सर्वोत्तम सिमेन्टको आईपीओ परेका लगानीकर्तालाई ६ दिनमा १७३% नाफा

0
Shares

सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) हात पारेका लगानीकर्ताले सेयर कारोबार सुरु भएको ६ कारोबार दिनमा १७२.८२% नाफा कमाएका छन् । कम्पनीको आईपीओ पाएका लगानीकर्ताले यस अवधिमा ३१ हजार १८५ रुपैयाँ नाफा कमाएका हुन् ।
बुधबार कम्पनीको सेयर ५७० ओटा कारोबारबाट २२ हजार ८८५ कित्ता सेयर २ करोड २५ लाख २५ हजार १६१ रुपैयाँ ८० पैसामा खरिद बिक्री भएका छन् । बिहान ८९५ रुपैयाँ १० पैसामा कारोबार खुला भएको कम्पनीको सेयर प्रतिकित्ता ९८४ रुपैयाँ ६० पैसा पुगेको छ । कम्पनीको सेयर बुधबार १० प्रतिशत अर्थात ८९.५० रुपैयाँले बढेको हो ।

प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आईपीओ निष्कासन गरेको कम्पनीको सेयर ५५ हजार ४९५ जनाले ५० कित्ता र २६ जनाले ५१ कित्ता आईपीओ हात पारेका थिए । यसअनुसार १८ हजार ४५ रुपैयाँको लगानीको सेयरको भ्यालू बुधबारसम्ममा ४९ हजार २३० रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जमा ६० लाख कित्ता आईपीओ सहित सर्वोत्तमको कुल ४ करोड ६५ लाख कित्ता सेयर चैत ५ गते सोमबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले न्यूनतम १८५.३६ देखि ५५६.०८ रुपैयाँसम्मको ओपनिङ कारोबार रेञ्ज प्राप्त गरेको थियो । चैत ६ गते मंगलबारदेखि कारोबार भएको सुरुवाती मूल्य नै ५५६ मा कारोबार सुरु भएको थियो । चैत ६ गते मंगलबारदेखि चैत १४ गते बुधबारसम्म हरेक दिन सकारात्मक सर्किट लाग्दै आएको छ । मंगलबार २४४२ कित्ता कारोबार भएको कम्पनीको सेयर बुधबार २२५६, बिहीबार ७३०५, सोमबार २६ हजार ८८५ कित्ता, मंगलबार २८ हजार ७५३ कित्ता र बुधबार २२ हजार ८८५ कित्ता सेयर कारोबार भएको छ ।

S.N. Date Open High Low Ltp % Change Qty Turnover
1 27/03/2024 913.00 984.60 913.00 984.60 10.00 22,885.00 22,525,161.80
2 26/03/2024 830.00 895.10 830.00 895.10 9.99 28,753.00 25,721,611.90
3 25/03/2024 754.60 813.80 754.60 813.80 9.99 26,885.00 21,870,866.30
4 21/03/2024 686.10 739.90 686.10 739.90 9.99 7,395.00 5,466,902.50
5 20/03/2024 619.70 672.70 619.70 672.70 9.99 2,256.00 1,512,576.80
6 19/03/2024 556.00 611.60 556.00 611.60 10.00 2,442.00 1,479,468.10
Total   90,616.00 78,576,587.40

पहिलो पटक बुकबिल्डिंग विधि मार्फत आईपीओ ल्याएको कम्पनीले सार्वसाधारणबाट उत्साहजनक सहभागिता पाएको थियो । जसले आईपीओ बाँडफाँडका लागि योग्य आवेदक संख्या ९ लाख ५८ हजार ९५९ जना पुगेको थियो भने १३४२ ओटा आवेदन रद्द भएका थिए । अधिक आवेदनका कारण कुल आवेदकमा १८ जनामा १ जनाले मात्र कम्पनीको आईपीओ सेयर हात पारेका थिए ।

सर्वोत्तमले कुल जारी पुँजी ४ अर्ब ६५ करोडको १२.९०३३ प्रतिशतले हुन आउने कुल ६० लाख कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताहरूलाई र बाँकी ३६ लाख कित्ता कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार, म्युचुअल फन्ड, आयोजना प्रभावित स्थानीय बासिन्दा र आम सर्वसाधारणका लागि बिक्री खुला थियो । योग्य संस्थागत लगानीकर्तालाई प्राथमिक सेयर निष्कासन गर्दा ४०१ रुपैयाँ ‘कटअफ प्राइस’ निर्धारण भएपछि आम लगानीकर्ताहरूको लागि १० प्रतिशत छुट दिई ३६० रुपैयाँ ९० पैसामा आईपीओ बिक्री खुला गरेको थियो ।

