चिनियाँ कम्पनीको विश्वव्यापी बजार विस्तारले त्रसित ठूला अर्थतन्त्र

0
Shares

चिनियाँ कम्पनी विश्वव्यापी रुपमा बजार विस्तार गरेपछि अमेरिका, बेलायत र युरोपियन युनियन लगायतका विभिन्न देशहरुका औद्योगीक उत्पादन प्रतिस्पर्धामा पछि पर्ने जोखिम बढेको छ । चीनियाँ उत्पादनको लागयत न्यून भएसंगै ती मुलुकका उद्योगधन्दाहरु समस्या पर्ने जोखिम बढेको हो ।

चीनमा उत्पादित सामाग्रीको मूल्य पश्चिमा देशहरुमा उत्पादित सामाग्रीको तुलनामा कम हुने भएकाले विश्वबजारमा माग बढी छ । जसकारण दीर्घकालीन रुपमा घरेलु कम्पनीहरुको अस्तित्व मेटिनेमा अमेरिकी वाणिज्य सचिव जेनेट एलेनले दुख व्यक्त गरेकी छिन् । शीर्ष दुई अर्थतन्त्रबीचको तनाव सहजीकरण गर्ने उद्देश्यले चीन भ्रमणमा आएकी जेनेट एलेनले अमेरिकी कम्पनीहरुको अस्तित्व संकटमा पार्ने चिनियाँ सामाग्रीहरुको आयातमा रोक लगाउने बताएकी हुन् ।

हाल चिनियाँ विद्युतीय कार, ब्याट्री, सोलार प्यानल लगायतका अन्य वातावरण मैत्री उपकरणको बिक्री विश्वव्यापी रुपमा बढेको छ । जसकारण चिनियाँ कम्पनीद्धारा उत्पादित सामाग्रीहरुको माग बढ्दै गएको छ भने अन्य देशका घरेलु कम्पनीहरुको उत्पादनले उचित मूल्य नपाएको उनको गुनासो छ ।

एक दशक अघि चिनियाँ स्टील कम्पनीहरुले सस्तो मूल्यमा स्टील उत्पादन गर्दा त्यसको परिणाम स्वरुप अमेरिका र विश्वका विभिन्न क्षेत्रका कम्पनीहरु समस्याग्रस्त भएको उदाहरण दिँदै एलेनले पुनः उक्त घटना घट्न नदिनेमा आफू र बाइडेन प्रशासन प्रतिबद्ध रहेको जनाएकी छिन् । सन् २०१८ को जुलाई महिनामा अमेरिकाले चीनबाट आयात गर्ने ८१८ सामाग्रीहरुमा निश्चित कर तोकेको थियो । यस्तै सन् २०२० को फेब्रुअरी महिनामा चीनले समेत अमेरिकाबाट आयात गर्ने सामाग्रीहरुमा कर लगाएको थियो । यसरी चीन र अमेरिकाबीच व्यापारिक तनाव समेत बढ्दै गएको स्पष्ट छ ।

जेनेट एलेनले हालका लागि चीनले बाह्य व्यापारमा केन्द्रित नभई आन्तरिक माग बढाउने उद्देश्यले नीति निर्माण गर्नुपर्ने सुझाव दिएकी छिन् । एलेनले चिनियाँ कम्पनीहरुलाई चीनले संरक्षण गरेकाले उत्पादन लागत कम हुन गएको र विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्दा ती कम्पनीहरुले अन्यको तुलनामा राम्रो प्रतिस्पर्धा गरेको बताइन् ।

यस विषयमा चिनियाँ अधिकारीहरुले विरोध गरेका छन् । पश्चिमा राष्ट्रहरुले चिनियाँ कम्पनीहरुले विश्वबजारमा प्रस्तुत गरेको इनोभेसनलाई प्राथमिकता नदिई चिनियाँ सरकारको उत्पादन विस्तार गर्ने नीतिलाई मात्रै प्राथमिकता दिएको ती अधिकारीहरुको भनाइ छ । आर्थिक तथा व्यापारिक मुद्दाहरुमा बहस गर्दा राजनीतिक र सुरक्षाको दृष्टिकोणबाट नभई बजार केन्द्रीत विश्वव्यापी परिदृश्यलाई केन्द्रमा राख्नु पर्ने चिनियाँ प्रधानमन्त्री लि क्वाङले चिनियाँ न्युज एजेन्सी छिनुवामा बताएका छन् ।

सन् १९८५ मा चीनले ‘एक्सपोर्ट ट्याक्स रिबेट पोलिसी’ कार्यान्वयनमा ल्याएको थियो । जसअन्तर्गत निर्यात हुने सामाग्रीहरुमा कुनै मूल्य अभिवृद्धि कर लाग्दैन । यस्तै चीनमा उच्च जनसङ्ख्या भएकाले काम पाउन प्रतिस्पर्धा हुँदा मानिसहरु थोरै तलबमै गुणस्तरीय काम गर्छन् । जसकारण उत्पादित वस्तु तथा सामाग्रीको उत्पादन लागत समेत कम पर्न जान्छ । साथै चीनमा मूल्य अभिवृद्धि कर शून्य प्रतिशत छ जसकारण कम्पनीले थोरै मार्जिन राख्दा पनि मनग्य नाफा गर्न सक्छन् भने अन्य देशका कम्पनीहरुको तुलनामा उत्पादित वस्तुको मूल्य कम पर्न जान्छ । यसरी चिनियाँ सरकारले कम्पनीहरुलाई सहजता प्रदान गर्दा खुल्ला अर्थतन्त्र भएका देशका कम्पनीसँग प्रतिस्पर्धा गर्न चिनियाँ कम्पनीलाई सहज हुने गरेको छ ।

सन् २०२३ को जनवरी महिनामा अमेरिकी विद्युतीय कार उत्पादन कम्पनी टेस्लाको तुलनामा चिनियाँ अटोमेकर कम्पनी वीवाइडीको सेल्स बढेको थियो । टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले वीवाइडीको विश्व बजार विस्तार नीतिलाई नियाल्दै व्यापार सहजीकरण भएका देशहरुमा बीवाइडीले बजार कब्जा गर्ने अभिव्यक्ति दिएका थिए । विद्युतीय कार उत्पादनको क्षेत्रमा मात्रै नभई फ्यासन, फूड, एसेसोरिजको क्षेत्रमा समेत चिनियाँ कम्पनीहरु विश्वव्यापी रुपमा अन्य कम्पनीहरुमा हाबी हुँदै गएका छन् । जसले पश्चिमा राष्ट्रहरुको उत्पादनलाई विश्व बजारमा कमजोर हुने जोखिम बढ्दै गएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।