सर्वोत्तमबाट बुक बिल्डिङ्गको गोरेटो खन्यौं, अरु कम्पनीको आईपीओ पनि यहि विधिबाट ल्याउँछौंः न्यौपाने

0
Shares

नेपालको मर्चेण्ट बैंकिङ्ग इतिहासमै सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक विल्डिङ्ग विधि मार्फत पहिलोपटक सर्वसाधारणमा सेयर निष्काशन गरि बाँडफाँड समेत गरेको छ । यसले वास्तविक क्षेत्रका अन्य कम्पनीलाई पारदर्शी रुपमा मूल्य निर्धारण गरेर पुँजी बजारमा प्रवेश गर्ने ढोका समेत खोलेको छ ।

पुँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउन सरकारले यसअघि धेरै पहल गरेको भएपनि अंकित मूल्यमा नै सेयर बिक्री गर्नुपर्ने अवस्था रहँदा एकातिर सरकारी योजना सफल हुन सकेन । अर्कोतिर पुँजी बजारमा बैंक तथा वित्तीय संस्थाको मात्र बाहुल्यता कायम रहँदा बैंक तथा बीमाका सेयर मूल्य बढे सेयर बजार बढ्ने र घटे सेयर बजार ओरालो लाग्ने अवस्था थियो । त्यसैबीचमा बुक बिल्डिङ्ग विधिबाट पहिलो कम्पनीको रुपमा सर्वोत्तम सिमेन्टले आईपीओ ल्याउने प्रकृया अगाडि बढायो । यद्यपी पुँजी बजारमा भित्रन लागेको यस कम्पनीको संस्थापक सेयर आईपीओ आउनुअघि नै नियामक निकायका प्रमुखले परिवारको नाममा खरिद गरेपछि यो प्रकृया मात्रै लम्बिएन, धितोपत्र बोर्डका तत्काली अध्यक्ष भिष्मप्रसाद ढुङ्गाना, नेप्सेका सीईओ चन्द्रसिंह साउदको समेत पद गुम्यो ।

यावत उतार चढावकाबीच अन्ततः फागुन २५ गते शुक्रबार त्यहि सर्वोत्तम सिमेन्टले बुक विल्डिङ्ग विधिबाट पहिलो पटक निष्काशन गरेको आईपीओ बाँडफाड सम्पन्न गरेको छ । आजदेखि ५५ हजार ५२१ जना सर्वसाधारण सर्वोत्तम सिमेन्टका मालिक (सेयरधनी) समेत बनेका छन् । लामो इतिहास र सबल वित्तीय अवस्था रहेको सर्वोत्तम सिमेन्टले क्लिंकर र सिमेन्ट गरी उत्पादन गरि स्वदेश मात्र होइन गत साउनदेखि भारतमा समेत निकासी थालेर विदेशी मुद्रा भित्र्याउन थालेको छ । कम्पनीको अध्यक्षमा विष्णुप्रसाद न्यौपाने छन् । धेरै हन्डर ठक्कर खाएर भएपनि बुक विल्डिङ्ग विधिबाट आईपीओ ल्याउन सफल हुँदा आफू नकारात्मक नभएको बरु भविष्यमा आउने कम्पनीका लागि समेत गोरेटो खनेको बताउने उनै न्यौपानेसँग आईपीओ बाँडफाँडको अवसरमा नोटबजारका तीर्थराज पौड्यालले सिमेन्ट बजार सुस्ताएको बेला कम्पनीले अबलम्बन गर्ने रणनीति तथा योजना, सेयरधनीलाई पाउने लाभांश र बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्कासनको अनुभव लगायतका विषवस्तुमा कुराकानी गरेका छन्ः–

सर्वोत्तम बुक बिल्डिङ्गबाट आईपीओ निष्काशन गर्ने पहिलो कम्पनी बनेको छ, अब यस प्रकृयामा आउने कम्पनीलाई के सुझाव दिन चाहनुहुन्छ ?

बुक बिल्डिङ्गबाट आईपीओ निष्काशन गर्न सर्वोत्तम सिमेन्टले धेरै कठिनाई भोगिसकेको छ । यद्यपी आगामी दिनमा फेरि पनि हाम्रो अर्को कम्पनीको पनि बुक बिल्डिङ्गबाट विधिबाटै आईपीओ निष्काशन गर्दैछौं । बुक बिल्डिङ्गबाट विधि नै सबैभन्दा धेरै पारदर्शी विधि हो भन्ने बजारको पनि बुझाई आयो । हामीलाई सुरुमा त्यो डर थिएन ।

