‘समस्यामा परेकालाई गाभेर ठूलो संस्था बनाउने ‘हुटहुटी’ ले काम गर्यो’ : CEO प्रभु बैंक

0
Shares

थाकखोलाबाट झरेका थकाली प्राय आफ्नो परम्परागत पेशामा नै रमाउन चाहन्छन्। चिटिक्क परेका घर तथा साँस्कृतिक विविधता उनीहरुको परिचय हो।

होटल व्यवसाय त्यसमा पनि स्वादिलो खाना खुवाउने भएकाले पनि सानो समुदाय भए पनि उनीहरुको आफ्नै शान र नाम पनि छ। भूपि शेरचनले देश विदेशमा चिनाएको मुस्ताङको थाकखोलालाई थकालीको पुस्तौनी थलोको रुपमा नै चिनिन्छ। होटल व्यवसायमा रमाउन नसक्ने लाहुर जान्छन् पैसा कमाउन।

सामूहिक भावनाका कारण उनीहरुले विगत लामो समयदेखि ढुकटी खेले र आर्थिक रुपमा सबैलाई सबल बनाउने लक्ष्यसमेत राखे। केहीले यसलाई अवैध पनि माने। ग्रामीण अर्थतन्त्रको विकासमा त्यसले महत्वपूर्ण योगदान दियो। एकाध बाहेक धेरै जसो थकाली सम्पन्न छन्, आर्थिक रुपमा। लाहुरे हुने र होटल व्यवसाय गर्न छाडेर अन्य पेशामा रमाउन खोज्ने थकाली कमै भेटिन्छन्। ती मध्येका एक हुनुहुन्छ, अशोक शेरचन।

लाहुरे हुने मोह त्याग्दा बैंक तथा वित्तीय संस्थाको प्रमुख हुने मेसो मिलेको हो, उहाँलाई। विसं २०२९ सालमा धौलागिरिको फेदमुनि बाग्लुङमा जन्मनु भएका शेरचनलाई शङ्करदेव क्याम्पसमा पढ्न आउनु नै सफलताको पहिलो खुट्किलो बन्न पुग्यो –‘नस्टाल्जिक’ हुँदै शेरचनले सुनाए।

बागलुङ बजार आफैँमा राम्रो र सुन्दर परिचय बोकेको स्थानका रुपमा परिचित छ। उत्तरतिर देखिने धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रेको छायाँले पनि धेरैलाई सफल बन्न प्रेरित गरिरहेको छ। शंकरदेवमा व्यवस्थापन विषय पढ्न बागलुङबाट काठमाडौं हान्निएको ठिटो आज प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत बनेको । “के यो सफलता होइन र ? मेरा लागि शेरचनले विगत सम्झे।

राष्ट्र बैंकका उच्च तहका कर्मचारी थिए, गोविन्दबहादुर थापा। नाताले अशोकको सानी आमाका बुढा (सानाबा), कालीगण्डकी तरेर काठमाडौं झरेको युवालाई बैंकर बन्न सुझाउने र प्रेरणा दिने उनै थापा थिए। साथीभाइले पनि सुनाए, नेपाल बंगलादेश बैंकमा जागिर खुलेको छ। खाने कि नखाने एउटा प्रश्न भने मनमा द्विविधाको रुपमा उभिएको थियो। तलब थियो, मात्र रु चार हजार ३००। यो कुरा सन् १९९५ को हो। परीक्षाका सबै चरण पूरा गरेर म बैंकिङ क्षेत्रमा प्रवेश गरेको हो।

नरेन्द्र भट्टराईले तातेताते गराएर बैंकका ल्याएको अशोक यतिखेर सक्षम र सवल बैंकरको रुपमा स्थापित छन्। “मेरो जागिथर खाने कुरा त थिएन, तर अकस्मात बैंकको जागिर भइयो। विदेश गएको भए राम्रै कमाइ हुन्थ्यो होला भन्ने शुरु शुरुमा त लाग्थ्यो। किनकी सेवा सुविधाका हिसाबले आकर्षक क्षेत्र थिएन त्यतिखेर”, शेरचनले सुनाए।

