध रुपैयाँ ऋणात्मक इपीएस भएको लघुवित्तको सेयर मूल्य बढेको बढ्यै

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत एउटा लघुवित्त जसको वित्तीय अवस्था जसरी मूल्य बढिरहेको छ त्यस किसिमको उत्साहजनक नभएपनि सेयर बजारका कारोबारीहरुले उक्त लघुवित्तको सेयर उच्च रुपमा वृद्धि गरेका छन् ।

सेयर बजारमा सूचीकृत समाज लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६२ पैसा ऋणात्मक रहेको छ । तर कम्पनी सेयर मूल्य भने नेप्सेमा लगायत ७३ करोबार दिनदेखि बढ्दो क्रममा रहेको छ । पछिल्ला ७३ कारोबार दिनमा ६ दिन लघुवित्तको सेयर अघिल्लो कारोबार दिन सरह एउटै मूल्यमा कारोबार भएको छ भने बाँकी ६७ कारोबार दिनमा मूल्य वृद्धि भएको हो ।

सेयर बजारका जानकारहरुका अनुसार थोरै सेयर पुँजी हुने सेयरमा बजारका चलाख खेलाडीहरुले आफू अनुकुल चलखेल गर्ने हुँदा यस्ता कम्पनीको सेयरमा फाइदाभन्दा बढी जोखिम हुने गर्दछ । आईपीओ बाँडफाँड लगत्तै समाज लघुवित्तले मर्जर सम्झौता गरेका कारण आईपीओ परेका लगानीकर्ताले लामो समय खरिद बिक्री गर्न पाएका थिएनन् । त्यसमाथि लघुवित्त कम्पनीको सेयर कारोबारका लागि नेप्सेले दिएको न्यूनतम कारोबार रेञ्जमा लघुवित्तले दिएको १४.२५ प्रतिशत बोनस समायोजन भई ६५ रुपैयाँ ५६ पैसा कायम भएकाले लघुवित्तको पहिलो सेयर कारोबार ७२ रुपैयाँ १० पैसामा नेप्सेमा सुरु भएको थियो । 

सर्वसाधारणमा थोरै कित्ता सेयर जारी गरेको यस कम्पनीको सेयर आइतबार प्रतिकित्ता १० प्रतिशतले बढेर १६३५ रुपैयाँ २० पैसा पुगेको छ । थोरै कित्ता सेयर हुँदा कारोबारीहरुले कम्पनीको सेयर एकीकृत गरी मूल्य बढाएका हुन् । यस लघुवित्तको सेयर ब्रोकर नम्बर ५४ सेवा सेक्यूरिटीज मार्फत सर्वाधिक २६० कित्ता होल्डिङ्ग छ । यस्तै ब्रोकर नम्बर २२ सिप्रबी सेक्युरिटीजबाट १७० कित्ता, ब्रोकर नम्बर ५८ नासा सेक्युरिटीज मार्फत १२० कित्ता, ब्रोकर नम्बर ४२ सनि सेक्युरिटीजबाट ११० कित्ता र ब्रोकर नम्बर ५७ आर्यतारा सेक्युरिटीजबाट १०० कित्ता कारोबार भएको छ । गत बिहीबारसम्म लघुवित्तको जम्मा ३ हजार ६३८ कित्ता सेयर मात्र कारोबारमा आएको छ । जुन कुल आईपीओ (सार्वजनिक) निष्कासनको ४ प्रतिशत बराबर मात्र हो ।

बिहीबारसम्म लघुवित्तको सेयर टुक्रा गरेर न्यूनतम ३ कित्तादेखि अधिकतम ४२० कित्तासम्म कारोबार भएकोमा आइतबार कारोबार चालु रहँदा १२ः४५ बजेसम्ममा ९७० कित्ता सेयर खरिद बिक्री भएको छ ।

चुक्ता पुँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ मात्र रहेको उक्त लघुवित्त पुस मसान्तसम्ममा १६ लाख ७० हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ । गत आवको यसै अवधिमा ७५ लाख ८२ हजार नाफा कमाएको लघुवित्त हाल नोक्सानीमा पुगेको हो ।

कुल ८६ हजार कित्ता सार्वजनिक निष्कासन गरेको कम्पनीको सेयर १ हजार कित्ता कर्मचारी र ४ हजार ३०० कित्ता सामुहिक लगानी कोषलाई छुट्टाएर ८० हजार ७०० कित्ता सेयर सर्वसाधारणमा बाँडफाँड भएको थियो । कम्पनीले २०७७ फागुन ४ देखि ८ गतेसम्म सेयर निष्कासन गरी भदौ १५ गते बाँडफाँड भएको थियो । कम्पनीको सेयरको आपूर्ति नै कम भएकाले एक दुई जनाले नै यस लघुवित्तको सेयर एकीकृत गरेर चलखेल गर्ने सम्भावना ज्यादा रहन्छ ।

उक्त सेयर ८ हजार ७० जनालाई १० कित्ताका दरले वितरण गरिएको थियो । आईपीओ निष्कासनपछि लघुवित्त र स्वस्तिक लघुवित्तबीच मर्जर प्रकृयाका कारण रद्द भएर लामो समयपछि फुकुवा भई नियमित कारोबारमा आएको थियो । समाजको साधारण सभाले स्वस्तिक सँगको मर्जर प्रस्ताव पारित नगरेपछि मर्जर प्रस्ताव भंग भएको थियो । दुई लघुवित्तबीच २०७७ असोज ५ गते एक आपसमा मर्ज हुने सम्झौतामा सहमति भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।