वित्तीय प्रणालीको एक खर्ब ४१ अर्ब केन्द्रीय बैंकमा, जटिल बन्दै अधिक तरलता


नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न जटिल हुँदै गएको छ । बैंक वित्तीय संस्थाले ४ दिन अन्तरालमा खर्ब भन्दा धेरै स्थायी निक्षेप राख्न थालेपछि समस्या बढेको हो । 

केन्द्रीय बैंकले गत फागुन देखि वित्तीय प्रणालीमा न्यून तरलता हुँदा बैंक दर स्थायी तरलता सुविधा लिएजस्तै अधिक तरलताको अवस्थामा सिधै केन्द्रीय बैंकमा निक्षेप राख्न सकिने व्यवस्थाको सुरु गर्यो । केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी कार्यन्वयन गर्दे ब्याजदर र तरलता व्यवस्थापनका लागि स्थायी निक्षेपको सुरुवात गरेको हो । केन्द्रीय बैंकले स्थायी निक्षेपको सुरुवात गरेको केही समयपछि बैंक तथा वित्तीय संस्थाले खर्ब भन्दा धेरै पैसा उक्त उपकरणमा लगानी गर्न थालेका छन् । उक्त उपकरणमा लगानी गर्दा बैंक वित्तीय संस्थाले ३ प्रतिशत ब्याज पाउने भएकाले पनि लगानी बढाएका हुन सक्छन् । 

बैंकहरूले हरेक आइतबार र बुधबार मात्रै स्थायी निक्षेप राख्न पाउछन  अर्थात स्थायी निक्षेपको अवधि ४ दिनको हुन्छ । आइतबार मात्रै बैंकहरूले ९१ अर्ब ७० करोड रुपैयाँ बराबरको स्थायी निक्षेप राखेका छन । गत फागुन २४ गते केन्द्रीय बैंकले १४ दिन अवधिमा ५० अर्बको निक्षेप संकलन उपकरण मार्फत तरलता खिचेको थियो । अहिले केन्द्रीय बैंकसँग बैंक तथा वित्तीय संस्थाको एक खर्ब ४१ अर्ब ७० करोड रुपैयाँ बक्यौता पुगेको छ । केन्द्रीय बैंकले करिब डेढ खर्ब तरलता खिच्दा पनि अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल अर्थात २.७७ प्रतिशत कायम भएको छ । 

अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको मागमा कमी आएको छ । रेमिट्यान्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेपमा सुधार आइनै राखेको छ । निक्षेप बढेको भएपनि कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिको छ । न्यून तरलता हुदाँ आम्दानी गर्ने केन्द्रीय बैंकले पछिल्लो समयमा खर्च गरेर तरलता खिचेको छ । अर्थात ब्याज दिएर बैंकहरूमा अधिक रहेको तरलता खिच्दै आएको छ । 

आर्थिक गतिविधिमा आएको सुस्तता सँगै केन्द्रीय बैंकले अनुत्पादन क्षेत्रको लगानीलाई रोक्दा पनि वित्तीय प्रणालीमा अधिक तरलताको समस्या आएको हो । त्यसैगरी आयात उच्च हुन सक्ने जोखिमका कारण केन्द्रीय बैंकले अपेक्षा अनुसारको ब्याजदर नघटाउँदा पनि कर्जा लगानी विस्तार हुन नसक्दा अधिक तरलताको अवस्था सृजना भएको हो ।  

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।