प्रभु फाइनान्सबाट शुरु भएको वित्तीय क्षेत्रको व्यवसाय यतिबेला प्रभु बैंकमा परिणत भएको छ। त्यसका पछाडि मेहनत, प्रतिबद्धता अनि लगनशीलताले काम गरेको छ। कुनै बेलाको सबल र सक्षम संस्थाको रुपमा चिनिएको ‘क’ वर्गको वाणिज्य बैंक किष्ट बैंक समस्यामा प¥यो। सम्हाल्न प्रभु समूह नै आइपुग्यो। यस्तै अर्को ग्राण्ड बैंक समस्याको भूमरीमा फस्यो, समाल्ने जिम्मेवारी प्रभु समूहले नै पायो। समस्यामा परेका बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभेर ठूलो संस्था बनाउने ‘हुटहुटी’ले नै काम ग¥यो।

समस्या भएकालाई लिँदा राम्रो गर्ने प्रेरणा मिल्दो रहेछ। राम्रा त राम्रा नै भए। नराम्रालाई राम्रो बनाउन सजिलो हुँदो रहेछ, बिजुली बजारमा रहेको प्रभु कम्प्लेक्सको छैटौं तलामा रासससँगको कुराकानीको सुरुवातमा प्रमुख कार्यकारी अधिकृत शेरचनले भने, “बैंक तथा वित्तीय संस्था गाभ्दा सकार र नकार दुवै प्रकारको परिणाम प्राप्त हुँदो रहेछ।” समस्यामा फसेका संस्था उद्धार गर्दा गर्दै सबल संस्थाको रुपमा प्रभु बैंक स्थापित भएको छ।

अराध्यदेव पशुपतिनाथको ठूलो आकारको तस्विर, जन्मथलो बागलुङको पोट्रेट गरिएको कलाकृति सहित आफ्नो कार्यकक्षमा रासससँको एकघण्टे संवादमा शेरचनले आफ्ना जीवनका पयो मात्रै खोलेनन्, समग्र बैंकिङ्क क्षेत्र, बैंकले दिएको सेवा तथा आफ्नो बैंकिङ्क करियर बारे पत्रसमेत खोल्ने प्रयास गरे।

निजी क्षेत्रको अग्रणी बैंकको रुपमा स्थापित प्रभु बैंकले डोल्पा, हुम्ला लगायत कर्णालीमा समेत शाखा विस्तार गरेर राज्यको आँखाभन्दा पर परेका दूर्गम बस्तीलाई राजधानीसँग जोडेको मिठो सफलताको कथासमेत उनले सुनाए। “सबै काम राज्यले मात्रै गर्छ भनेर सोच्नु पनि भएन नी, हामीले पनि केही न केही योगदान त गर्नैपर्छ”, शेरचनले भने, “एकले थुकी सुकी, सयले थुकी नदी भन्ने त हाम्रो लोकोक्ति नै छ नी ”

बिग्रिएकालाई जीवन

नेपालको बैंक तथा वित्तीय संस्था गाभ्नेमा प्रभु बैंक अग्रणी संस्थाको रुपमा स्थापित छ। समस्यामा फसेका, झण्डै-झण्डै अस्तित्व नै सकिन लागेका संस्थालाई प्राण भरेर, नयाँ जीवन दिएर, ती संस्थाका लगानीकर्ता बचाउने संस्थाको रुपमा अग्रपंक्तिमा नाम आउँछ, प्रभु बैंक। समस्यामा फसेका बैंक तथा वित्तीय संस्थालाई लिँदा कसरी राम्रो गर्ने भन्ने हुटहुटीले काम गर्दोरहेछ, शेरचन केही आशावादी देखिए।

