अर्थमन्त्री खतिवडाद्धारा बैंकको मुनाफाको बचाउ, भन्छन् पूँजीको हिसाबले प्रतिफल सामान्य

0
Shares

कार्यक्रममा अर्थमन्त्री खतिवडाले नेपालको समग्र वित्तीय प्रणाली र बैंकिङ्ग प्रणाली दक्षिण एशीयाली क्षेत्रमा नै उत्कृट र सुदृढ बैंकिङ्ग प्रणाली रहेको भन्दै बैंकहरुले आर्जन गर्ने मुनाफाको बचाउ गरेका छन्। कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले  बैंकहरुले धेरै मुनाफा गरे भन्ने आरोपको बचाउ गरेका हुन्।

बैंकको नाफा बढ्दा उद्योगी व्यवसायीहरुलाई बैंकहरुको नाफामा आँखा लाग्ने गरेको भन्दै उनले १५ अर्ब पूँजीलगानी गरेका बैंकले १५ प्रतिशत अर्थात २ अर्ब नाफा गरे भनेर उद्योगी व्यवसायीले आलोचना गर्न नमिल्ने बताए।

१५ अर्ब भएको बैंकले १५ प्रतिशत नाफा बाँड्न पनि २ अर्ब मुनाफा आवश्यक रहेको उनको भनाई थियो। बैंकहरुले २० प्रतिशतसम्म नाफा गर्न थाल्दासम्म अस्वभाविक मान्न सकिने बताउँदै १२ देखि १५ प्रतिशत नाफालाई उत्तम मान्न सकिने बताए।

पछिल्लो समय सरकारी बैंकहरु निजी क्षेत्रको बैंकहरुको प्रतिस्पर्धामा उत्रन सक्नु, विगतमा लाभांश बाँड्ने हैसियतामा नभएपनि हाल सरकारलाई समेत प्रतिफल वितरण गर्नु, आफ्नो पूँजीको निष्कृय कर्जा ३ प्रतिशत भन्दा तल घटाउनु राम्रो संकेत रहेको बताए।

राम्रोसँग निरीक्षण भएकाले अहिले बैंकहरुको खराब कर्जाको अनुपात पत्याउनै नसकिने किसिमले तल छ,त्यो स्वागतयोग्य हो । आफु नेपाल राष्ट्र बैंकको मौद्रिक नीति शाखामा काम गर्दा सबै बैंकहरुको पूँजी जोड्दा पनि १२ अर्ब नपुग्ने रहेकोमा अहिले १२ अर्बभन्दा तल पूँजी रहेको वाणिज्य बैंक पाउन मुस्किल भएको छ, उनले भने।

पहिला पहिला कर्मचारी युनियन नै ६ वटासम्म हुने गरेकोमा अहिले दुई वटा मात्रै हुनु र अर्कोलाई मात्रै गाली गर्ने परिपाटीबाट उठेर आफ्नो जिम्वेवारी पूरा गर्नुपर्छ भन्ने कर्तव्यबोध हुनु निकै सकारात्मक रहेको बताए।

कर्मचारी संगठनहरूको पनि प्रशंसा गर्दै खतिवडाले भने यसरी नै काम गर्दै जाने हो भने सरकारी बैंकलाई अरु बैंक सरह हैन त्यो भन्दा राम्रो व्यवसायीक बतावरण सरकारले बनाउँछ किनभने त्यसबाट नाफा लिने सरकार नै हो।

अर्थतन्त्र गौरव गर्न लायक बाटोमा

कार्यक्रममा खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेकोले गौरव गर्न लायक राम्रो बाटोमा रहेको बताए।

मुलुकको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतको बीचमा हुने उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले भने,“अर्थतन्त्र भनेको जहिले पनि उकालो–ओरालो नै हो, सधैं सरल र सिधा बाटोमा हिँड्दैन, हाम्रो भूगोल जस्तै अर्थतन्त्रको प्रवृत्ति हुन्छ ।” 

विगतमा २२ प्रतिशतसम्म पुगेको मूल्यवृद्धि अहिले ६ प्रतिशतमा सीमित रहँदा पनि मूल्यवृद्धि आकासियो भन्ने तर्क कस्तो हो ? भन्ने प्रश्न गर्दै अर्थमन्त्री डा. खतिवडाले नेपालको २० वर्षको औसत मूल्यवृद्धि १० प्रतिशत भन्दा माथि रहेको जनाए।

विवेकपूर्ण ढङ्गले अर्थतन्त्रको व्याख्या गर्न आवश्यक रहेको बताउँदै उनले भने,“अर्थतन्त्रका यथार्थ सूचकलाई बुझेर छलफल गरियो भने सकारात्मक बाटोमा हिँड्न सकिन्छ ।