सन् २०१० मा सौरभ ग्रुपको ब्यानरमा स्थापना भएको कम्पनीले सन् २०१४ फेब्रुअरीदेखि अत्याधुनिक युरोपेली उत्पादन विधिहरू प्रयोग गर्दै सञ्चालन सुरु गरेको थियो । काठमाण्डौबाट करिब २४० किलोमिटर टाढा नवलपरासीको सुनवलमा रहेको सर्वोत्तमको कारखानाले ३० विघा जमिन ओगटेको छ । उद्योग रहेको कम्पनीको न्यौपाने टावर, तिनकुने, काठमाडौंमा मुख्य कार्यालय छ । नेपालको पहिलो पटक रोलिङ्ग मिल ल्याएको कम्पनीले ऊर्जा खपतलाई ५०% सम्म घटाउँदै देशभित्रै वातावरणमैत्री सिमेन्ट उत्पादनमा पहिचान बनाएको छ ।

सर्वोत्तम सिमेन्टले उत्कृष्ट बजार कार्यसम्पादन देखाउँदै बजारको अपेक्षालाई पूरा मात्र गरेको छैन । कारोबार सुरु भएको दिनमा पहिलो दिनको मूल्यको तुलनामा सर्वोत्तमले ६ कारोबार दिनमा ४२८.६० रुपैयाँ अर्थात ७७.०८% को प्रभावशाली बजार मूल्य वृद्धि भएको छ । यसर ियस अवधिमा आईपीओको सेयर सुरक्षित गर्न भाग्यशाली लगानीकर्ताहरूले ६ दिनमा कुल ६२३ रुपैयाँ ७० पैसा अर्थात १७२.८२% नाफा कमाएका छन् । ६ दिनको अवधिमा कुल २ हजार ३०९ ओटा कारोबार सङ्ख्या मार्फत ९० हजार ६१६ कित्ता सेयर ७ करोड ८५ लाख ७६ हजार ५८७ रुपैयाँ ४० पैसामा खरिद बिक्री भएका छन् । यस आधारमा सर्वोत्तमको सेयर औसत ८६७ रुपैयाँ १४ पैसामा खरिद बिक्री भएको देखिन्छ ।

विष्णुप्रसाद न्यौपाने कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेको कम्पनीमा मिना कुमारी अग्रवाल, टीकाराम न्यौपाने, दिवास न्यौपाने, तेन्जिङ लिक्देन तामाङ निर्देशक छन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सीए सन्तोष केसी छन् भने संस्थागत बिक्री प्रमुखमा इञ्जिनियर अभिषेक झा, गोपाल सारडा (मार्केटिङ एण्ड ब्रान्ड हेड), नेत्र घिमिरे (प्रशासन प्रमुख, कारखाना) र सुरेन्द्र महासेठ ( इलेक्ट्रिकल र इन्स्ट्रुमेन्ट इन्जिनियर प्रमुख) र नवराज पौडेल कम्पनी सचिव छन् ।

प्रति दिन ३००० टन उत्पादन क्षमता रहेको उद्योगबाट उत्पादनहरू ४३ र ५३ ग्रेड ओपीसी र पीपीसी सिमेन्ट उत्पादन हुँदै आएको छ ।कम्पनीसँग २ हजार ४०० क्लिंकर वितरण नेटवर्क, उत्पादन क्षमता ५० किलोका ६० हजार बोरा प्रतिदिन रहेको छ । कम्पनीको कुल वार्षिक कारोबार (आम्दानी) ५.३८ अर्ब रुपैयाँ छ । प्रति सेयर आम्दानी वार्षिक ५ रुपैयाँ १३ पैसा र प्रति सेयर नेटवर्थ १८५ रुपैयाँ १९ पैसा छ । यस्तै ७.५ अर्ब कुल इक्विटी रहेको कम्पनीसँग ५.७६ अर्ब कुल ऋण दायित्व छ भने ऋण र इक्विटी अनुपात ०.७६ छ । यस्तै लगानी ५५.६ करोड, सामग्रीको लागत १.०८ अर्ब, जगेडा कोष तथा बचतमा ३ अर्ब ४५ करोड रुपैयाँ सञ्चित रहेको छ ।

ऋणतर्फ प्राइम कमर्सियल बैंकलाई १ अर्ब, नेपाल बैंकलाई ८७ करोड ५० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई १८ करोड ६८ लाख र प्रभु बैंकलाई १७ करोड ५५ लाख भुक्तानी गर्न बाँकी छ । यस्तै कम्पनीले विद्युत प्राधिकरणलाई तिर्न बाँकी विद्युत खपत वापतको भुक्तानी ७३ करोड २२ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।