निर्जीबन बीमा कम्पनीहरुद्धारा पौने १४ अर्ब बीमा शुल्क संकलन

0
Shares

चालु आवको ६ महिनामा १९ निर्जीबन बीमा कम्पनीहरुले १३ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन्। यो रकम राष्ट्रिय बीमा कम्पनी बाहेक १९ कम्पनीको तथ्याङ्कमा आधारित रकम हो।

कूल २० निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेकोमा राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क यसमा समावेश छैन। बीमा कम्पनीहरुले अग्नी, मोटर, सामुन्द्रिक, हवाई, कृषि, इन्जिनियरिङ तथा अन्य क्षेत्रको बीमाबाट उक्त बीमा शुल्क आर्जन गरेका हुन्।

तथ्याङ्क अनुसार शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै (कूल बीमा संकलन रकमको १३.१६ प्रतिशत) १ अर्ब ८२ करोड २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने सानिमा जनरल इन्स्योरेन्सले सबैभन्दा थोरै (कूल बीमा संकलन रकमको १.३७ प्रतिशत) १९ करोड रुपैयाँ मात्र आर्जन गरेको छ।

चालु आव यता यस अवधिमा १२ लाख ५५ हजार ७९४ जना थप बीमाको दायरामा आएका छन् । यस अवधिसम्ममा निर्जीबन बीमा कम्पनीको एकीकृत पूँजीकोष १५ अर्ब ९० करोड रहेको छ भने ८७७ शाखा कार्यालयमार्फत ४ हजार ८७८ कर्मचारी मार्फत सेवा प्रदान गर्दै आइरहेका छन्।

चार बीमा कम्पनीद्धारा एक अर्ब माथि बीमा शुल्क आर्जन

बीमा समितिबाट उपलब्ध तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त) सम्ममा चार बीमा कम्पनीहरुले एक अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन्।  बाँकी १५ मध्ये ९ वटा कम्पनीले ५० करोड माथि र ६ कम्पनीले ५० करोभन्दा थारै बीमा शुल्क आर्जन गरेको तथ्याङ्कमा उल्लेख छ।

शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, नेको इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सले एक अर्बबढी बीमा शुल्क संकलन गरेका हुन्। एनजीएल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रिमियम इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स पु्रडेन्सियल इन्स्योरेन्स र दि ओरेिन्टयल इन्स्योरेन्सले ५० करोड रुपैयाँभन्दा बढी तथा एक अर्बभन्दा कम बीमा शुल्क आर्जन गरेका छन्।

नेशनल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सले भने यस अवधिमा ५० करोड रुपैयाँभन्दा थोरै मात्र बीमा शुल्क आर्जन गरेका छन्।

शिखर इन्स्योरेन्सले १ अर्ब ८२ करोड २० लाख रुपैयाँ, सगरमाथाले १ अर्ब २४ करोड, नेकोले १ अर्ब १६ करोड, सिद्धार्थले १ अर्ब ७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिको तथ्याङ्क रहेको छ।

यसैगरि एनजीएलले ९३ करोड, प्रभुले ८४ करोड, प्रिमियरले ८५ करोड, हिमालयन जनरलले ७० करोड, आइएमई जनरलले ६८ करोड, लुम्बिनी जनरलले ६२ करोड, नेपाल इन्स्योरेन्सले ६२ करोड, पु्रडेन्सियलले ६० करोड र ओरेन्टियलले ५९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

उता ५० करोडभन्दा कम बीमा शुल्क आर्जन गरेका नेशनल इन्स्योरेन्सले ४५ करोड, एभरेष्टले ४१ करोड, अजोडले ४१ करोड, युनाइटेडले ३६ करोड, जनरल इन्स्योरेन्सले २९ करोड र सबैभन्दा कम आर्जन गरेको सानिमाले १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो।
सञ्चालनमा आएका नयाँ इन्स्योरेन्समध्ये अजोडले पुरानो युनाइटेडभन्दा ५ करोड धेरै बीमा शुल्क संकलन गरेको हो । जनरल इन्स्योरेन्स, र सानिमा जनरल इन्स्यारेन्स भने पछाडि नै रहेका छन्।