शिक्षा र भ्रमणमा मात्रै नेपालबाट बाहिरिन्छ मासिक औसत साढे १५ अर्ब

0
Shares

नेपालीले वैदेशिक शिक्षा र भ्रमणका नाममा मात्रै औसत मासिक साढे १५ अर्ब रुपैयाँ खर्च गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले चैत २२ गते बिहीबार सार्वजनिक गरेको तथ्यांकानुसार चालु आर्थिक वर्ष (आव) को साउनदेखि फागुन मसान्तसम्म नेपालीले विदेशमा उक्त परिमाण बराबरको रकम खर्च हुने गरेको देखिएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको आठ महीना अर्थात फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार शिक्षा र भ्रमणका लागि नेपालीले विदेशमा १ खर्ब २२ अर्ब ८१ करोड २१ लाख रुपैयाँ खर्च गरेका हुन् । यसले गत वर्षको तुलनामा सेवा खातातर्फको व्यय चालु आवको आठ महीना अवधिमा ४४.७० प्रतिशतले बढेको छ । त्यसबेला भ्रमण र शिक्षामा आठ महीनामा ६९ अर्ब ८९ करोड रुपैयाँ मात्र विदेशिएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो महीना माघ मसान्तसम्म नेपालीले विदेशमा शिक्षा र भ्रमणमा १ खर्ब ४ अर्ब ७४ करोड बराबर रकम खर्च गरेका थिए । पछिल्लो महीना फागुनमा मात्रै यस्तो खर्च रकम १८ अर्ब ६ करोड ६१ लाख रुपैयाँ खर्च भएको केन्द्रीय बैंकको तथ्याङ्क छ ।

फागुन मसान्तससम्ममा भएको खर्चमध्ये वैदेशिक शिक्षा (एब्रोड स्टडी) का नाममा मात्र ८० अर्ब १४ करोड १६ लाख रुपैयाँ बराबरको नगद बाहिरिएको छ । केन्द्रीय बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ८ महीनामा विदेशमा शिक्षा लिन जाने नेपाली विद्यार्थीले पढ्नका लागि साे रकम बराबरको विदेशी मुद्रा सटही सुविधा लिएका हुन् । गत वर्ष शिक्षामा आठ महीनामा ५४ अर्ब ७० करोड रुपैयाँ मात्र विदेशिएको थियो । यस आधारमा समीक्षा अवधिमा शिक्षामा बाहिरिने रकम २५ अर्ब ४४ करोड १६ लाख रुपैयाँले बढेको देखिन्छ । यस्तै फागुन मसान्तसम्ममा नेपालली वैदेशिक भ्रमणको नाममा ४२ अर्ब ६७ करोड ४ लाख रुपैयाँ खर्च गरेका छन् । गत आर्थिक वर्षको आठ महीनामा यस्तो खर्च २९ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा १३ अर्ब ५ करोड ३८ लाख रुपैयाँले वृद्धि भएको हो ।

‘अब्रोड स्टडी’ अर्थात् वैदेशिक शिक्षाका नाममा देश छाड्नेको जमात बढ्दो छ । वैदेशिक रोजगार तथा श्रमका लागि बिदेसिने नेपालीहरूको सङ्ख्या बढिरहेका बेला पछिल्लो समय शिक्षाका लागि बाहिरिनेहरू पनि बढेका हुन् । अघिल्लो आर्थिक वर्ष, २०७९–८० मा यही शीर्षकमा १ खर्ब ४२ करोड ३३ लाख रुपैयाँ बाहिरिएको थियो । पछिल्लो १८ महिनाको तथ्याङ्कलाई हेर्दा वैदेशिक शिक्षाकै नाममा १ खर्ब ८० अर्ब ५६ करोड ४९ लाख रुपैयाँ बाहिरिँदा बौद्धिक जनशक्ति पलायनको बाटोमा रहेको प्रस्ट हुन्छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा वैदेशिक अध्ययन अनुमतिका लागि १ लाख १ हजार ३०० जना विद्यार्थीहरुको निवेदन दर्ता भएको र प्रकृया पुगेका १ लाख १४ हजार १३४ विद्यार्थीहरुलाई अध्ययन अनुमतिपत्र (एनओसि) प्रदान गरिएको उल्लेख छ । वैदेशिक अध्ययन अनुमति पत्र लिनेमा सबैभन्दा धेरै अस्ट्रेलिया पढ्न जाने विद्यार्थीले लगेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्म विभिन्न ५८ देशमा अध्ययन गर्न जान ५१ हजार ६३७ जना विद्यार्थीले एनओसी लिएका छन् । शाखाका अनुसार चालु आवको ६ महीनामा क्यानडाको लागि सबैभन्दा धेरै १२ हजार ७५ एनओसी लिएका छन् ।

अन्तर्राष्ट्रिय मान्यता अनुसार कुल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रका लागि बिनियोजन हुनुपर्दछ । शिक्षा क्षेत्रमा सरकारले गरेको लगानी न त व्यवहारिक छ न रोजगारमूलक नै । जसका कारण धेरै युवाहरू नेपालमा पढेर कुनै सीप तथा ज्ञान प्राप्त गरिन्छ भन्ने कुरामा विश्वस्त छैनन् । यसका लागि देशमा आशा देखाउने अवसर दिने र विश्वविद्यालयहरु लचिलो बन्नुपर्ने वातावरण सिर्जना गर्नुपर्ने शिक्षाविद्हरु बताउँछन् ।

उता, नेपालमा पर्यटकबाट हुने आय र नेपालीले विदेशमा भ्रमणको प्रयोजनमा गर्ने खर्चका बीचमा समेत अब ठूलो अन्तर देखिन छाडेको छ । आठ महीनामा नेपालबाट विदेश भ्रमण जानेले ४२ अर्ब ६७ करोड ५ लाख रुपैयाँ लगेका छन् । । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४.०८ प्रतिशत धेरै हो । त्यसबेला नेपालबाट विदेशमा भ्रमण जाने पर्यटकले २९ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ खर्च गरेका थिए । यो फागुन महीनामा मात्रै भ्रमण वापत ४ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ खर्च गरेका हुन् ।

यस्तै चालु आर्थिक वर्ष (आव) आठ महिनाभित्र नेपालमा पर्यटकबाट हुने आम्दानी भने ५१ अर्ब ३८ करोड ६६ लाख पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२.१० प्रतिशत धेरै हो । त्यसबेला पर्यटकले ३६ अर्ब १५ करोड ७० लाख रुपैयाँ खर्च गरेका थिए । माघ मसान्तसम्म पर्यटकबाट हुने आम्दानी ४५ अर्ब ३९ करोड ५५ लाख रहेकोमा फागुनमा मात्रै ६ अर्बले बढेको हो ।

यस अवधिमा सेवातर्फ आयभन्दा व्यय बढी हुँदा सेवा खाता घाटामा रहेको छ । आठ महीनामा सेवा खाता ४४ अर्ब ८२ करोड १ लाख रुपैयाँले घाटामा छ । सेवा क्षेत्रबाट १ खर्ब ५६ अर्ब ३५ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको नेपालले आठ महीनामा २ खर्ब १ अर्ब १७करोड २८ लाख खर्च गरेको हो । अघिल्लो वर्ष उक्त अवधिमा सेवा आय ५५ अर्ब ९१ करोड २ लाख रुपैयाँ घाटामा थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।