समस्यामा फसेर प्रभुले जिम्मा लिएको तत्कालीन किष्ट बैंक र ग्राण्ड बैंकको डुबेको ऋण उठाउन आफूहरु आक्रामक रुपमा लागेको उनले सुनाए। हामीले खराब ऋणीलाई समय दियौं, उनीहरुसँग छलफल मात्रै गरेनौं, सम्झौता पनि ग¥र्यौं। सधैं त्यसरी सुविधा दिन सकिँदैन भन्ने निष्कर्षमा हामी पुगेका छौं”, शेरचनले भने।

प्रभु बैंकले अब रणनीति बदलेको छ। “धमाधम पूराना डुबेको र बिग्रिएका ऋण उठाउन लागि पर्ने योजना बनाएका छौं। किष्ट र ग्राण्डका समस्यामा परेका धेरै जसो ऋण उठिसकेको भए पनि अझै दुई अर्ब जति बाँकी छ। समस्यामा परेका संस्था लिँदा के होला, कस्तो होला भन्ने चिन्ता त अवश्य नै थियो”, उनले भने “तर, बिग्रिएका संस्था लिएर पनि सकरात्मक सन्देश दिन हामी धेरै सफल भएका छौं। जुन सकारात्मक सन्देश हाम्रा लागि चुनौतीपूर्ण यात्राको लागि एउटा कोशेढुंगा बनेर स्थापित भएको छ।”

बैंक विश्वासमा चल्ने संस्था हो। निक्षेपकर्तादेखि लगानीकर्ताको समेत विश्वासले त्यस्ता संस्था चल्छन्। सोही आधारमा प्रभु बैंकले खराब ऋणीलाई ऋण तिर्न प्रोत्साहन गरेको उनले सुनाए। “हामीले धेरै सहज वातावरण पनि बनाइदियौं, सोही वातावरणको उपयोग गरेर धेरैले तिरे पनि तर केहीले भने अझै अटेर गरेर बसेका छन्। उनीहरुप्रति अब हामी आक्रामक रुपमा प्रस्तुत हुन्छौं”, शेरचनले भने, “अब हामी खराब ऋण उठाउन कानूनी प्रक्रिया शुरु गर्छौंं।”

समस्यामा फसेको भनिएको किष्टमा भन्दा ग्राण्ड बैंकको जटिलता देखिएको प्रभु बैंकको बुझाई छ। डेढ दर्जनभन्दा बढी त्यस्ता ऋणी छन्। बैंकले त्यस्ता खराब ऋणीको ऋणको ‘प्रोभिजनिङ’ गरेको छ । शेरचनका अनुसार एउटै ऋणीको मात्रै ३० करोड बढी ऋण उठाउन बाँकी छ। जुन ऋण उठेको खण्डमा बैंकको मुनाफामा मात्रै नभइ ऋण लगानीमा समेत ठूलो राहत मिल्छ।

समस्यामा परेका संस्था स्याहार्दा शुरु शुरुमा त धेरै समस्या भोग्नुपरेको सुनाउँछन् शेरचन। खराब कर्जाको मात्रा बढी हुँदा राष्ट्र बैंकले पनि प्रश्न गर्ने अवस्था थियो। दुःखले सुख दिन्छ भने जस्तै भयो, प्रभु बैंकलाई। जोखिमको भूमरीमा फसेका किष्ट र ग्राण्डलाई जोगाएर ती बैंकका लगानीकर्तालाई हामीले ठूलो आड भरोसा दियौं भन्न पाउँदा गौरवको महसुस नै हुन्छ, शेरचन विगतमा फर्किए। उनले भने “ठूला समस्यामा परेका वाणिज्य बैंक गाभेर ठूलो जोखिम उठाएका थियौं। शुरुवाती चरणमा त हामीलाई निकै गाह्रो भयो, खराब कर्जाको मात्रा निकै उच्च थियो। व्यवसायको सम्भावना पनि असाध्यै कम थियो।”

