सरकारले सहुलियत नदिँदा खेतबारी बाँझै, आठ महिनामा साढे ९ अर्बको फलफूल आयात

0
Shares

स्वदेशमा उत्पादित फलफूलले बजार नपाइरहेको अवस्थामा बाहिरी मुलुकबाट भने अर्बौ रुपैयाँको फलफूल आयात हुने गरेको छ । चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) सम्म मात्रै ९ अर्ब ५४ करोड ७० लाख ३० हजार रुपैयाँ बराबरको फलफूल आयात भएको छ । स्याउ, सुन्तला, केरा, अंगुर र नाशपाती गरी उक्त रकम बराबरको फलफूल आयात भएको भन्सार विभागले जनाएको छ ।

मुलुकको आर्थिक क्षेत्रमा कृषिको योगदान रहेता पनि अझै कूल कृषियोग्य जमिनमध्ये धेरै जमिन बाँझो नै छ । कृषियोग्य कूल भूभागको थोरै भूभाग मात्र सही र ब्यवस्थित उपयोग गर्नसके कृषिजन्य उपभोग्य वस्तुमा आत्मनिर्भर हुने अवस्था ल्याउन सकिने कृषि विज्ञहरुले बताएका छन् ।

सरकारले फलफूल आयात नियन्त्रण गर्न सके अर्बौ रकमले नेपालको अर्को क्षेत्रमा विकास गर्न सकिने कृषि अर्थ विज्ञ कृष्ण पौडेल बताउँछन् । नेपालमा उत्पादन गरेर छिमेकी मुलुकहरु चीन र भारतमा मात्रै निर्यात गनै सकिए नेपालले त्यहाँबाट राम्रो फाइदा लिन सक्ने उनको भनाइ छ । “नेपालमा के छैन र ?फलफूललाई सुहाउने हावापानी छ, बाँझो जमिन प्रशस्त मात्रामा छ,” कृषि विज्ञ पौडेल भन्छन्, “सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिने हो भने हामीले फलफूल आयात होइन, निर्यात गर्न सक्छौँ ।”

नेपालमा नै उत्पादन हुने फलफूल बाह्य देशबाट अर्बौको आयात हुनु राम्रो नभएको बताउँदै उनले सरकाले नेपालमा कृषिमा सहुलियत दिए फलफूल क्षेत्रको विकास हुने बताए ।

नेपालले आठ महिनामा ५ अर्ब ५० करोड ४७ लाख ३९ हजार रुपैयाँ बराबरको स्याउ आयात गरेको छ । नेपालले आठ महिनाको अवधिमा ५ करोड ४८ लाख ८ हजार २३१ किलो स्याउ आयातमा उक्त रकम खर्चिएको हो ।यस्तै नेपालले साउनदेखि फागुनसम्म १ अर्ब १४ करोड ७६ लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ४१ लाख ६० हजार ५८३ किलो अंगुर आयात भएको छ ।

यसैगरी, आठ महिनाको अवधिमा १ अर्ब १० करोड २ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ५५ हजार ८० किलो सुन्तला आएको विभागले जनाएको छ ।

उता, १ अर्ब १७ करोड ६६ लाख २३ हजार रुपैयाँ बराबरको २ करोड ८१ लाख ८२ हजार ९८८ केजी केरा आयात हुँदा २२ करोड २९ लाख ३ हजार रुपैयाँ बराबरको २ लाख १० हजार ९३६ केजी नासपाती आयात भएको छ ।यस्तै, आँप भने ३९ करोड ४८ लाख २६ हजार रुपैयाँ बराबरको ३ लाख ८५ हजार ३७८ किलो आयात भएको छ ।

सुदुरपश्चिममा उत्पादित स्याउलाई मात्रै बजारिकरण गर्न सकियो भने स्याउ आयात केही हदसम्म रोक्न सकिने पौडेलको भनाइ छ । यस्तै, धेरै समय सञ्चित गर्न नसकिने फलफूलहरु पनि भण्डारण गनए सकियो भने त्यसबाट राम्रो फाइदा लिन सकिने उनको तर्क छ ।

चालू आवको पहिलो आठ महिनामा मुलुकले उपभोग्य वस्तुको आयातमा अर्बौं रकम खर्चिएको छ भने नेपालमै उत्पादन गर्न सकिने कृषि उपजसमेत अत्याधिक आयात भइरहेका छन् । धान, मकै, कोदो, गहुँ जस्ता प्रमुख खाद्यबालीका साथै फलफूल आयातमा अर्बौं रकम विदेशिने गरेको छ ।

