सहकारी ठगीको अनुसन्धान बैंकरसम्म, सहकार्यका लागि राष्ट्र बैंकलाई सीआइबीको पत्र


देउराली बहुउद्देश्यीय सहकारी ठगीमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले करिब दर्जन बैंकरलाई पक्राउ गरेको छ । ब्यूरोले सहकारी ठगीको अनुसन्धान गर्ने क्रममा तत्कालिन सञ्चुरी बैंकको व्यवस्थापन प्रमुखदेखि कर्मचारीहरुलाई पक्राउ गरेको हो ।

ब्यूरोले सेञ्चुरी बैंकका तत्कालिन प्रमूख कार्यकारी अधिकृत तुलसी गौतम, सोही बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत एवं अहिलेको प्रभू बैंकका डेपुटि प्रमूख कार्यकारी अधिकृत मनोज न्यौपाने सहित १० बैंकलाई पक्राउ गरेको हो । सेञ्चुरी र प्रभु मर्जर भएर प्रभु बैंक बनेको छ । गौतमको नतृत्वमा बैंकले सहकारीका अध्यक्ष रविन्द्र चौँलागाईलाई धितो मूल्याङकनभन्दा धेरै कर्जा दिएको भेटिएपछि सम्बन्धित व्यक्तिहरुलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको ब्यूरोका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

“पक्राउ परेका बैंकरहरुसँग बयान लिने काम सुरु भएको छ,” बोगटीले भने, “सहकारी ठगीको अनुसन्धान बैंकमा जोडिएको हो, २०७५ सालमै टाट पल्टेको व्यक्तिका नामममा बैंकले कसरी कर्जा थपिरह्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।” चौँलागाईले धितो राखिसकेको सम्पत्तिका आधारमा व्यक्तिगत जमानी बसेर बैंकबाट कर्जा थपेको पाइएको बोगटीले नोटबजारलाई बताए ।

सहकारी ठगीको अनुसन्धानका क्रममा बैंकर तानिएको हुनाले प्रारम्भिक चरणमा केन्द्रीय बैंकसँग सहकार्य नभएको स्विकार गर्दै बोगटीले भने, “बैंकरहरुको बयान चलिरहेको हुनाले सहकार्यका लागि राष्ट्र बैंकलाई पनि पत्राचार गरेका छौं ।”

बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्दा सेक्यूरीटी हुनु पर्ने बताउँदै उनले थपे, “रविन्द्र चौँलागाईका सबै बिजनेस २०७५ देखि नै कोल्याप्स भएको अवस्था छ । धितो राखेको जग्गालाई देखाई व्यक्तिगत जमानी पनि दिएको देखियो ।” अर्बौंको कारोबार भएको बैंक विवरण जुटाउनेदेखि अध्ययन तथा अन्य प्रमाण जुटाउनु पर्ने भएकाले अनुसन्धानमा थप समय लाग्ने उनले जानकारी दिए । यसका लागि अहिलेको सात दिन पर्याप्त नहुने भएकाले थुनामा राख्ने म्याद थप हुन सक्ने उनले बताए ।

“सञ्चालक समितिले लगानी गर्ने अधिकार दिँदैमा आम सर्वसाधारणको पैसा बगरमा लगानी गर्ने निर्णय गर्न त भएन,” उनले भने, “अहिले सहकारीमा देखिएको समस्या मनलाग्दी लगानीको कारणले हो । त्यही अवस्था बैंकहरुमा हुनु हुदैन ।” उक्त कर्जाको सन्दर्भमा अन्य पदाधिकारीको पनि संलग्नता भएको खण्डमा अन्य व्यक्तिहरुलाई पनि अनुसन्धानका लागि ल्याइने उनको भनाई छ ।

बैंकरहरु पक्राउ परेपछि सम्पुर्ण निजी क्षेत्रले एक स्वर गर्दै विरोध गरेका छन् । बैंकरहरु पनि केन्द्रीय अनुसन्धान ब्यूरोदेखि गृह मन्त्रालयसम्म पुगेको अवस्था छ । बैंकर तथा व्यवसायीले थुनामै राखेर भन्दा पनि गलत गरेको पुष्टि नहुँदासम्म बाहिर नै राखेर अनुसन्धान गर्न माग गर्दै आएका छन् ।

बैंकर गौतम र न्यौपाने सहितका तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीले चौँलागाईलाई एक अर्ब १४ करोडको मूल्यङकन भएको धितोमा दुई अर्ब ११ करोड कर्जा दिएको भेटेपछि व्युरोले अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उक्त कर्जा चाँैलागाई संलग्न भएका पुँजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ, पुजा मार्केटिङ, र अन्नपुर्ण डिस्लरीमा प्रजाह भएको ब्यूरोले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।