लघुवित्तद्वारा नियम विपरित असुलेको ११४ करोड सेवा शुल्क फिर्ता, बचतमा त्रैमासिक ब्याज भुक्तानी

0
Shares

सञ्चालनमा रहेका ४८ लघुवित्त वित्तीय संस्थाले एक अर्ब १४ करोड रुपैयाँ नियम विपरित असुल गरेपछि फिर्ता गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार ती लघुवित्त वित्तीय संस्थाले ग्राहकबाट तोकिएको भन्दा धेरै सेवाशुल्क लिएपछि सम्बन्धित ग्राहकलाई नै फिर्ता गरेका हुन् ।

केन्द्रीय बैंकका अनुसार ४८ वटा लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७९/८० मा एकीकृत निर्देशन, २०७९ को निर्देशन विपरीत करिव १ अर्ब १४ करोड सेवा शूल्क असुल गरेका छन् । उक्त रकम सम्बन्धित ऋणीको खातामा फिर्ता गर्न केन्द्रीय बैंकले निर्देशन समेत दिएको जनाएको छ । एकिकृत निर्देशन अनुसार लघुवित्तले ग्राहकबाट लिन पाउने अधिकतम ब्याजदर १५ प्रतिशत हो भने सेवा शुल्क स्वीकृत कर्जाको १.५ प्रतिशत भन्दा धेरै लिन पाउदैनन । तर, लघुवित्तले गत आर्थिक वर्षमा सो भन्दा धेरै शुल्क लिएपछि केन्द्रीय बैंकले फिर्ता गर्न भनेको हो ।

गत आर्थिक वर्षको स्थलगत तथा गैर स्थलगत रिर्पोट तयार गर्दै केन्द्रीय बैंकले लघुवित्तले पालना नगरेका व्यवस्थाहरुको पनि बुँदागत उल्लेख गरेको छ । गत आवमा केन्द्रीय बैंकले ४३ वटा लघुवित्त वित्तीय संस्थाहरुको स्थलगत निरीक्षण, ४ वटा संस्थाको अनुगमन निरीक्षण र ३ वटा लघुवित्त वित्तीय संस्थाको विशेष स्थलगत निरीक्षण गरेको छ । २०८० असार मसान्तमा कायम रहेका कुल ५७ लघुवित्त वित्तीय संस्थाहरुमध्ये ४८ लघुवित्त वित्तीय संस्थाहरुको गैरस्थलगत सुपरिवेक्षण गरी आवश्यक थप निर्देशन सहित वार्षिक वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले लघुवित्तहरुलाई दिएको निर्देशन मध्ये कर्मचारी सेवा सुविधा समितिबाट जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यहरु भर्ना, छनौट, नियुक्ति, पदस्थापना, सरुवा, बढुवा, वृत्ति विकास, कार्य सम्पादन मूल्याङ्कन, पुरस्कार तथा सजाय र श्रम सम्बन्ध सम्बन्धी योजना, नीति तथा मापदण्डहरु तयार गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । साथै कर्मचारी नीति तथा कार्यरत कर्मचारी संरचनाको समीक्षा गर्ने र सक्ेसन प्लानिङ तयार गरी सञ्चालक समिति समक्ष पेश गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ।

त्यसैगरी केन्द्रीय बैंकले लघुवित्तमा रिक्त रहेका व्यवस्थापकीय तहका पदहरु रिक्त भएको तीन महिनाभित्र अनिवार्य रुपमा पदपूर्ति गर्न तथा कानुनी जोखिमहरुको व्यवस्कथापन गर्न पर्याप्त नीति, कार्यविधि तर्जुमा गर्न समेत निर्देशन दिएको छ । जोखिम व्यवस्थापनका लागि दैविक प्रकोप रिकभरी प्लान र व्यवसयिक निरन्तरता योजना तर्जुमा गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

लेखापरीक्षण समिति, कर्मचारी सेवा सुविधा समिति, जोखिम व्यवस्थापन समिति र सम्पत्ति शुद्धीकरण अनुगमन समितिलाई थप क्रियाशील बनाउन केन्द्रीय बैंकले सुझाएको छ । नियमानुसार स्वतन्त्र सञ्चालकको अविलम्ब नियुक्त गरीे जानकारी दिन समेत केन्द्रीय बैंकले लघुवित्तहरुलाई निर्देशन दिएको छ ।

लघुवित्तको सर्वसाधारण तर्फको शेयर स्वामित्व ३० प्रतिशतभन्दा कम भएको हुँदा निर्देशन अनुरुप चुक्ता पुँजी कायम गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । संस्थाबाट प्रवाह हुने कर्जाको प्रयोजन तथा भाखा अवधिवीच तालमेल हुने गरी संस्थाको सम्बन्धित कार्यविधिहरुमा आवश्यक संशोधन गरी लागु गर्न समेत केन्द्रीय बैंकले सुझाएको छ ।

लघुवित्त वित्तीय संस्थाले एउटा धितोका आधारमा एक भन्दा बढी व्यक्तिलाई कर्जा प्रवाह नगर्न निर्देशन दिएको छ । साथै, लघुवित्त वित्तीय संस्थाले यस ब्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नुपर्ने ब्यवस्थाको पूर्ण पालना गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । कर्जा प्रवाह गर्दा ऋणबाट कट्टा गरी अनिवार्य वचत लिने कार्य अविलम्ब बन्द गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

लघुवित्त संस्थाबाट प्रवाहित कर्जा/सापटमा त्रैमासिक रुपमा ब्याज असुल गर्ने गरेको अवस्थामा बचत निक्षेपमा पनि ३/३ महिनामा सम्बन्धित खातामा ब्याज जम्मा गरिदिने व्यवस्था गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । संस्थाले प्रवाह गर्ने सम्पूर्ण कर्जामा मासिक रुपमा ब्याज असुल गर्ने प्रावधान रहेकोले संस्थामा रहेका सम्पूर्ण बचत खाताहरुमा मासिकरुपमा ब्याज रकम जम्मा गर्ने व्यवस्थाको पालना गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

एकिकृत निर्देशन विपरीत हुने गरी कर्जा स्वीकृत गर्ने कार्यमा संलग्न कर्मचारीहरूलाई संस्थाको कर्मचारी सेवा विनियमावली बमोजिम कारवाही गरी ३ महिनाभित्र यस बैकलाई जानकारी दिन समेत केन्द्रीय बैंकले निर्देश गरेको छ ।

संस्थाले निष्क्रिय कर्जा व्यवस्थापनका लागि तयार गरेको कार्य योजनाको कार्यन्वयन तथा सो सम्बन्धमा भए/गरेका कार्यको नियमित अनुगमन गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । त्यसैगरी कर्जा प्रवाह गर्नुपूर्व कर्जा सूचना केन्द्रबाट अनिवार्य रुपले कर्जा सूचना प्राप्त पछि मात्र कर्जा प्रवाह गर्न पनि केन्द्रीय बैंकको निर्देशन छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।