नेपालबाट धेरै निर्यात हुने वस्तुको २१ औँ स्थानमा सिमेन्ट, निर्यात ८ गुणा बढ्यो

0
Shares

सिमेन्ट र क्लिंकरको निर्यात बढ्न थालेको छ । सरकारले सिमेन्ट निर्यातमा प्रोत्साहन गर्ने नीति लिएपछि चालु आर्थिक वर्षदेखि नै सिमेन्ट निर्यात बढ्दै गएको हो।

आयात र निर्यात दुवै घटिरहेको अवस्थामा सिमेन्ट निर्यात भने गत आवको आठ महिनाको अवधिको तुलनामा चालु आवमा ८ गुणाले बढेको हो । निर्यात बढेसँगै नेपालबाट धेरै निर्यात हुनेको वस्तुको सूचीमा सिमेन्ट २१ औँ स्थानमा रहेको छ । गत आर्थिक वर्ष सिमेन्ट निर्यातको सूचीको १०५ औँ स्थानमा थियो ।

चालु आर्थिक वर्ष (२०८०/८१) को आठ महिनामा साढे २ अर्ब रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्म २ अर्ब ४७ करोड १७ लाख रुपैयाँ बराबरको २२ लाख ९६ हजार ९७३ टन सिमेन्ट र क्लिंकर निर्यात भएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा ३० करोड ५५ लाख ४४ हजार रुपैयाँ बराबरको ४ लाख ४२ हजार ९९९ टन सिमेन्ट निर्यात भएको थियो ।

साउनदेखि फागुनमा १ अर्ब १८ करोड ८७ लाख २८ हजार रुपैयाँ बराबरको ३ लाख ९२ हजार ७ सय ४५ टन क्लिंकर (सिमेन्टको कच्चा पदार्थ) निर्यात भएको विभागले जनाएको छ । विभागका अनुसार १ अर्ब २८ करोड ३० लाख १४ हजार रुपैयाँ बराबरको १९ लाख ४ हजार २२८ टन तयारी सिमेन्ट निर्यात भएको छ ।

गत आर्थिक वर्ष ११ करोड १४ लाख २६ हजार रुपैयाँ बराबरको सिमेन्ट र १९ करोड ४१ लाख रुपैयाँको क्लिंकर निर्यात भएको थियो ।

सरकारले बजेटमार्फत सिमेन्ट निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेपछि २०७९ साउनदेखि निकासी सुरु भएको थियो ।नेपालबाट सिमेन्ट र क्लिंकर भारतमा मात्रै निर्यात हुने गरेको छ । नेपालमा ६५ सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन् ।

यता, सिमेन्टमा नेपाल आत्मनिर्भर हुँदै गएपछि आयातमा गिरावट आएको छ । चालु आर्थिक वर्षको आठ महिनामा २ करोड ९१ लाख २९ हजार रुपैयाँ बराबरको २ हजार ९७३ टन सिमेन्ट आयात भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ६२ गुणाले कम हो । गत आर्थिक वर्ष ६ करोड १२ लाख ४२ हजार रुपैयाँ बराबरको १ लाख ८४ हजार ९६५ टन सिमेन्ट आयात भएको थियो । नेपालमा पनि बिषेशगरी भारतबाट नै सिमेन्ट आयात हुने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।