अस्तित्व नै रहने कि नरहने भन्ने अवस्थाबाट उठेर हाल शीर्ष दशभित्र प्रभु बैंक पुगेको शेरचनको भनाई छ। “हिसाब किताबका आधारमा हामी शीर्षभित्र परेका छौं। कुनै संस्था समस्यामा प¥यो भने पनि त्यसलाई सबल र सुदृढ बनाएर लेजान सकिन्छ भन्ने हामीले सन्देश दिएका छौं। जुन हाम्रा लागि चुनौतीपूर्ण यात्रा त छँदै थियो, आज आएर हेर्दा गौरवपूर्ण इतिहास समेत भएको छ”, उनले भने, “सरकारी निकायले दिएका निर्देशन तथा नीति नियमलाई अक्षरशः कार्यान्वयन ग¥र्यौं भने पनि त्यसले सार्थक परिणाम दिन सक्छ भन्ने स्पष्ट भएको छ।”

बैंकको हाल खराब कर्जाको मात्रा ३.३२ प्रतिशत मात्रै छ। गत असोज मसान्तसम्मको हिसाब हेर्ने हो भने बैंकले ९१ अर्ब ६८ करोड ऋण प्रवाह गरेको छ। शेरचनका अनुसार समस्यामा परेका संस्थामा पनि ठूलो सम्भावना रहन्छ भन्ने स्थापित भएको छ। उनले भने “सबल र बलिया ठानिएका संस्था त आफैँ बलिया भइहाले नी, कमजोरलाई माथि उठाउन सकिन्छ भन्ने हामीले सन्देश दिएका छौं।”

शेरचनका अनुसार पहिलो कुरा समस्यामा परेका संस्था ‘मर्ज’ गर्दा आफ्नो नाम राख्न पाइन्छ। र, त्यतिमात्रै होइन, कतिपय बिग्रेका संस्थामा ठूलो सम्भावना पनि हुन्छ भन्ने हाम्रो सोच हो। बलिया त आफैं बलिया भइहाल्छन् नि। उनले नकारात्मक विरासत एकाध वर्षमा हट्ने र प्रभु बैंक नेपालको सबल बैंक बन्ने विश्वास व्यक्त गरे।

प्रभु बैंक सफल हुँदै जानुको पछाडिको भेद पनि खुलाए शेरचनले । “हामीले हरेक निर्णय सही समयमा छिटोछिटो गरेका छौं। कोही कसैले पनि आजको काम भोलि भनेर सारेका छैनौं। सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, तथा अन्य विभागीय प्रमुख तथा सबै कर्मचारीले इमान्दार प्रयत्न गरेका छौं”, उनले सुनाए, “यो सामूहिक काम हो। आज भोलि भनेनौं। तत्काल गर्नुपर्ने निर्णय तत्काल ग¥र्यौं। जुन हाम्रो सफलताको प्रमुख श्रेयका रुपमा स्थापित छ।”

यात्रा मर्जरकै 

सानो संस्थाबाट फैलँदै ठूलो संस्था बनेको प्रभु बैंकले अझै केही बैंक तथा वित्तीय संस्थालाई गाभ्ने रणनीति बनाएको छ। वार्षिक साधारण सभाले प्राप्ति गर्ने विषयलाई खुल्ला छाडेको छ। प्रमुख कार्यकारी अधिकृत शेरचन यो विषयमा भने केही कूटनीतिक देखिए। “सबल संस्था बनाउने यात्रामा निस्केपछि हामी केही न केही त गरिहाल्छौं नि ”, शेरचनले भने, “धेरैसँग छलफल चलिरहेको छ। निर्णय आउन समय त लाग्ला तर हामी छिट्टै अर्को एक वाणिज्य बैंक गाभ्ने प्रक्रियामा छौं।”

