बैंकमा कर्जा लगानी बढ्न नसक्दा निक्षेप थुप्रिँदै, सिडी रेसियो ८० प्रतिशतमा झर्यो

0
Shares

अर्थतन्त्रमा देखिएको मन्दीको अवस्थाले कर्जाको मागमा वृद्धि हुन नसक्दा बैंकिङ्ग प्रणालीमा निक्षेप थपिने क्रम बढ्दो छ भने कर्जाको माग बढ्न सकेको छैन । यसले केन्द्रिय बैंकलाई ब्याजदर करिडोर कायम गर्न निक्षेप बोलकबोल गर्नुपर्ने अवस्था समेत सृजना भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार फागुन १० गते बिहीबारको तथ्याङ्क अनुसार बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप जम्मा रहेको छ । बुधबार ६१ खर्ब ६२ अर्ब रहेको निक्षेप बिहीबार एकै दिनमा ५ अर्ब रुपैयाँले वृद्धि भएको हो ।  नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बुधबारसम्मसम्म कुल कर्जा प्रवाह रकम भने २ अर्बले घटेर ५० खर्ब ८६ अर्ब कायम भएको छ । बुधबारसम्म कर्जा लगानी ५० खर्ब ८८ अर्ब रहेको थियो । हाल वित्तीय प्रणालीमा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम छ ।

बैंकहरूको कर्जा लगानी बढ्न नसकेकै कारण स्थायी निक्षेप संकलन सुविधाको प्रयोग बढ्न थालेको हो। बैंकहरूको कर्जाको ब्याजदर घट्दो क्रममा रहे पनि कर्जा लगानी बढ्न सकेको छैन।  निजी क्षेत्रबाट कर्जाको माग नभएकै कारण फागुन यता बैंकहरूले स्थायी निक्षेप संकलन सुविधा अन्तर्गत चार पटकसम्म कुल ५३ अर्ब रूपैयाँ राष्ट्र बैंकमा राखेका छन्। बैंकहरूले लगानी गरेर आफूसँग बाँकी रहेको रकम राष्ट्र बैंकमा राख्न सक्छन्। राष्ट्र बैंकले फागुनबाट स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएको हो । चार दिनसम्मको लागि रकम राख्न पाइन्छ भने बीचमा झिक्न मिल्दैन। बैंकहरूले बढी भएको रकम राष्ट्र बैंकमा राख्न पाएसँगै अन्तर बैंक सापटीको ब्याजदर समेत निर्देशित सीमामा आउन थालेको छ ।

उद्यमीहरूलाई पछिल्लो समय राज्य संयन्त्रबाटै हतोत्साहित हुने खालका काम हुँदा निजी क्षेत्रले थप कर्जा लगानी बढाउने मनस्थितिमा छैनन् भने ऋण लिएका लगानीकर्तालाई ब्याज भुक्तानी गर्न नै कठिन अवस्था छ । देशको आर्थिक अवस्थालाई लिएर विकास भएको नकारात्मक भाष्यले उपभोक्ता बजार सुस्ताएको छ । यसलाई सुधार नगरि कर्जाको मागमा उल्ल्खनीय सुधार नआउने बुझाई बैंकरहरुको छ ।

त्यस्तै बुधबारसम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ४७ अर्ब निक्षेप रहेकोमा बिहीबार ४ अर्बले बढेर ५४ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको हो । विकास बैंक र फाइनान्समा बुधबार कुल ७ खर्ब १५ अर्ब निक्षेप रहेकोमा बिहीबार एक अर्बले बढेर ७ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप बढ्दै जाँदा बैंकहरुको कर्जा निक्षेप–अनुपात (सिडी रेसियो) घट्दो क्रममा रहेको छ । बुधबार ८०.१९ प्रतिशत रहेकोमा बिहीबारसम्म सीडी रेसियो ८०.०४ प्रतिशतमा झरको छ । पुससम्ममा ३ खर्ब ७७ अर्ब निक्षेप संकलन हुँदा पनि १ खर्ब ९२ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको अवस्था छ । 

 स्थायी निक्षेप संकलन सुविधा अन्तर्गत बैंकहरूले राष्ट्र बैंकमा रकम राख्न थालेसँगै अन्तर बैंक ब्याजदर समेत बढ्न थालेकाे छ । बुधबार २.९० रहेकोमा ३.०२ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले स्थायी निक्षेप संकलन सुविधा उपकरण अभ्यासमा ल्याइरहेकोले पनि अन्तर बैंक ब्याजदर निर्देशित सीमामा कायम रहेको हो। 

आम उपभोक्ता, उद्यमी र सर्वसाधारण माझ नेपालको अर्थतन्त्र धराशायी अवस्थामा छ भन्ने बुझाई कायमै छ । यसले अलिले खर्च र लगानी गर्ने बेला होइन भन्ने धारणाको विकास भएको पाइन्छ । जसले गर्दा माग र आपूर्ति शृंखला बिथोलिएको छ । बजारमा माग कमजोर बन्दा जसको प्रभाव समग्र अर्थतन्त्रमा परेको छ । अर्थतन्त्रमा सुधार आउनका लागि सरकारले खर्च बढाउनुपर्छ । यद्यपी सरकारको काम गराइले तत्काल खर्च बढ्ने अवस्था छैन । निर्माण व्यवसायीहरुले सम्पन्न भैसकेको कामको भुक्तानी नपाएको भन्दै सरकारसँग पटक पटक माग गर्ने गरेका छन् ।  

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।