नेपालले पाएको सहयोग जिम्मेवारीपूर्ण ढङ्गले कार्यान्वयन गर्दैन : युएसएड

0
Shares

अमेरिकी अन्तराष्ट्रिय सहयोग नियोग (युएसएड) नेपालकी निर्देशक सेपिदे केभान्सादले नेपालले दात्री संस्थाहरुबाट सहयोग लिएतापनि उक्त सहयोगको जिम्मेवारीपूर्ण कार्यान्वयन हुन नसकेको बताएकी छिन् ।

नेपाल इन्स्टीच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट संस्थाले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सेपिदेले युएसएडका माध्यमबाट नेपाल र अमेरिकाबीचको सम्बन्धबारे प्रस्ट पारेकी हुन् ।

सन् १९५१ मा अमेरिका र नेपालबीच भएको विकास सम्झौतापछि नेपाल र अमेरिकाबीच कुटनीतिक सम्बन्ध विस्तार भएको थियो । सो समयदेखि हालसम्ममा नेपाल–अमेरिकाको सम्बन्धका विभिन्न आयाममा परिवर्तन आएको उनको जिकिर छ। सेपिदेले विगतका वर्षहरुमा अमेरिकाले युएसएड मार्फत गर्ने सहयोगको प्रकृति र वर्तमान समयमा गर्ने सहयोगको प्रकृति र कार्यशैलीमा परिवर्तन आएको बताइन्।

विगतमा अमेरिकाले युएसएड मार्फत नेपालमा आवश्यक पूर्वाधारको विकासका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने गरेको र अहिले युएसएडले नेपाल सरकारका परियोजनाहरुमा आर्थिक, प्राविधिक सहयोग गर्ने गरेको युएसएड नेपालकी निर्देशक सेपिदे केभान्सादले बताइन् । वर्तमान समयमा युएसएड लगायतका अन्य विकासका साझेदारहरुले नेपालले वर्गीकरण गर्ने प्राथमिक क्षेत्रहरुको विकासका लागि काम गरेको बताइन् ।

पूर्वाधार विकासका क्रममा पहिलेको समयमा युएसएडले निश्चित समुदायका लागि निश्चित योजना निर्माण गरी लागू गरेता पनि वर्तमान परिपेक्षमा कुनै समुदाय लक्षित भएर निर्माण गरिने परियोजनाहरुमा त्यहाँका स्थानीय बासिन्दालाई सहभागी बनाई काम गर्दै आएको जानकारी सेपिदेले दिइन् । मधेश प्रदेशको उदाहरण दिँदै उनी भन्छिन्, ‘मधेशमा हामी खानेपानीको समस्या समाधानको लागि परियोजना लिएर गएका थियौ तर त्यहाँ पुगी स्थानीय बासिन्दासँग कुराकानी गरेपछि हामीले थाहा पायौँ कि मधेश क्षेत्रमा खानेपानीको समस्याले भन्दा धेरै दाइजो प्रथाका कारण महिलाहरु प्रताडित छन् । यसरी स्थानीयहरुसँग बुझेर उनीहरुकै सहभागितामा हामीहरुले परियोजना अगाडि बढाउँदा, ती परियोजना सफल भएका छन् । यसरी हाम्रो कार्यशैलीमा परिवर्तन आएको छ ।’

नेपालमा संघीयता लागु भएपछि युएसएडले स्थानीय सरकार, नगरपालिका, गाउँपालिकासँग प्रत्यक्ष आवद्ध भइ काम गरेको अनुभव उनले सुनाइन् । परिवर्तनशील समयसँगै नेपाल-अमेरिकाबीचको सम्बन्धले पनि विभिन्न चरणहरु पार गर्दै आएको उनको धारणा छ ।

नेपाल लामो समयदेखि सहयोग लिने पक्षमा रहेका कारण उक्त भूमिकामा परिवर्तन गरी एक जिम्मेवार साझेदारको भूमिका परिपक्व रुपमा निर्वाह गर्न नसकेको उनको ठम्याइ छ । मानिसहरुको मानसिकता परिवर्तन गर्नु सबैभन्दा ठूलो चुनौती रहेको उनको अनुभव छ । युएसएड नेपालको निर्देशकको भूमिकामा साढे ३ वर्ष देखि काम गर्दै आएकी उनी बताउँछिन्, ‘नेपालमा विविधता धेरै छ, भौगोलिक विविधताका कारण सबै क्षेत्रहरु एकनासले विकास हुन सकेका छैनन् । थोरै फन्डमा धेरै विकास गर्नुपर्ने छ । शिक्षाको विकास लागि पूर्वाधार छैन, स्वास्थ्य क्षेत्रको सुधारका लागि पूर्वाधार विकास कै कमी छ, कृषि क्षेत्रमा आधुनिकीकरण हुन सकेको छैन । त्यसैले विकास नहुनुमा प्राविधिक कमी कमजोरीहरु छन् तर विकास नहुनुको सबैभन्दा ठूलो कारण मानिसहरुको मानसिकता परिवर्तन नहुनु हो । मानिसहरुको सोच्ने शैलीमा परिवर्तन आउन सकेको छैन । मानिसहरुले आफ्नो ठाउँको विकासको उत्तरदायित्व लिन सकेका छैनन् । जसकारण नेपालको विकास पछाडि परिरहेको छ ।’

यसका लागि युएसएडले क्षमता अभिवृद्धि, प्रणाली सुदृढीकरणका लागि काम गर्दै आएको उनले बताइन् । जलवायु परिवर्तनको प्रभाव न्युनीकरण गर्ने र कार्बन उत्सर्जन घटाउने नेपालको लक्ष्यमा छलफल गर्दै उनले नेपालले लिएको टार्गेट महत्वाकांक्षी भएको बताइन् । जलविद्युत उत्पादनमा नेपालको क्षमता प्रचुर रहेको जिकिर गर्दै उनले कुनै पनि आयोजना निर्माण गर्नुअघि त्यस परियोजनाले वातावरण र त्यहाँका स्थानीय बासिन्दाहरुमा कस्तो असर पर्छ भनी अध्ययन गर्नु पर्ने सुझाव समेत दिइन् ।

हाल नेपालसँग दुई वटा विकल्प रहेको उनको धारणा छ– विकास गर्ने वा वातावरणमैत्री भइ काम गर्ने । यसका लागि नेपाल सरकारले उपर्युक्त नीति निर्माण गरी उक्त नीति निर्माण गर्ने क्रममा परियोजना प्रभावित क्षेत्रका मानिसहरुलाई पनि समेटेर अगाडि बढ्नु पर्ने र कुनै योजना कार्यान्वयन गर्नु अघि त्यसको वातावरणीय प्रभावको मूल्यांकन गर्नुपर्ने बताइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।