कतारसँगको व्यापारमा उतारचढाब, यस्तो छ बैदेशिक रोजगारको अवस्था

0
Shares

कतारसँगको व्यापार घाटा ९ अर्ब रुपैयाँले घटेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको नौ महिना अवधिको तुलनामा चालु आवको नौ महिनाको अवधिमा व्यापार घाटामा ९ अर्ब २६ करोड ६६ लाख २ हजार रुपैयाँले कमी आएका हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष (२०८०/८१) को नौ महिनामा कतारसँग १ अर्ब ४४ करोड ३२ लाख २८ हजार रुपैयाँ व्यापार घाटा रहेको छ । गत आथिक वर्षको सोही अवधिमा १० अर्ब ७० करोड ९८ लाख ३० हजार रुपैयाँ व्यापार घाटा गरेको थियो ।

चालु आर्थिक वर्षमा नेपालले कतारमा ९ करोड १९ लाख ३९ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गरेको छ भने कतारबाट १ अर्ब ५३ करोड ५१ लाख ६७ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ ।

यस्तो छ विगत चार वर्षको व्यापार घाटा

भन्सार विभागका अनुसार नेपालले आर्थिक वर्ष (२०७९/८०) मा ५ करोड ९५ लाख २३ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गरेको छ भने १० अर्ब ७६ करोड ९३ लाख ५३ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । आर्थिक वर्ष २०७९/८० मा नेपालले कतारसँग १० अर्ब ७० करोड ९८ लाख ३० हजार रुपैयाँ घाटा बेहोरेको छ ।

यस्तै, आर्थिक वर्ष (२०७८/७९) मा नेपालले ३ करोड ६ लाख १६ हजार रुपैयाँको वस्तु तथा सामान निर्यात गर्दा नेपालले २ अर्ब १६ करोड ३० लाख ८० हजार रुपैयाँको वस्तु तथा सामान आयात गरेको छ । आर्थिक वर्ष (२०७९/८०) मा नेपालले २ अर्ब १३ करोड २४ लाख ६४ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

यसैयरी, आर्थिक वर्ष (२०७७/८८) मा नेपालले ३ करोड २ लाख ८९ हजार रुपैयाँ बराबरको सामान निर्यात गर्दा २४ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको सामान आयात गरेको छ । उक्त वर्षको नौ महिनामा नेपालले २१ करोड २० लाख ९६ हजार रुपैयाँ घाटा व्यहोरेको विभागको तथ्यांकले देखाएको छ ।

यस्तै आर्थिक वर्ष (२०७६/७७) मा २ करोड १४ लाख ७३ हजार रुपैयाँ बराबरको वस्तु तथाा सामान निर्यात गर्दा ३७ करोड ३५ लाख ३८ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ । सो अवधिमा नेपालले कतारसँग ३५ करोड २० लाख ६५ हजार रुपैयाँ व्यापार घाटा गरेको छ ।

कुन कुन वस्तु हुन्छ आयात निर्यात ?

नेपालले कतारमा जुट वा अन्य केही धागोले बनेका कपडाहरु, कार्पेट, जनावरका रौँबाट बुनेका सामानहरु , टेबल, भान्सा वा घरायसी सामान, कुरिलो लगायतका अन्य तरकारी तथा फलफूलहरु, अदुवा, खेलकुद जुत्ता जस्ता सामान निर्यात हुने गरेको छ ।

यस्तै नौ महिनाको अवधिमा फूल, पास्ता, कुरमुरे कुरकुरे चिजबल जस्ता जंकफुड, दालमोट, झजिया, नम्किङ, कुकुर र बिरालोको खानेकुरा, फेस क्रिम रअन्य मेकअपका सामान लगायतका वस्तुहरु निर्यात गर्ने गरेको छ ।

यी मध्ये नेपालबाट सबैभन्दा धेरै खेलकुद जुत्ता निर्यात भएको छ । नेपालबाट नौ महिनाको अवधिमा २ करोड ४७ लाख २८ हजार रुपैयाँ बराबरको ७७ हजार ९९१ जोडि खेलकुदको जुत्ता निर्यात गरेको छ। नेपालबाट नौ महिनाको अवधिमा ९० लाख ८ हजार रुपैयाँ बराबरको ४४ हजार ३६२ केजी कुरिलो निर्यात भएको छ ।

यसैगरी कतारबाट नेपालमा सुन, सुनका गहना, पेट्रोलियम बिटुमेट, टेलिभिजन, कलर टेलिभिजन, अन्य दुर्लभ ग्यासहरु, कम्बल, स्माट फोनहरु, लत्ता कपडा जस्ता पस्तु तथा सामान आयात हुने गरेको छ ।

यस्तै कतारबाट नेपालमा भान्साका सामानहरु, जुत्ता, इलेक्ट्रक सामानहरु, सेम्पो, चकलेट, राइसकुकर, ब्याग, ल्यापटप, नोटबुकलगायतका ३८६ किसिमका वस्तुहरु आयात हुने गरेको छ ।
जसमध्ये नौ महिनाको अवधिमा सबैभन्दा धेरै सुन आयात भएको छ । नेपालमा कतारबाट ९१ करोड ८३ लाख १५ हजार रुपैयाँ बराबरको १ लाख ६ हजार ८४५ ग्राम सुन आयात भएको छ ।

यस्तो छ बैदेशिक रोजगारको अवस्था

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार कतारका लागि गत आर्थिक वर्ष एक लाख ३३ हजार युवाले श्रम स्वीकृति लिएका थिए। २०८० वैशाखदेखि चैतसम्म पनि कतारका लागि एक लाख ३३ हजार १०२ जनाले श्रम स्वीकृति लिएका छन्।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १० हजार ५६१ जनाले श्रम स्वीकृती लिएका थिए । यस्तै भदौमा ९ हजार ७६७ जना, असोजमा १० हजार ६१०, कात्तिकमा ८ हजार ४६२, मंसिरमा १३ हजार ३८५ जना, पुसमा १४ हजार १८ जना, माघमा १२ हजार १६४ जनाले श्रम स्वीकृती लिएका थिए ।

यस्तै फागुनमा ११ हजार ३९० जनाले श्रम स्वीकृती लिएका थिए भने चैतमा मात्रै वैदेशिक रोजगारीको लागि ११ हजार २०४ जनाले श्रम स्वीकृती लिएका छन् । उक्त देशको लागि चैतमा १० हजार ४७१ पुरुष र २ हजार ३९५ जना महिला गरी कुल ११ हजार २०४ जनाले श्रम स्वीकृती लिएका हुन् । यो नयाँ र पुन श्रम स्वीकृती लिनेको संख्या हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।