काठमाडौं महानगरको आम्दानी १३% बढ्यो, ६१ करोड ३५ लाख आर्जन

0
Shares

काठमाडौँ महानगरपालिका (कामपा) ले चालू आर्थिक वर्ष २०८०–८१ को माघ मसान्तसम्ममा कूल ६१ करोड ३५ लाख २८ हजार २८९ रुपैयाँ आम्दानी गरेको छ । यो आन्तरिक राजश्व, बाँडफाँडबाट प्राप्त र आन्तरिक अनुदान गरी तीन शीर्षकमा भएको आम्दानी हो ।

गत वर्ष २०७९–८० को यही अवधिमा कामपाले कूल ५४ करोड २३ लाख ३६ हजार ९६ रुपैयाँ आम्दानी गरेको थियो । गत आर्थिक वर्ष २०७९–८० को यसै अवधिको तुलनामा कामपाको आम्दानी १३.१३ प्रतिशतले बढेको हो ।

महानगरले उपलब्ध गराएको तथ्यांकअनुसार अनुसार महानगरको राजश्व सङ्कलनमा ठूलो गिरावट आएको छ । तथ्यांकअनुसार महानगरले यो वर्ष सम्पत्ति बहाल तथा पट्टाबापतमा लाग्ने कर संकलन गरेको छैन । गत वर्ष सम्पत्ति बहाल तथा पट्टाबापतको कर १ करोड ४२ लाख ६८ हजार रुपैयाँ सङ्कलन भएको थियो ।

समीक्षा अवधिमा सम्पत्ति कर २३.३६ प्रतिशतले घटेको छ भने भूमि कर÷मालपोत कर समेत १२.७८ प्रतिशतले बढेको छ । माघसम्म सम्पत्ति कर ४ करोड ३३ लाख ३५ हजार रुपैयाँ संकलन गरेको छ । यसैगरी, नक्सापास दस्तुर ५५ प्रतिशतले घटेर ५ करोड ५५ लाख ३६ हजार रुपैयाँ संकलन भएको छ । व्यक्तिगत घटना दर्ता दस्तुर ४ प्रतिशत र धरौटी सदरस्याहा कर ५२ प्रतिशतले खुम्चिएको छ । व्यक्तिगत घटना दर्ता दस्तुर वापत माघसम्म १० लाख २० हजार तथा धरौटी सदरस्याहा कर वापत ७ हजार १०० संकलन गरेको छ ।

माघसम्ममा महानगरले आन्तरिक राजश्वमार्फत माघ मसान्तसम्मको अवधिमा ४० करोड २१ लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा महानगरपालिकाले आन्तरिक राजश्व शीर्षकमा ४४ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेकोमा ९.४७% ले घटेको हो ।
महानगरको आन्तरिक राजश्व घट्दै गर्दा बेरुजु भने १८३१ प्रतिशतले बढेको छ । गत वर्ष २३ हजार रुपैयाँमा रहेको बेरुजु यो वर्ष ४ लाख ५१ हजार रुपैयाँ पुगेको छ । यस्तै प्रशासनिक दण्ड, जरिवाना र जफत ८१.२४ प्रतिशतले बढेर ३३ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

तथ्यांकअनुसार शिक्षा क्षेत्रको आम्दानी २८३७ प्रतिशतले बढेको छ । माघसम्म ३६ लाख ८९ हजार रुपैयाँ शिक्षा क्षेत्रबाट आम्दानी गर्दा अन्य प्रशासनिक सेवा शुल्कतर्फबाट हुने आम्दानी बढेर २ करोड ४३ लाख २६ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा अन्य प्रशासनिक सेवा शुल्क ३५ हजार ८२८ प्रतिशतले बढेको हो । व्यवसाय रजिष्ट्रेसनबाट पनि यस अवधिमा ४ करोड ३८ लाख ४५ हजार रुपैयाँ संकलन गर्दा सिफारिस दस्तुर ३०.१२% लेवृद्धि भएर ८१ लाख २२ हजार रुपैयाँ संकलन गरेको छ ।

यसबाहेक घरबाहल कर करिब २ प्रतिशतले बढेर १८ करोड ५ लाख उठ्दा कुल राजश्व संकलनको एक तिहाइ बढी घर बाहलबाट संकलन भएको देखिन्छ । यस्तै बाँडफाँड तथा प्राप्तितर्फ घरजग्गा रजिस्ट्रेसन दस्तुर ८३ प्रतिशतले बढेर १२ करोड ८३ लाख ५५ हजार पुगेको छ ।

बाँडफाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर तथा सर्सत अनुदानमार्फत आउने रकम शुन्य रहेको छ । गत आवको यसै अवधिमा बाँडफाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर २ करोड १२ लाख ३५ हजार रुपैयाँ र ७३ लाख ६१ हजार रुपैयाँ सर्सत अनुदानबाट प्राप्त गरेको थियो । बाँडफाँडबाट प्राप्त हुने सवारी साधन कर गत वर्ष शून्यमा रहे पनि यो वर्ष भने ८ करोड ३६ लाख ८५ हजार रुपैयाँ उठेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।