बुक बिल्डिङ्गबाट विधिको नीति नियम बनाउनका लागि नै धेरै समय लाग्यो । धेरै कमेन्ट पाइयो र जवाफ दिनका लागि प्रकृया पनि लामो थियो । तर अब आउने कम्पनीलाई सर्वोत्तमले एउटा इतिहास रचिसकेको छ । त्यसैले अब आउने कम्पनीलाई धेरै सहज भएको छ । तर बुक बिल्डिङ्गबाट विधिबाट आईपीओ ल्याउन पहिला त त्यसका लागि योग्य हुुनुपर्यो । जसमा प्रतिसेयर नेटवर्थ १५० रुपैयाँभन्दा माथि भएको, निरन्तर ३ वर्ष नाफामा भएको हुनुपर्ने लगायतका मापदण्ड तोकिएका छन्, त्यो मापदण्ड पूरा भएका कम्पनीहरुको हामी यहि प्रकृयाबाट आईपीओ निकाल्छौं ।

बुक बिल्डिङ्गबाट विधिको आईपीओ ल्याउन ३ वर्ष कुनुपर्यो, प्रिमियमबाट आईपीओ ल्याएको भए हुन्थ्यो जस्तो लागेन ?

प्रक्रियागत झण्झटले गर्दा बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने प्रक्रिया सुरु गरेको ३ वर्षमा बल्ल सफल भयौं । यसबीचमा हामीले धेरै असहज परिस्थिति (हडल्स) समेत सामना गर्नुपर्यो । तरपनि हामीले एउटा पारदर्शी विधिको स्थापनाका लागि त्यसबाट पछि हटेनौं र त्यसमा नै फोकस गरियो । पहिलो कम्पनीको रुपमा सर्वोत्तम सिमेन्टको आईपीओ ल्याउन समय लागेपनि हामीले बुक बिल्डिङ्गबाट विधिलाई नकारात्मक रुपमा लिएका छैनौं । बरु सबैभन्दा धेरै सकारात्मक कुरा के लाग्यो भने समयभन्दा पनि बुक बिल्डिङ्गबाट विधिको प्रकृयालाई आम लगानीकर्ताले स्वीकार गर्छ कि गर्दैन भन्ने थियो ।

बुक बिल्डिङ्गबाट विधिबाट आउने कम्पनीहरु राम्रो कम्पनी हुँदा सेयर मूल्य महङ्गो हुने तथा एकैपटक न्यूनतम ५० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्ने भएकाले त्यसका लागि सर्वसाधारणले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने चिन्ता थियो । अब त्यो रहने ।  सर्वोत्तमको कुरा गर्दा एकैपटक ५० कित्ता किन्नुपर्ने, १८ हजार हाल्नुपर्ने भन्ने कुरा सर्वसाधारणले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने थियो । तर भोलि नयाँ आउने आउँदा त्त्यो भन्दा धेरै माथि १–२ हजारमा किन्नुपर्ने हुँदा के होला भन्ने थियो ।

प्रिमियम मूल्यमा निष्काशन हुने सेयरलाई नै शंकास्पद नजरले हेरिरहेको बेलामा बुक बिल्डिङ्गबाट विधिबाट आउने कम्पनीहरुको अवस्था के होला भन्ने चिन्ता अब हटिसकेको हुनाले बुक बिल्डिङ्गबाट विधिबाट अन्य कम्पनीहरुको पनि आईपीओ ल्याउने कुरामा सकारात्मक भएका छौं । पहिलो कम्पनीको रुपमा आईपीओ ल्याउँदा यो विधिबारेमा धेरै कुरा हामीले नै बुझेको थिएनौं । धेरै कुरा बिक्री प्रबन्धकहरुले समेत बुझेका थिएनन् । कतिपय कुरा नेप्से र सेबोनले पनि बुझेको थिएन । अब सबै प्रकृया थाहा पनि भयो ।

सुरुवातमा गोरेटो खन्ने काम गाह्रो हो । यो काम केही न केही गाह्रो हुन्छ भन्नेमा हामी मानसिक रुपमा तयार नै थियौं । बाटो खनेर एउटाले गाडी पुर्याइसकेपछि अब अरुले गाडी पुर्याउनका लागि धेरै सहज भएको अवस्था छ ।

बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गरेर बाँडफाँड समेत गर्नुभयो, संकलित रकम कहाँ–कहाँ खर्च गर्ने योजना छ ?