पछिल्ला दिनमा बजारमा प्रभु बैंकले नेपाल क्रेडिट एण्ड कमर्स बैंक गाभ्ने विषयले चर्चा पाएको छ। धेरै चरणमा दुई संस्थाबीच छलफल पनि भइसकेको छ। प्रभु बैंकको रणनीति के छ भने आफूभन्दा बलियो संस्थासँग गाभिएर आफ्नो पहिचान मेटाउने पक्षमा छैन। उसले प्राप्तिको लक्ष्यलाई केन्द्रमा राखेको छ। “त्यसका पछाडि पनि केही कारण छन्”, शेरचनले भने, “विगतमा किष्ट र ग्राण्डलाई लिँदा लामो समयसम्म शेयर कारोबार हुन पाएन। लगानीकर्तालाई मर्का प¥यो। सोही तथ्यलाई केन्द्रमा राखेर हेर्दा ‘एक्वायर’ मात्रै हाम्रा लागि उपयुक्त हुन सक्छ।” प्रभुले आफूभन्दा कमजोर क्षमता भएका अन्य बैंक तथा वित्तीय संस्थासँग पनि कुरा चलाएको सगौरव सुनाए।

किन प्रभु बैंक नै ?

वित्तीय कारोबार गर्न अरु धेरै बैंक तथा वित्तीय संस्था छन्। हाम्रो स्वभाविक प्रश्न थियो। “एउटा नेपाली नागरिक अरु बैंक छाडेर किन प्रभु बैंकमा आउने ?” यो प्रश्न सोध्दा शेरचनको मुहारमा एक प्रकारको सकारात्मक आशा देखियो ।

उनले आफ्नो बैंकको उपस्थिति उपल्लो मुस्ताङ, शे–फोक्सुन्डो, हुम्लाको खार्पुनाथमा समेत रहेको सुनाए। उनले अगाडि भने, “हामी शहरमा मात्रै होइनौं, ग्रामीण जो राज्यको आँखामा नपरेका स्थानमा समेत पुगेका छौं। ग्राहक बैंकमा होइन, बैंक ग्राहकमा जानुपर्छ भन्ने मान्यताका साथ हामीले काम गरेका छौं।” बैंक तथा वित्तीय संस्थामा एकै प्रकारका सुविधा उपलब्ध हुने भए पनि विप्रेषण भित्र्याउनेतर्फ अग्रणी संस्थाको रुपमा प्रभु नै रहेको छ।

हरेक गाउँका हरेक घरका कोही न कोही वैदेशिक रोजगारीमा गएकै छन्। उनीहरुले आफ्ना परिवारका लागि पठाउने विप्रेषणले मुलुकको अर्थतन्त्र मात्रै होइन, दूरदराजका नागरिकका चुल्हो समेत बलेका छन्। शेरचन भन्छन् “हामीले त्यो समुदाय र वर्गलाई समेत आफ्नो सञ्जालमा जोडेका छौं। जुन हाम्रो ठूलो सम्पत्ति हो।”

त्यसकारणले पनि आज हरेकको मन मतिस्कमा प्रभु बैंक ‘प्रभु’ बनेर स्थापित भएको छ। सङ्ख्यात्मक रुपमा पनि १२ लाख बढी ग्राहक भएको बैंक हो, प्रभु। सङ्ख्याले पनि ठूलो भूमिका खेल्छ व्यवसायमा। एक अर्कामा कारोबार गर्न पनि राम्रो र सजिलो बनाइदिन्छ। प्रभुमा गएपछि अन्यत्र जानै पर्दैन भन्ने मान्यता स्थापित छ। नेपालका सबै भागलाई बैंकिङ्ग सेवा तथा सुविधासँग जोडिएको छ। सहज रुपमा आफ्ना आफन्तले पठाएको पैसा आफ्नै गाउँघरमा पाउँदा को खुसी नहोला र ? शेरचनले भने, “हजारौं माइल टाढा रहेका आफ्ना आफन्तले पठाएको पैसा आउँदा दूरदराजका बासिन्दाको मुहारमा देखिने खुसीको मूल्य कति हुन्छ ? कुनै गणितले पत्ता लगाउन सक्ला र ?”

