हकप्रदबाट न्यूनतम चुक्ता पुँजी पुर्‍याउँदै चार बीमा कम्पनी

0
Shares

बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेसँगै चार ओटा बीमा कम्पनीले हकप्रद बिक्री गरेर सो चुक्ता पुँजी कायम गर्ने प्रकृया अगाडि बढाएका छन् ।

बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले हालको पुँजीले जोखिम धान्न नसक्नै भन्दै पुँजी वृद्धिको निर्णय लिएको थियो । हाल न्यूनतम चुक्ता पुँजी तोकेको प्राधिकरणले भविष्यमा जोखिममा आधारित रहेर पुँजी कायम गर्नुपर्ने बताउँदै आएको छ । हाललाई प्राधिकरणले जीवन बीमा कम्पनीलाई न्यूनतम ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । सोही अनुसार चार कम्पनीले हकप्रद बिक्रीबाट पुँजी कायम गर्ने भएका हुन् । यसरी हकप्रद मार्फत पुँजी कायम गर्ने प्रकृयामा अगाडि बढेका कम्पनीमा दुई जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनी रहेका छन् ।

हकप्रद निष्कासनका लागि बोर्डको पाइपलाइनमा रहेका ४ बीमा कम्पनीहरुमा जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र प्रभु महालक्ष्मी लाइफ तथा निर्जीवन बीमातर्फ एनएलजी इन्स्योरेन्स र नेको इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । चारवटा कम्पनीहरुले कुल ४ अर्ब ५४ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेका हुन् । हकप्रद निष्कासनको लागि चार बीमा कम्पनीले हकप्रद निष्कासनको अनुमति माग्दै पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

एलआइसी नेपाल

जीवन बीमातर्फ एलआइसी नेपालले कायम चुक्ता पुँजीको ८८ प्रतिशत हकप्रद जारी गर्न अनुमति मागेको छ । सो कम्पनीले १ः०.८८४५ अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासनको लागि २०८० असोज २९ गते बोर्डमा निवेदन दिएको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रदपश्चात् कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड ठमेल रहेको छ ।

प्रभु महालक्ष्मी लाइफ

नियामकले तोकेको पुँजी कायम गर्न प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २०८० फागुन २२ गते बोर्डसँग चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद बिक्रीको लागि अनुमति मागेको छ । कम्पनीले १ः०.१७ अनुपातमा ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको ७३ लाख ३ हजार २०० कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । हकप्रदपश्चात् कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल रहेको छ ।

एनएलजी इन्स्योरेन्स

निर्जीवन बीमातर्फ एनएलजी इन्स्योरेन्सले चुक्ता पुँजीको ६६ प्रतिशत हकप्रद निष्कासनको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले २०८० कार्तिक २ गते १०ः६.६ अनुपातमा ९६ करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९१ रुपैयाँ छ । कम्पनीको हकप्रद बिक्रीपछि २ अर्ब ४२ करोड २३ लाख ९७ हजार ८१३ रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

कम्पनीको गत आवको मुनाफाबाट ५.५० प्रतिशतले हुन आउने ८ करोड २ लाख ६० हजार १७० रुपैयाँ बोनस सेयरपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८३ रुपैयाँ पुग्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड कमलपोखरी रहेको छ ।

नेको इन्स्योरेन्स

बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी कायम गर्न नेको इन्स्योरेन्सले चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले २०८० चैत६ गते १ः०.२५ अनुपातमा ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो ।

कम्पनीको हालको चुक्तापुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६२० रुपैयाँ छ । हकप्रदपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४लाख ५० हजार ७७५ रुपैयाँ पुग्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

यसरी नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा हालसम्म चार बीमा सहित कुल १३ ओटा कम्पनीले ६ करोड २१ लाख ४१ हजार २४५ कित्ता हकप्रद सेयर निष्कासन अनुमतिको पर्खाइमा छन् । बोर्डमा अध्यक्ष पद रिक्त हुँदा तीन महीनायता हकप्रद सहित सबै सार्वजनिक निष्कासन प्रक्रिया रोकिएको अवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।