आईपीओबाट संकलित रकम सबैभन्दा पहिले हामीले अहिले सर्वोत्तम सिमेन्टले बैंक तथा वित्तीय संस्थाहरुसँग लिएको विद्यमान कर्जा भुक्तानीका लागि नै उपयोग गर्दछौं । सर्वोत्तम सिमेन्टले लिएको आवधिक कर्जाको दायित्व ४० करोड हाराहारीमा छ भने चालु पुँजी कर्जा ३ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासननबाट प्राप्त रकमबाट ऋण भुक्तानी गरेपछि एक अर्ब ५० करोड रुपैयाँ आसपास मात्रै ऋण बाँकी रहन्छ । त्यसपछि बाँकी रहेको रकम हामीले भर्खरै झापामा एउटा मान्सा सिमेन्ट भन्ने युनिट किनेका छौं । शतप्रतिशत लगानी रहेको त्यस कम्पनीलाई हामीले सर्वोत्तम सिमेन्ट इष्ट प्रालि भन्ने नाम दिएका छौं । त्यस कम्पनीको उत्पादकत्व क्षमता अभिवृद्धि गर्दै लैजान्छौं । केही मेसिनहरु थप कार्य प्रारम्भ नै गरिसकेको हुनाले त्यसमा समेत केही रकम लगानी गछौं ।

समग्र अर्थतन्त्र नै मन्दिमा रहँदा निर्माण क्षेत्र समेत नराम्ररी प्रभावित भएको अवस्था छ, चालु आर्थिक वर्षको ६ महीनामा सर्वोत्तम सिमेन्टको ब्यापार कस्तो छ ?

समग्र अर्थतन्त्र मन्दीमा रहेपनि सर्वोत्तम सिमेन्टको ब्यापार भने चालु आर्थिक वर्षको ६ महीना अवधिमा ३५ प्रतिशतले वृद्धि भएको अवस्था छ । त्यसमा दुईओटा कारण छ । एउटा कारण भारतमा गरिएको सिमेन्ट निर्यात नै हो भने अर्को कारण भने झापामा हामीले किनेको अर्को युनिटबाट दुई महीनादेखि त्यहाँ पनि हामीले क्लिङ्कर पठाएर ग्रान्डिङ्ग गरेर सर्वोत्तम सिमेन्ट इष्ट प्रालिबाट थालिएको उत्पादनले नै हो ।

नेपाल सरकारको खर्च गर्ने क्षमता कमजोर भएको, भएका ठेकेदारहरुले दुई वर्षसम्म भुक्तानी नपाएको अवस्था र पाएपनि काम नगर्ने मनस्थितिका कारण पनि समग्र बजारमा निर्माण क्षेत्र सुस्ताएको अवस्था छ । त्यसका अतिरिक्त बीचमा बढको बैंक ब्याज र ठूला जलविद्युत आयोजनको निर्माण रोकिएको थियो । अब हामीलाई आशा केछ भने हाल ब्याजदर घटिसकेकाले सरकारले पनि विकासमा खर्च बढाउनैपर्ने बाध्यताले पनि सामान्य अवस्था आउने आशा छ ।

सर्वोत्तम सिमेन्टले भारतमा कति सिमेन्ट निकासी गरेको छ ?

चालु आर्थिक वर्षको ६ महिनामा हामीले कुल ३०० करोड रुपैयाँ बराबरको ब्यापार गरेका छौं । त्यसको हाराहारीमा छ । त्यसमध्ये निकासीको हिस्सा ५० करोड रुपैयाँ माथि छ । हामीले गत साउन १ गतेबाट निकासी सुरु गरेका हौं । भारत सरकारबाट इन्डियन स्ट्याण्डर्डको स्वीकृति पाउनुपर्ने हुन्छ । हामीले त्यसको स्वीकृति पाउन ढिलाई भएकाले अन्य केही कम्पनीको दाँजोमा हाम्रो भारत निकासीको समय केही ढिला हुन पुगेको हो ।

आगामी दिनका लागि कस्तो ब्यापार रणनीति बनाएर अगाडि बढ्दै हुनुहुन्छ ?

हामीले हाल विद्यमान अवस्थामा सञ्चालित उद्योगहरुको कुल उत्पादन क्षमतालाई वृद्धि गर्नेमा केन्द्रित भएका छौं । त्यसका लागि उद्योगहरुमा उपकरणहरु थप गर्दैछौं । अन्य स्थानमा उद्योग स्थापनाका लागि हाम्रो आफ्नै क्लिङ्करको प्रयोग हुन्छ । सोही अनुसार भविष्यमा सुदूरपश्चिममा पनि उद्योग चलाउने योजना हामीले बनाएका छौँ ।

यसका लागि उपकरणहरु पनि थप्दैछौँ । यसबाहेक अन्य क्षेत्रमा पनि उद्योग खोल्ने र हाम्रो उद्योग आफैँले उत्पादन गरेको क्लिंकर प्रयोग गर्ने रणनीति छ । सुदूरपश्चिममा पनि एउटा प्लान्ट लगाउने योजना छ । अहिलेको स्थितिमा सिमेन्ट पिस्ने ग्रान्डिङ्ग युनिटहरु अफ्ट्यारो अवस्थामा छन् । किनभने, उहाँहरुले चलाउनै नसक्ने स्थितिमा छ । जसको आफ्नो क्लिंकर उत्पादन गर्ने उद्योग छ, उसले केही स्थानीय कच्चा पदार्थ प्रयोग गरेर आफ्नै उद्योगको क्लिंकर प्रयोग गरेर सिमेन्ट बनाउन सक्छ । यस्तो हुँदा उत्पादनको लागत कम हुन्छ र डेलिभरी गर्न समेत सहज हुन्छ ।