उनी भन्छन्– डोल्पाको शे–फोक्सुण्डोमा बैंकको शाखा खोल्न मात्रै हेलिकोप्टरमा सामान लैजाँदा ५० लाख खर्च भएको छ। त्यहाँबाट हामीले ठूलो व्यवसायको अपेक्षा पनि गरेका छैनौं। फाइदा पनि हुँदैन। त्यहाँका मासिनले पनि नेपालको अत्याधुनिक बैंकिङ्क सुविधा पाउन् भन्ने जिम्मेवारी बोधका कारण शाखा खोलेका हौं।

यो आर्थिक वर्षभित्र बैंकका शाखा खुलिसक्छ। राष्ट्र बैंकले तोकेभन्दा पनि धेरै ठाँउमा प्रभुले शाखा खोलेको छ। हामीले मासिक रुपमा एक हजार ५०० जति नयाँ बैंक खाता खोलेका छौं। सामाजिक सुरक्षा कोषका लागि एउटै शाखाले मात्रै पाँच हजार खाता खोले। वडा वडामा बैंकका शाखा खुलेका छन्। सामाजिक सुरक्षा भत्ता लिने सबै बैंकको पहुँचमा पुगेका छन्। सरकारलाई महिला, दलित, आदिवासी, जनजातिको पक्षमा काम गर्न सहज रुपमा तथ्याङ्क प्राप्त हुने अवस्थामा पुगेको छ। एउटै ‘क्लिक’मा हेर्न सकिने अवस्थामा पुगेको छ।

“वार्षिक दुई लाख खाता खोल्ने लक्ष्य लिएका छौं। हामीले शून्य लगानीमा बैंकका केहीमा दोहोरोपना पनि आएको छ। नेपालभर ६० प्रतिशत बढी खाता खुलेको छ। अन्य बैंकका गरी १५ लाख जति नयाँ खाता खुलिसकेको छ”, उनले भने।

सामाजिक सुरक्षा कोषमा सहभागी हुन केही कानूनी जटिलता देखिएको छ। कतिपय बैंक सहभागी पनि भए । भएका कतिपय कुरामा केही प्रष्टताको जरुरी रहेको उनको भनाई छ। कुनै सोचमा लगानी गर्ने कि नगर्ने भन्ने अवस्था छ। राष्ट्र बैंकले नीतिगत प्रष्टता गरिनु जरुरी छ। बैंक पनि व्यापार गर्न गरेको संस्था हो। जानीजानी जोखिम हुने क्षेत्रमा त लगानी गरिँदैन। नयाँ कुरा आयो, चल्छ कि चल्दैन भन्ने कुरा हेर्नुपर्छ। सरकारले सुरक्षा दियो भने लगानी गर्न समस्या होइन, बैंकले लगानी नगरेका होइनन्, गरेका छन्।

ओशोले दिएको नाम ‘प्रभु ‘

कुराकानीको क्रममा हामीले सोध्यौं प्रभु नाम कसरी राखियो ? शेरचन केही समय मुस्कुराए। प्रभु समूहका अध्यक्ष हुन् देवीप्रकाश भट्टचन, ओशोका अनुयायी। ओशोले आफ्ना सबै अनुयायीलाई अर्कै नाम दिन्थे।

पोल्ट्री व्यवसायमा नाम कमाएका गुणचन्द्र विष्टलाई ओशोले स्वामी कृष्ण भारतीको नाम दिएका थिए। देवीप्रकाशलाई ओशोले दिनुभएको नाम थियो प्रभु शरणम्। देवी नाम भएकाले पनि त्यस्तो उपनाम दिएको आफूलाई अध्यक्षले सुनाएको शेरचनले बताए।

