निक्षेपको तुलनामा कर्जाको ब्याज आधा मात्रै घट्यो, औसत आधार दर ८.७८ प्रतिशत


बैंकहरुले कर्जाको ब्याजदर निक्षेपको तुलनामा आधा मात्रै घटाएका छन् । बैंकहरुले चैत महिनामा निक्षेपको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटाएका थिए भने औसत आधार ब्याजदर ०.२९९ प्रतिशत विन्दुले मात्र घटाएका हुन् ।

गत फागुनमा बैंकहरुको निक्षेपको औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैतमा ०.५ प्रतिशत विन्दुले घटेर ७.२५ प्रतिशतमा झरेको थियो । बैशाख महिनाका लागि बैंकहरुको निक्षेपको औसत ब्याजदर ७.०७ प्रतिशतमा झारेका छन् । चैतको तुलनामा बैंकहरुले यस्तो दर ०.१८ प्रतिशत विन्दुले मात्र घटाएका हुन् ।

बैंकहरुले निक्षेप र कर्जामा घटाउने ब्याजदरमा निकै अन्तर हुने गरेको तथ्यांकले देखाएको छ । बैंकहरुले दिनुपर्ने भएकाले निक्षेपको ब्याजदर धेरै र ऋणीबाट लिने ब्याजदर थोरै मात्रामा घटाउने गरेको तथ्यांकले देखाएको हो । बैंकहरुले नै सार्वजनिक गरेको तथ्याङक अनुसार चैत महिनामा निक्षेपको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घट्दा औसत आधार ब्याजदर ०.२९९ प्रतिशत विन्दुले मात्र घटेको देखिन्छ ।

चालु आर्थिक वर्षको फागुन महिनामा बैंकहरुको तीन महिनाको औसत आधार ब्याजदर ९.०८०५ प्रतिशत कायम भएको थियो । चैतमा यस्तो औसत ब्याजदर ०.२९९ प्रतिशत विन्दुले घटेर ८.७८१५ प्रतिशतमा झरेको छ ।

पछिल्लो समयमा आर्थिक गतिविधिमा आएको संकुचनका कारण कर्जा लगानी विस्तार नहुँदा वित्तीय प्रणालीमा तरलता तथा कर्जा लगानी योग्य रकम बढिरहेको छ । जसका कारण ब्याजदर घट्दै आएको छ । कन्द्रीय बैंकले समेत नीतिगत दरहरु घटाउँदै लगिरहेको छ । जसका कारण पनि बैंकहरु ब्याजदर घटाउनु पर्ने दवाबमा छन् । बैंकहरुले निक्षेपको ब्याजदर मासिक रुपमा घटाउँने गरेका छन् । तर कर्जाको ब्याजदर आधार ब्याजदर अनुसार घटाउँछन् ।

नेपाल राष्ट्र बैंकका अनुसार कुनैपनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा प्रवाह गर्न पाइन्दैन । केन्द्रीय बैंकको एकिकृत निर्देशन अनुसार कर्जाको व्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्नेछ । तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न यो व्यवस्थाले बाधा पार्ने छैन ।

त्यसैगरी परिवर्तनीय ब्याजदर आधार दरसँग आबद्ध गर्दा बैंक तथा वित्तीय संस्थाले कोर बैंकिङ प्रणाली मार्फत पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तन अनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणालीको व्यवस्था गर्नु पर्नेहुन्छ । साथै, व्याजदर घटाउँदा वा बृद्धि नगर्दा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउनु पर्नेछ । तर, निक्षेपको ब्याजदर घटाउने सन्दर्भमा बैंकहरुले मासिक रुपमा प्रतिस्पर्धात्मक तबरबाट तरलताको अवस्थालाई हेरेर निर्णय गर्न सक्छन् । निक्षेपको ब्याजदर बढाउने सन्दर्धमा भने केन्द्रीय बैंकले अघिल्लो महिनाको दरको १० प्रतिशत भन्दा धेरैले बढाउन नपाउने गरी सीमा तोकेको छ ।