यता, सरकारले अनुदान नदिदाँ उत्पादन कम भएको अवस्थामा किसानले उत्पादन गरेको फलफूलले पनि उचित मूल्य पाउन सकेको छैन । सरकारले सिजनको फलफूललाई भण्डारण गर्न नसक्दा उत्पादित फलफूल कुहिएर जाने गरेको छ भने भण्डारण गरिएको फलफूल पनि तापक्रम नमिल्दा कुहिएर जाने गरेको छ । फलतः किसान आफ्नो उत्पादन सुरुमै सस्तोमा बेच्न विवश हुन्छन् । यसरी बेच्दा किसानले मूल्य पाउँदैनन् । अनि कृषि जनशक्ति यस क्षेत्रबाट पलायन हन बाध्य भइरहेका छन् ।

तर, सरकार भने कृषि क्षेत्रलाई प्राथमिकता दिन र उत्पादित सामान खेर जान नदिन चिस्यान केन्द्रको स्थापनामा जोड दिएको दाबी गर्दै आएको छ । किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुका साथै अनुदान लगायतका विषयमा पनि पटक पटक छलफल गर्दै आएको लुम्बिनी प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी यूवराज ढकालले बताए ।

खेतीयोग्य जमिन प्रशस्त भएतापनि कृषकहरु त्यतातिर आकर्षित नभएको भन्दै अब आकर्षित योजना ल्याउने पहल भइरहेको उनले बताए ।

एक महिनामा दुई अर्बको फलफूल आयात

नेपालले एक महिनामा दुई अर्ब १७ करोड ९७ लाख ७२ हजार रुपैयाँ बराबरको फलफूल आयात गरेको छ । भन्सार विभागका अनुसार नेपालले फागुनमा मात्रै उक्त रकम बराबरको फलफूल (स्याउ, सुन्तला, केरा, अंगुर र नाशपाती) आयात गरेको हो ।

जसमध्ये एक महिनामा सबैभन्दा धेरै अंगुर आयात भएको छ । फागुनमा १ अर्ब ३ करोड ७७ लाख २१ हजार रुपैयाँ बराबरको अंगुर आयात भएको छ ।

दोस्रो धेरै आयात हुने फलफूलमा स्याउ रहेको छ । फागुनमा ४६ करोड ६५ लाख ५७ हजार रुपैयाँको स्याउ आयात भएको छ ।  तेस्रो स्थानमा सुन्तला रहेको छ । उक्त अवधिमा ३७ करोड ८५ लाख ९० हजार रुपैयाँ बराबरको सुन्तला आयात भएको विभागले जनाएको छ ।

चौथो स्थानमा केरा छ । एक महिनामा २७ करोड ५५ लाख ८९ हजार रुपैयाँ बराबरको केरा आयात भएको छ । यस्तै, फागुन महिनामा ९४ लाख ४८ हजार रुपैयाँ बराबरको आँप आयात भएको छ ।

फलफूल खेतीको क्षेत्रफल बढ्यो

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार फलफूल खेतीको क्षेत्रफल सामान्य बढेको छ । अघिल्लो आर्थिक वर्ष (२०७८/७९)मा १ लाख २९ हजार ५३२ हेक्टर क्षेत्रफलमा फलफूल खेती भएको थियो । जुन आर्थिक वर्ष (२०७७/७८) को तुलनामा ७९९ हेक्टरले बढी हो । आर्थिक वर्ष (२०७७/७८) मा १ लाख २७ हजार ७३३ हेक्टर क्षेत्रफलमा फलफूल खेती भएको छ । यस्तै, आर्थिक वर्ष (२०७६/७७) मा भने १ लाख १९ हजार २५ हेक्टर क्षेत्रफलमा मात्र फलफूल खेती भएको थियो ।

मन्त्रालयको तथ्यांकले क्षेत्रफल मात्र नभई उत्पादनमा पनि वृद्धि भएको देखाएको छ । अघिल्लो आर्थिक वर्ष (२०७८/७९)मा १४ लाख १६ हजार ७५० मेट्रिक टन फलफूल उत्पादन भएको छ । जुन आर्थिक वर्ष (२०७७/७८) को तुलनामा ६० हजार ५३२ मेट्रिक टनले बढी हो । आर्थिक वर्ष (२०७७/७८) मा १३ लाख ५६ हजार २१८ मेट्रिक टन फलफूल उत्पादन भएको छ । यस्तै, आर्थिक वर्ष (२०७६/७७) मा भने १२ लाख ४९ हजार ७६४ मेट्रिक टन मात्र फलफूल उत्पादन भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।