सिटिजन्स बैंकको प्रतिवेदनमा देखियो अधिकांश सूचकमा गिरावट

0
Shares

सिटिजन्स बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा अधिकांश सूचकमा गिरावट आएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको तुलनामा चालु वर्षको दोस्रो त्रैमासमा बैंकको संचालन नाफा, ब्याज आम्दानी, खुद नाफा, वितरण योग्य नाफा, जगेडा कोष, शेयरधनी कोष, पूँजीकोष तथा प्रतिशेयर आम्दानी घटेको छ ।  तर, यस अवधिमा बैंकको निक्षेप तथा कर्जा विस्तारमा केहि सुधार देखिएको छ भने खराब कर्जा समेत घटेको छ।

वाणिज्य बैंकहरुमा वित्तीय बितरण सार्वजनिक गर्ने पहिलो बैंक बनेको सिटिजन्सको प्रगति विवरणले दोस्रो त्रैमासमा समग्र बैंकको प्रगति कस्तो होला भन्ने कौतुहलता शेयर लगानीकर्तामा जगाएको छ।

बैंकले पुस मसान्तसम्ममा ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७७ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा झण्डै ९ करोड अर्थात १०.७३ प्रतिशत कम हो।

एनएफआरएस विवरणका आधारमा बैंकको ६ महिनाको वितरण योग्य नाफा ६२ करोड १० लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ ।

बैंकले यस अवधिसम्म ७५ अर्ब ५९ करोड ३३ लाख निक्षेप संकलन गरेर ६९ अर्ब ९ करोड ८१ लाख कर्जा प्रवाह गरेको छ । यसबाट बैंकले एक अर्ब ४३ करोड ८० लाख खुद ब्याज आम्दानी गरेको छ । यस अवधिमा बैंकको संचालन मुनाफा ९५ करोड ५९ लाख रहेको छ।

ब्याज आम्दानीमा आएको गिरावटका कारण बैंकको खुद नाफा प्रभावित बनेको हो। बैंकको ब्याज आम्दानी नै ६ करोडले घटेको छ ।

८ अर्ब ६२ करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा दुई अर्ब ८८ करोड रुपैयाँ सञ्चित छ भने शेयरधनी कोषमा ६६ करोड ३४ लाख रुपैयाँ सञ्चित छ । बैंकको जगेडा तथा शेयरधनीकोष दुवैमा गिरावट आएको छ।

गत आर्थिक वर्षको यसै अवधिमा १८ रुपैंया ४२ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले १५ रुपैयाँ ९५ पैसामा झरेको छ ।समीक्षा अवधिमा १.२३ प्रतिशत रहेको निष्कृय कर्जा अनुपातलाई बैंकले ०.९९ प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.४१ गुणाले बढी छ।

बैंकको पूँजीकोष अनुपात १२.७८ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७७.५८ प्रतिशत छ । बैंकको आधारदर १०.३५ प्रतिशत बैंकको स्प्रेडदर ४.३२ बाट ४.५८ प्रतिशतमा बढेको छ।