राष्ट्र बैंकले बिहीबार ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्दै

0
Shares

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट ५० अर्ब तरलता खिच्दैछ । केन्द्रीय बैंकले १४ दिने निक्षेप संकलन उपकरण मार्फत फागुन २४ देखि चैत ८ गतेसम्मका लागि ५० अर्ब निक्षेप संकलन गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता खिचेर अन्तर बैंक दर बढाउन निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसभन्दा अघि निष्काशन गरेको निक्षेप संकलन उपकरण परिपक्क भएकाले पनि वित्तीय प्रणालीको तरलता बढेको हुनाले पुनः सोही उपकरणको प्रयोग केन्द्रीय बैंकले गरेको हो ।

राष्ट्र बैंकबाट इजाजत पाएका वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले निक्षेप संकलनको बोलकबोलका लागि आवेदन दिन सक्नेछन् । कम्तिमा १० करोडदेखि सो भन्दामाथि ५ करोडले भाग गर्दा निशेष भाग जानेगरी ५० अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकले संकलित निक्षेपको साँवा तथा ब्याज राष्ट्र बैंकले चैत ८ गते भुक्तान गर्नेछ । ब्याजको हकमा सबैभन्दा कम कबोल गरिएको ब्याजलाई पहिलो प्राथमिकतामा राखी त्यसै क्रमले बोल गरिएको रकम क्रमशः बाँडफाँड हुनेछ । निक्षेप संकलन गरिएको रकम तरलता अनुपात तथा एसएलआरमा बैंक तथा वित्तीय संस्थाले गणना गर्न पाउनेछन् ।

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलन बढिरहेको छ । निक्षेप बढेअनुसार कर्जा माग नहुँदा बैंकमा तरलता थुप्रिरहेको छ । यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ प्रणाली मार्फत तरलता तानिरहेको छ । केन्द्रीय बैंकका अनुसार हाल वित्तीय प्रणालीमा झण्डै ७९ अर्ब अधिक तरलता रहेको छ ।

बुधबार बैंकहरुले स्थाई निक्षेप सुविधा उपयोग गरी राष्ट्र बैंकमा ४३ अर्ब ८० करोड रुपैयाँ जम्मा गरेका छन् । बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकमा निक्षेप राखेका हुन् । गत आइतबार मात्रै बैंकहरुले एक खर्ब २३ अर्ब रुपैयाँ स्थायी निक्षेप राखेका थिए । फागुन २१ गते सोमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेपको संकलन गर्दा कर्जा लगानी ५० खर्ब ९० अर्ब रुपैयाँ छ । ट्रेजरी बिलको ब्याजदर अधिकतम ३.७० प्रतिशतमा झरेको छ भने अन्तर बैंक ब्याजदर २.८१ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८०.०३ प्रतिशत छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भई अन्तर बैंक ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल आएको खण्डमा निक्षेप संकलन उपकरण प्रयोग गर्छ । पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्थामा छ । बैंकहरु निक्षेप थपिने क्रम जारी छ । तर, कर्जाको न्यून माग तथा पुँजीकोष दबाबका कारण बैंकहरुले कर्जा लगानी गर्ने अवस्था छैन । त्यसले गर्दा पनि तरलता वृद्धिलाई सहयोग पुगेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।