सरकारी ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाको ९४ प्रतिशत हिस्सा, ३९ अर्ब ब्याज मात्रै भुक्तानी

0
Shares

सरकारले राजस्व तथा विदेशी सहायताबाट अपुग स्रोत संकलनका लागि उठाउने आन्तिरक ऋणपत्रको अधिकासं हिस्सा बैंक तथा वित्तीय सस्थाको रहेको छ । सरकारले जारी गर्ने ट्रेजरी बिल्स तथा डेभलपमेन्ट बण्डमा बैंक तथा वित्तीय संस्थाको ९४.६१ प्रतिशत लगानी देखिएको हो ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारको आन्तरीक ऋण ११ अर्ब ८४ करोड रुपैयाँ बराबरको रहेको छ । सो मध्ये ट्रेजरी बिल्स ४ खर्ब ६ अर्ब १५ करोड रुपैयाँ बरावरको छ भने विकास ऋणपत्र ७ खर्ब ६७ अर्ब बरावरको छ । त्यसैगरी नागरिक बचत पत्र १० अर्ब ७५ करोड र बैदेहिक रोजगार बचतपत्र १७ करोड ५४ लाख रुपैयाँ बराबरकोे रहेको केन्द्रीय बैंकले जनाएको छ ।

सरकारले आन्तरिक ऋणका लागि जारी गर्ने उपकरण मध्ये बैंक तथा वित्तीय संस्थाले खरिद गर्ने ट्रेजरी बिल्स र विकास ऋणपत्र मात्र हो । माघसम्म सरकारको ट्रेजरी बिल्स तर्फको दायित्व ४ खर्ब ६ अर्ब १५ करोड मध्ये बैंक तथा वित्तीय संस्थालाई मात्रै ३ खर्ब ८६ अर्ब भुक्तानी गर्नु पर्ने देखिन्छ । त्यसमा पनि बाणिज्य बैंकहरुलाई ३ खर्ब ६६ अर्ब, विकास बैंकहरुलाई १५ अर्ब १५ करोड र फाइनान्स कम्पनीलाई ४ अर्ब ६० करोड रुपैयाँ दायीत्व भुक्तानी गर्नु पर्ने अवस्था छ ।

त्यसैगरी विकास ऋणपत्रमा पनि बैंक तथा वित्तीय संस्थाको मात्रै कुल ७ खर्ब ३३ अर्ब बरावरको लगानी रहेको छ । विकास ऋणपत्रमा वाणिज्य बैंकहरुको ६ खर्ब ३३ अर्ब, विकास बैंकहरुको ८१ अर्ब ५५ करोड र फाइनान्स कम्पनीहरुको १८ अर्ब २४ करोड रुपैयाँ बरावरको लगानी रहेको छ ।

चालु आवको माघसम्ममा लघुवित्त वित्तीय संस्थाले ट्रेजरी बिल्समा ७५ करोड र विकास ऋणपत्रमा १९ करोड रुपैयाँ बरावरको लगानी गरेका छन् । त्यसैगरी समाजिक सुरक्षा कोषले ट्रेजरीमा ६ अर्ब ४१ करोड र विकास ऋणपत्रमा एक अर्ब ९८ करोड रुपैयाँ लगानी गरेको छ । सो अवधिमा बीमा कम्पनीहरुले ट्रेजरीमा एक अर्ब ४५ करोड र विकास ऋणपत्रमा ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको लगानी गरेको केन्द्रीय बैंकले जनाएको छ । अन्य संस्थाहरुले ट्रेजरीमा ६ अर्ब ५३ करोड र विकास ऋणपत्रमा ३ अर्ब ५ करोड लगानी गरेका छन् ।

केन्द्रीय बैंकले ४ अर्ब ७३ करोड ट्रेजरीमा र २४ अर्ब ९२ करोड विकास ऋणपत्रमा लगानी गरेको छ । त्यसैगरी नागरीक बचतपत्रमा ३ अर्ब ९० करोड र बैदेशिक रोजगार बचतपत्रमा ६५ लाख रुपैयाँ लगानी गरेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षमा सरकारले ३ खर्ब ९० अर्बको आन्तरिक ऋणपत्र भुक्तानी गरेको छ । सरकारले भुक्तानी गरेको रकम कुल आन्तरिक ऋणको ३२.९८ प्रतिशत हो । सरकारले आगामी आर्थिक वर्षमा अहिलेको आन्तरिक ऋणको एक खर्ब ७० अर्ब रुपैयाँ भुक्तानी गर्नु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।

चालु आवको पुससम्ममा सरकारले आन्तरिक ऋणको ३८ अर्ब ९० करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ । सो अवधिमा सरकारले आन्तरिक ऋणको साँवा भने ९१ अर्ब १६ करोड रुपैयाँ भूक्तानी गरेको केन्द्रीय बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।