स्थानीय व्यक्तिहरुले वीरगञ्जमा फ्याक्ट्री किनेको खण्डमा वीरगञ्ज जाने वा कहाँ जाने भन्ने योजना अहिले गरिरहेका छौं । यो रणनीतिले बिक्री र मुनाफा दुबै बढाउँछ । अहिले तयार भएको कम्पनीहरु सस्तो मूल्यमा दिन तयार छन् । क्लिंकर नहुँदा केही उद्योगीहरुले चलाउनै नसक्ने अवस्था छ । अहिले आफैँ क्लिंकर उत्पादन नगर्ने युनिटहरु बिक्री गर्ने क्रम पनि बढिरहेको छ । अहिलेको अवस्थामा उनीहरुलाई ब्याकर्वाड इन्डिकेशन गर्न हजारौं करोड लागत लाग्छ । ५० करोड लगानी गरेर ग्रान्डिङ्ग युनिट लगाएको छ र थप १५ सय करोड खर्च गरेर क्लिंकर फ्याक्ट्रि लगाउनसक्ने अवस्था नै छैन। चुनढुंगाको समस्या पनि उस्तै छ। त्यस ठाउँमा पायक पनि पर्दैन । सिमेन्ट बजारको अवस्था सुध्रियो भने अन्य ठाउँमा समेत क्लिङ्कर बेस्ड युनिटहरु चलाउन भनेर धादिङ्गमा टेण्डरमार्फत एउटा खानी लिइसकेका छौं । त्यसमा केही साझेदारहरु पनि छन् । सुरुमा हामीले नै लिएपनि धेरै ठूलो लगानी लाग्ने र त्यसको पूर्ण उपयोग गर्न सकिन्नकि भनेर साझेदारीमा गएका हौं । अहिलेको बजारको अवस्थाका कारण धादिङ्गको युनिटलाई केही समय रोकेका छौं । हाम्रो योजना सिमेन्टमा थप उद्योग थप्ने नै छ ।

वित्तीय स्वास्थ्य राम्रो भएकै बुक बिल्डिङ्ग विधिबाट आईपीओ ल्याउनुभयो । प्रतिकित्ता ३६१ रुपैयाँ लगानी गरेका लगानीकर्ताले कति लाभांश पाउलान् ?

आजको दिनमा नै यति नै लाभांश दिन्छौं भनेर ठ्याक्कै भनेर भन्न सक्दैनौं । अहिले अर्धवार्षिक समय मात्र सकिएको हुनाले अहिले नै यतिसम्म दिन सक्छौँ भनेर प्रक्षेपण पनि गरेका छैनौं । कम्पनीको जगेडा कोषमा पुरानो रकम नै ३ अर्ब बढी पैसा रहेकाले ३० प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने अवस्था छ । यद्यपी अहिले नै हामीले डिभिडेण्डको कुनै योजना बनाइसकेका छैनौं । त्यसका लागि समय लाग्छ ।

आईपीओ निष्काशन गरेको एक वर्षमा नै लगानीकर्तालाई फेरि रकम थप गर्न हकप्रद जारी अभ्यास बढ्दो छ । तपाईहरुको योजना के छ ?

हामीले तत्काल हकप्रद सेयर निकाल्ने कुनै योजना छैन । सायद हामी हकप्रद सेयर जारी नै गर्दैनौं पनि होला । सिमेन्टको बजारको अवस्था नै राम्रो नभएको र ठूलो स्केलमा विस्तारमा जानुपर्ने र त्यसका लागि फण्ड नै छैन भने अथवा बैंक ऋणका कारण अप्ठेरो अवस्थामा भएका कम्पनीहरुले हकप्रद निकाल्ने हो । हामीलाई यो समस्या छैनौं । हाम्रो योजनामा हकप्रद छैन । लाभांश वितरणमा पनि हामीले समेसम्म नगद लाभांश नै वितरण गछौँ । हामीले बोनस सेयर वितरण गर्नेतिर पनि सोचेका छैनौं । तर, भोलिका दिनमा बोनस सेयर नै दिनुपर्ने भयो भने दिन पनि सकिएला । तर अहिले चाँही हामी कसरी नगद लाभांश दिने भनेर नगद आम्दानी बढाउनतिर लागेका छौं ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।