वाणिज्य बैंकहरूको सेयरमा छैन आकर्षण, दश बैंकको सेयर मूल्य २ सय भन्दा तल

0
Shares

सेयर बजारमा सूचीकृत वाणिज्य बैंकहरुको सेयरमा पछिल्लो समयमा लगानीकर्ताको आकर्षण घट्दै गएको देखिएको छ । पुँजी बजारको नेतृत्वदायी क्षेत्र बैकिङमा लगानीकर्ताको आकर्षण नहुँदा समग्र बजार नै खुम्चिँदै गएको छ ।

पुँजी बजारको क्षेत्रमा सबैभन्दा धेरै सेयर हिस्सा ओगट्नेमा बैंक तथा वित्तीय संस्था रहेका छन् । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.३० प्रतिशत रहेको छ । जसमा वाणिज्य बैंकहरुको मात्रै २८ प्रतिशत हाराहारी रहेको छ ।

पुँजी बजारमा यति धेरै सेयर हिस्सा ओगटेको वाणिज्य बैंकको सेयरमा भने लगानीकर्तामा उत्साह आउन सकेको छैन । जसले गर्दा लामो समयदेखि समग्र नेप्से परिसूचक पनि दुई हजार विन्दुको वरपरमा घुमिरहेको छ । अन्य क्षेत्रका कम्पनीको सेयर मूल्य बढिरहँदा पनि वाणिज्य बैंकको सेयर मूल्य भने आईपीओ कै मूल्यमा पाउन सकिने अवस्थामा पुगेको छ । अन्य कम्पनीको तुलनामा निकै सुरक्षित र बजार प्रभावित नभइहाल्ने कम्पनीका रूपमा वाणिज्य बैंकलाई लिइने गरेपनि सेयर लगानीकर्ताको रोजाईमा भने वाणिज्य बैंकका सेयर पर्न सकेका छैनन् ।

चैत्र ८ गते बिहीबार नेप्से सूचक १५.३७ अंकले घटेर २०४८.५७ विन्दुमा रहदा वाणिज्य बैंकको सेयर ७.४० अंकले घटेको छ । नेप्सेमा रहेका १९ वाणिज्य बैंकमध्ये आधा बैंकको सेयरमूल्य दुई सयभन्दा तल झरेको छ । बिहीबारसम्मको तथ्यांक हेर्दा १० वाणिज्य बैंकको सेयरमूल्य प्रतिकित्ता दुई सय रुपैयाँ भन्दा कम छ।

नेप्सेका अनुसार सो दिनसम्म सबैभन्दा कम सेयरमूल्य कुमारी बैंकको रहेको छ । कुमारी बैंकको सेयर मूल्य १४० रुपैयाँ ६० पैसा छ । त्यस्तै प्रभु बैंकको १४३, लक्ष्मी सनराइजको १६१ रुपैयाँ ५० पैसा, नेपाल इन्भेष्टमेन्ट मेगाको १६३ रुपैयाँ, सिटिजन्सको १६३ रुपैयाँ ८० पैसा, माछापुच्छ्रेको १८२ रूपैयाँ, एनएमबिको १८६ रूपैयाँ १० पैसा, ग्लोबल आइएमई १८७ रूपैयाँ ३० पैसा, हिमालयनको १९३ रूपैयाँ र प्राइम बैंकको १९५ रुपैयाँ ९० पैसा रहेको छ ।

सबैभन्दा धेरै सेयर मूल्य हुने स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिकित्ता ५२० रुपैयाँ रहेको छ । त्यसपछि क्रमश एभरेष्ट बैंकको ५१३ रुपैयाँ १० पैसा, नबिलको ४५१ रूपैयाँ, एनआईसीएको ४१४ रूपैयाँ १० पैसा,नेपाल एसबिआईको बैंक २९२ रूपैयाँ ४० पैसा, सानिमाको २४० रूपैयाँ ६० पैसा, कृषि विकासको २३५ रूपैयाँ, सिद्दार्थ बैंककाे २३५ रूपैयाँ र नेपाल बैंकको २३५ रुपैयाँ ५० पैसा रहेको छ ।

यस अवधिमा ५०० माथि सेयर मूल्य हुने २ बैंक मात्र रहेका छन् । ५ बैंकको २०० माथि ३०० भन्दा तल रहेको छ भने दुई बैंकको सेयर मूल्य ४०० माथि ५०० रूपैयाँभन्दा तल रहेको छ ।

राष्ट्र बैंकले ल्याएको मर्जर नीतिले बैंकहरू मर्जरमा गएपछि पुँजी थपिएको हुँदा धेरै पुँजी भएका बैंकको सेयर मूल्य बढ्न नसक्ने मनोविज्ञानले लगानीकर्ताले अन्य समूहका कम्पनीमा लगानी बढाउदा यो क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्न नसकेको बजारका जानकारहरुको बुझाई छ । कुनै वेला वाणिज्य बैंक मात्रै ३२ वटा थिए । हाल वाणिज्य बैंकको संख्या घटेर १९ मा झरेको छ ।

बजार पुँजीकरण र वित्तीय सूचकका हिसाबले बलिया भए पनि पछिल्लो समय वाणिज्य बैंकका सेयर सबैभन्दा सस्तोमा खरिद बिक्री भइरहेका छन्। मर्जर तथा एक्विजिसनपछि वाणिज्य बैंकको संख्या अहिले २० मा झरेको छ। मर्जरपछिको व्यापार बढाउन नसक्दा पनि बैंकले आकर्षक लाभांश दिन सकेका छैनन्। कतिपयले लगानीकर्तालाई हात खालि नै राखेका छन्।

वाणिज्य बैंकहरूको पछिल्लो वित्तीय विवरणले पनि सेयर लगानीकर्तालाई निराश बनाएका छन । जसले गर्दा अपेक्षीत लाभांश नआउने अनुमानले पनि वाणिज्य बैंकका सेयर लगानीकर्ताको रोजाईमा पर्न नसकेका हुन । अर्कोतर्फ ठूला पूँजी भएका बैंकको सेयरमा सजिलै चलखेल गर्न नसकिने भएपछि अल्पकालिन र कारोबारी लगानीकर्ताले किनबेच कम गर्ने गरेकाले पनि सेयर मूल्य बढ्न नसकेको बुझाई जानकारहरुको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।