बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा पनि कर्जाको ब्याजदर नघट्ने, बचतकर्तालाई न्याय गर्दा मर्कामा ऋणी

0
Shares

बैंक तथा वित्तीय संस्थाहरुमा पछिल्लो समय अधिक तरलता भएको अवस्थामा समेत ऋणको ब्याजदर नघट्ने देखिएको छ । बैंकहरुले बचतमा न्यूनतम तीन प्रतिशत ब्याज अनिवार्य दिन पर्ने भएकाले ऋणको ब्याजदर जस्ताको त्यस्तै रहेको हो ।

आर्थिक गतिविधि सुस्त भएसंगै बैंक वित्तीय संस्थामा कर्जाको माग बढ्न सकेको छैन । कर्जाको माग नबढ्ने र निक्षेप थपिने क्रममा सुधार आउन थालेपछि तरलता तथा कर्जा लगानी योग्य रकम अधिक भएको हो ।

बैंकहरुले बचत तथा निक्षेपमा ब्याजदर दिन परिरहेको छ । तर, त्यसरी लगानी गरेर लिएको स्रोतलाई लगानी गर्ने अवस्था छैन । बैंकहरुले लगानी गरेर स्रोत लागतलाई ऋणीमा ट्रान्सफर गर्न सकेका छैन्न । त्यसले गर्दा पनि ऋणको ब्याजदर घटाइ हाल्ने अवस्थामा छैनन । ब्याजदर घटाएर लगानी विस्तार हुने अवस्था समेत नभएकाले पनि बैंकहरु कर्जाको ब्याजदर घटाउन ढिला सुस्ती गरेका हुन । अझै पनि बैंकहरुको स्रोत लागत ७.३५ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समयमा कर्जाको औसत ब्याजदर ११.३८ प्रतिशत छ भने निक्षेपको औसत ब्याजदर ७.३२ प्रतिशत रहेको बैंकर एशोसीएसनले जनाएको छ ।

केन्द्रीय बैंकले बैंकहरुले ब्याजदरमा अनावश्यक चलखेल गर्न नसकुन भनेर आधा दर्जन नीति लागु गरेको छ । केन्द्रीय बैंक तथा वित्तीय संस्थालाई आधार दर गणना गर्ने सुत्र नै बनाइदिएको छ भने कर्जा र निक्षेप विचको ब्याजदर अन्तर ४ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । त्यसैगरी बचतको ब्याजदर धेरै तल नहोस भनेर न्यूनतम तीन प्रतिशत कायम गरेको छ । बैंक तथा वित्तीय संस्थाले बचतमा न्यूनतम ३ प्रतिशत भन्दा थोरै दिए स्थायी निक्षेप सुविधा पाउदैनन ।

त्यसैगरी बचत र मुद्दति निक्षेपको ब्याजदर अन्तर अधिकतम ५ प्रीतशत भन्दा धेरै हुनु हुदैन भने बचत खाताका फरक योजनामा ब्याजदर अन्तर २ प्रतिशत भन्दा धेरै हुनु हुदैन । त्यसैगरी ब्याजदरमा अनावश्यक उताचढाव नहोस भनेर ब्याजदर करिडोर (३ देखि ७.५ प्रतिशतको बीच) लागु गरेको छ ।

केन्द्रीय बैंकले अधिक तरलता भएको अवस्थामा बचतकर्तालाई अन्यान नहोस भन्दै न्यूनतम ३ प्रतिशत ब्याज दिनु पर्ने व्यवस्था गरेको छ। सो अनुसार ब्याज नदिएको खण्डमा केन्द्रीय बैंकले दिने स्थायी निक्षेप सुविधा उपयोग गर्न पाइदैन । यसले बचतकर्तालाई त फाइदा हुने भयो । तर, बचतको ब्याजदरको सीमा सहित अन्य ब्याजदर सम्बन्धी निर्देशनका कारण ऋणको ब्याजदर भने तत्काल घट्ने अवस्था देखिदैन ।

केन्द्रीय बैंकले सम्पत्तिको मूल्य वृद्धि र अनुत्पादन क्षेत्रको लगानी नियन्त्रण गर्न ब्याजदरमा सीमा तोक्दा ऋणीलाई भने अन्याय भएको एक बैंकरले बताए । “बैंकिङ प्रणालीको तरलतामा हुने पविर्तनबाट ऋणीलाई खासै फाइदा हुने देखिदैन,”ती बैंकरले भने,“तरलता अधिक छ कर्जा लगानी अपेक्षीत बढ्न सकेको छैन, स्रोत लागतमा पनि ब्याजदरको सीमाका कारण खासै परिवर्तन भएको छैन ।”

केन्द्रीय बैंकले बचतको ब्याजदरमा ३ प्रतिशतको सीमा राखेर ठिक गरेको राष्ट्र बैंक्का पुर्व र्कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । बचतकर्तालाई न्यून ब्याजदर दिदाँ सट्टेबाजी बढ्ने बताउदै उनले भने,“केन्द्रीय बैंकले अनौपचारीक कारोबार बढ्ने भएकाले बचतको ब्याजदर पनि न्यूनतम तोकेको हुनु पर्छ । केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साहित गर्न पनि ब्याजदर अस्वभाविक नघटोस भनेर यस्तो नीति लिएको उनको बुझाइ छ ।

केन्द्रीय बैंकको ब्याजदर नीतिका कारण ऋणीलाइ नोक्सान पुगेको भन्न नमिल्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक पिताम्बर भणडरीले बताए । बैंकहरुले स्थायी निक्षेपमा लिने ब्याजदरका कारण आधार ब्याजदर घट्ने बताउदै भण्डारीले भने,“स्थायी निक्षेपको आम्दानी ऋणलीलाई ट्रान्सफर गर्ने हो ।” बचतको ब्याजदरको न्यूनतम कायम गर्दा बैंकिङ प्रणाली भन्दा बाहिर पैसा जाने क्रममा कम हुने र उत्पादन क्षेत्रमा लगानी बढ्ने भण्डारीको बुझाइ छ । बचतको न्यूनतम ब्याजदरले कर्जाको ब्याजदर घटाउन असर नगर्ने समेत उनको तर्क छ ।

स्थायी निक्षेपका कारण अन्तर बैंक ब्याजदर बिहीबार २.९ प्रतिशत कायम भएको छ । त्यसैगरी वित्तीय प्रणालीमा अधिक तरलता नरहेको भण्डारीले बताए । बुधबारको स्थायी निक्षेपका कारण अधिक तरलता खिचिएको भण्डारीको भनाइ छ । केन्द्रीय बैंकसंग स्थायी तरलता सुविधा मार्फत खिचेको ४३ अर्ब ५५ करोड रुपैयाँ बरावरको तरलता बक्यौता छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।