एनआईसी एशिया बैंकको ब्याज आम्दानी ४ करोडले बढ्दा कसरी गर्यो २ अर्बको नाफा ?

0
Shares

एनआईसी एसिया बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ९८ लाख रुपैयाँले खुद ब्याज आम्दानी वढाउदा ५० करोड ४८ लाख रुपैयाँ बढाई २ अर्ब एक करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

बैंकहरुको आम्दानीको मूख्य स्रोत भनेको ब्याज आम्दानी हो। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले खुद ब्याज आम्दानी १.९७ प्रतिशतले वढ्दा खुद नाफामा ३३ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकको नाफा वृद्धि दरमा ब्याज आम्दानीको योगदान ७.८८ प्रतिशत मात्र रहेको छ। यसले बैंकले उच्च दरको सेवा शुल्कमा बैंकिङ्ग व्यवसाय गर्दै आएको स्पष्ट हुन्छ । त्यसका साथै बैंकले नाफाका लागि गैर बैंकिङ्ग व्यवसायलाई पनि उत्तिकै महत्व दिएको देखिन्छ ।

बैंकले ४ प्रतिशतसम्मको कर्जा नविकरण शुल्क ग्राहकवाट अशुल्ने गुनासाहरु नआएका होइनन्। बैंकको दोसो त्रैमासको नाफा र सो अवधिमा बैंकले गरेको फि तथा कमीसन आम्दानीलाई हेर्दा पनि बैंकले दिने बैंकिङ्ग सेवा महङ्गो दरको रहेको एक बैंककरको भनाई छ ।
त्यसका साथै बैंकले ग्राहकलाई आफैमा सीमित राख्नका लागि धितोको मूल्याङ्कन उच्च गर्ने गरेको तथा धितो मुल्याङ्कन मार्फत ग्राहकलाई अन्य बैंक वित्तीय संस्थाले दिने कर्जा भन्दा धेरै दिएपछि ऋणीले अन्य संस्थामा कर्जा सिफ्ट पनि गर्न नसक्ने अवस्था सृजना गरेर उच्च दरको सेवाशुल्क असुल गरेको ति बैंकरले नोटबजारलाई बताए ।

अन्य बैंकको भन्दा फरक र महङ्गो बैंकिङ्ग सेवाले दीर्घकालीन नहुने समेत उनको भनाई छ । बैंकले चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा बैंकले फि तथा कमिसन बापत एक अर्ब ३० करोड खुद आम्दानी गरेको छ । यो आम्दानी गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६२.७० प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले खुद फि तथा कमिसन आम्दानी ७९ करोड ९१ लाख रुपैयाँ गरेको थियो ।

यसरी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा बैंकले २ अर्ब एक करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३३ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको पुससम्ममा बैंकले एक अर्ब ५१ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आर्थिक वर्षमा बैंकको व्याज तथा सञ्चालन खर्च बढेको भएपनि त्यसले नाफा वृद्धिमा खासै असर गरेको देखिँदैन। बैकिङ्ग क्षेत्रमा आक्रामक र अन्य २६ कमर्सियल बैंक भन्दा फरक बैंकिङ्ग व्यावसाय गर्दै आएको एनआईसीमा अन्य संस्थाको तुलनामा धेरै कर्मचारी भित्रिने र बाहिरीने गरेको एक बैंकले बताए। कर्मचारीको स्थिरता नभएपनि बैंकको नाफाले कार्यसम्पादनमा असर नपुगेको देखिन्छ ।

चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा बैंकले ३ अर्ब ६४ करोड ७४ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको छ । यो ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१ प्रतिशतले मात्र धेरै हो। गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १० अर्ब १७ करोड १८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो ब्याज आम्दानी गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५.३४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको पुससम्ममा बैंकले ९ अर्ब ६५ करोड ६१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । तर, बैंकले चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा ६ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ ब्याज खर्च गरेको छ भने गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ६ अर्ब ४ करोड ८५ लाख रुपैयाँ ब्याज खर्च गरेको थियो ।

त्यसैगरी बैंकले चालु आर्थिक वर्षको पुससम्ममा २ अर्ब ४ करोड ४१ लाख रुपैयाँ सञ्चालन खर्च गरेको छ । बैंकको यो सञ्चालन खर्च गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा करिब १० प्रतिशतले वढेको हो । गत आर्थिक वर्षको सोहि अवधिसम्ममा एक अर्ब ८७ करोड १८ लाख रुपैयाँ सञ्चालन खर्च गरेको छ ।

बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आम्दानी २१ प्रतिशतले बढेर ४१ रुपैयाँ ६१ पैसा तथा इक्वीटीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५.१७ प्रतिशत पुगेको छ ।

बैंकले प्रवाह गरेको कुल कर्जामा साना तथा मझौला र रिटेलको हिस्सा ७२ प्रतिशत रहेको जनाएको छ । बैंकले ३१३ शाखा कार्यालयहरु, ४२६ एटिएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ मार्फत् २१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।