धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाको बजार पुँजीकरण हिस्सा ५८ प्रतिशत

0
Shares

नेपालको पुँजी बजारमा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.७ प्रतिशत रहेको छ । सूचीकृत कुल २७१ ओटा कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् ।

सूचीकृत कम्पनीमध्ये आधा कम्पनी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी हुनु र ती कम्पनीको चुक्ता पुँजी धेरै रहेका कारण बजार पुँजीकरणमा समेत सो क्षेत्रले आधा बढी हिस्सा ओगटेको हो ।

नेप्सेमा सूचीकृत जलविद्युत्कम्पनीको संख्या ९१ रहेको छ । जलविद्युत् कम्पनीको बजार पुँजीकरणमा हिस्सा १४.९ प्रतिशत रहेको छ । लगानी कम्पनीको रुपमा सूचीकृत ७ कम्पनीको बजार पुँजीकरण हिस्सा ७.४ प्रतिशत, २१ उत्पादन तथा प्रशोधनमुलक उद्योगको हिस्सा ६.३ प्रतिशत, ७ होटेलको हिस्सा २.९ प्रतिशत, ४ व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा ७ अन्य समूहका कम्पनीहरुको हिस्सा १०.२ प्रतिशत रहेको छ ।

विसं २०७९ फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २४५ रहेकोमा पछिल्लो एक वर्षमा नेप्सेमा २६ ओटा कम्पनी थपिएका छन् । २०८० फागुन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत म्पनीहरूको संख्या २७१ पुगेको छ ।

२०७९ फागुन मसान्तमा १९५३.०६ रहेको नेप्से सूचकाङ्क २०८० फागुन मसान्तमा १५५.६७ अंकले वृद्धि भएर २१०८.७३ कायम भएको छ । २०८० फागुन मसान्तमा धितोपत्र बजार पँुजीकरण ४ खर्ब ९० अर्ब ९५ करोडले बढेर ३३ खर्ब १४ अर्ब ६३ करोड कायम भएको छ । २०७९ फागुन मसान्तमा बजार पुँजीकरण २८ खर्ब २३ अर्ब ६८ करोड रहेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० फागुन मसान्तमा सूचीकृत ८ अर्ब २२ करोड कित्ता सेयरको चुक्ता मूल्य ८ खर्ब १४ अर्ब ६५ करोड रहेको छ ।

आठ महीनामा एक खर्बको धितोपत्र सूचीकरण, पौने २५ अर्बको निष्कासन अनुमति

चालु आर्थिक वर्ष २०८०/८१ को आठ महीना अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुल १ खर्ब ०२ अर्ब ७४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । यस्तै यस अवधिमा नेपाल धितोपत्र बोर्डले कुल .२४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

फागुन मसान्तसम्म नेप्सेमा ६८ अर्ब ८५ करोड बराबरको साधारण सेयर (आईपीओ) १७ अर्ब ७९ करोड बराबरको हकप्रद, १६ अर्ब ७ करोड बराबरको बोनस र ३ करोड बराबरको एफपीओ गरी कुल १ खर्ब ०२ अर्ब ७४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८० करोड बराबरको साधारण सेयर (आईपीओ), ६ अर्ब २ करोड बराबरको डिबेन्चर (ऋणपत्र), ५ अर्ब ४६ करोड बराबरको हकप्रद र ३ अर्ब ५० करोड बराबरको म्युचुअल फन्डको इकाई गरी कुल .२४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।