बैंकहरुले आधार दरमा आएको परितर्वन अनुसार ब्याज घटाउन एक महिनाको समय कुर्छन् । आधार दर गणना गर्दा बैंकहरुको सम्पुर्ण लागतलाई जोडेर निकाल्छन् । त्यसले गर्दा पनि एक महिनाको समय कुर्नु पर्ने बाध्यता बैंकहरुको छ । साथै मासिक तथा पछिल्लो तीन महिनाको औसतलाई हेरेर आधार दर तय गर्ने भएकाले पनि निक्षेपको जस्तो कर्जाको व्याजदर तत्काल नै घट्ने भन्ने हुँदैन ।

बैंकहरुले आधार दर प्लस प्रिमिय गरेर कर्जाको ब्याजदर निर्धारण गर्छन् । यसमा पनि बैंकहरुले निक्षेपमा दिएको ब्याजदर र कर्जामा लिएको ब्याजदर बीचको अन्तर ४ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था छ । बैंकहरुको आधार दर र प्रिमियलाई हेर्दा बैसाख महिनामा पनि कर्जाको औसत ब्याजदर एकल अंकमा आउने देखिँदैन । बैंकहरुले लिने कर्जाको ब्याजदरको माथिल्लो सीमालाई निक्षेपमा दिने व्याजभन्दा ४ प्रतिशतसम्म बढी हुन सक्छ । त्यसैगरी बचत निक्षेपमा न्यूनतम ब्याजदर ३ प्रतिशत दिनै पर्ने व्यवस्था छ । सो अनुसारको ब्याजदर नदिएको खण्डमा स्थायी निक्षेप सुविधा लिन पाइँदैन ।

त्यसैगरी निक्षेपको अधिकतम ब्याजदर र न्यूनतम ब्याजदर विचको अन्तर ५ प्रतिशतभन्दा धेरै हुनु हुँदैन । कर्जा तथा निक्षेपको ब्याजदरमा तोकिएका सीमाहरुले ब्याजदरलाई सन्तुलन गर्ने काम गरेको केन्द्रीय बैंकका अधिकारीहरु बताउँछन् ।

तर, कर्जाको ब्याजदर घटाउने सन्दर्भमा पनि बैंकहरुले चाहेको खण्डमा बाधा नपुग्ने भनिएको भएपनि आम्दानीमा असर पर्ने भएकाले बैंकहरुले सकेसम्म थोरै मात्र घटाउने प्रयास गर्दै आएको एक पुर्व बैंकरले नोटबजारलाई बताए । निक्षेपको ब्याजदर उचारचढावलाई स्रोत उपलब्धताले असर गर्ने भएपनि कर्जाको सन्दर्भमा बैंकहरु केही बढी नै कठोर बन्ने गरेको ती पुर्व बैंकरको भनाइ छ । “निक्षेपको ब्याजदर घटाउँदा बैंकको खर्च घट्छ,” ती बैंकरले भने, “कर्जाको ब्याज घटाउँदा आम्दानी प्रभावित हुन्छ ।” त्यसैले बैंहरुले स्वभाविक रुपमा कर्जाको ब्याज तत्काल घटाउँन चाँहदैनन् र घटाए पनि निक्षेपको तुलनामा कमै घटाउँछन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको औसत आधार दर अरु बैंककोभन्दा थेरै छ । सो अवधिमा बैंकको तीन महिनाको औसत आधार दर ७.०१ प्रतिशत छ । तर, सो अवधिमा हिमालयन बैंकको तीन महिनाको औसत आधारदर सबैभन्दा धेरै अर्थात ९.८४ प्रतिशत छ । औसत आधार दरलाई हेर्दा सबैभन्दा सस्तो दरको कर्जा स्ट्याण्डर्ड चार्टर्ड बैंकमा पाइन्छ भने हिमालयन बैंकबाट कर्जा लिदाँ सबैभन्दा महंगो पर्ने देखिन्छ । बैंकहरुको चैत महिनाको आधार ब्याजदर पछिल्लो तीन महिनाको औसत आधार दरभन्दा थोरै छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।