छोटो पनि छ नाम। जनजिब्रोमा सहजै झुण्डिने खालको छ। सुख–दुःखमा पनि मिल्ने, ‘प्रभुको जय होस्’ भन्न पनि मिल्ने भएकाले प्रभु नाम रहन गएको हो। थकाली समुदाय सामूहिकतामा विश्वास गर्छन्। सामाजिक रुपमा समान हुनुपर्छ भन्दै आर्थिक रुपमा कमजोर भएकालाई माथि तान्ने प्रयास गर्छन् । व्यवस्थित रुपमा बस्नुपर्छ भन्ने उनीहरुको मान्यता छ। “मलाई पनि बेला बेलामा सोही मान्यताले काम गर्छ, किनकी थकालीको रगतमा नै सामूहिकताको भावना बगेको हुन्छ” शेरचनले आफ्नो समुदायप्रति गौरव गर्दै भने, “सोही भावनाले गर्दा राम्रो प्रस्ताव लिएर आउनेलाई हामीले सहज रुपमा ऋण दिएर उद्यमी बनाएका छौं।”

विगतमा बैंकमा जागिर खाने कुरा सजिलो थिएन। आफ्ना दिन सम्झे, उनले । तर, अहिले बैंकमा आउने नयाँ कर्मचारी ‘हाइटेक’ खालका छन्। “उनीहरु छोटो बाटोबाट अगाडि बढ्न खोज्छन्। छोटो बाटोले सफलता त देला तर टिकाऊ भने हुँदैन”, उनले अनुभव सुनाए। “नयाँ पुस्ता गहिराईमा जान खोज्दैनन्। उनीहरुमा कुनै भावना छैन। कुनै लगाव पनि छैन, यसलाई भने हामी सबैले मिलेर सुधार गर्नुपर्छ”, उनले भने।

सोच: राजनीतिमा होमिने

शेरचनको कार्यकाल अब तीन वर्ष बाँकी छ। बैंकले अन्य संस्थालाई प्राप्ति तथा गाभेको अवस्थामा थप केही समय उनले बैंकको नेतृत्व सम्हाल्ने मौका पाउँछन्। बैंकको जागिर सकिएपछि के गर्ने सोचमा होलान् शेरचन। आम मानिसको मनमा एक प्रकारको जिज्ञासा स्वभाविक छ। हामीले पनि उनलाई सोध्यौं, आगामी दिनमा के गर्नुहुन्छ ? उनले एकदैम सहज उत्तर दिए “अब म राजनीतिमा जाने सोचमा छु।”

बाग्लुङ वा देशका जुनसुकै स्थानबाट भए पनि राजनीति गर्ने इच्छा पलाएको छ, शेरचनलाई। सामाजिक रुपमा परिवर्तन ल्याउने एउटा ठूलो माध्यम भनेकै राजनीति हो। राजनीति सबैं नीतिको पनि नीति हो। “म बैंकको उच्च तहमा पुगिसकेँ। शून्यदेखि सिकेर आज यो तहसम्म आइपुग्दा धेरै कुरा जानेको छु। यो ज्ञान र अनुभवलाई देश सेवामा लगाउने सोच छ” उनले भने।

नीति निर्माणमा जान पाइयो भने अझै ठूलो क्षेत्रमा सेवा दिन सकिन्छ भन्ने आफूलाई लागेको उनले सुनाए। यसलाई तपाईं लोभ पनि भन्न सक्नुहुन्छ वा अरु केही, शेरचनले कुराको बिट मार्दै भने, “म सानाभन्दा साना कामलाई पनि अगाडि बढाउनुपर्छ भन्ने सोच राखेर अगाडि बढ्ने गरेको छु। मलाई आगामी दिनमा पनि सफल बनाउनेछ।”