बैंकहरुलाई खराब कर्जा लुकाउन राष्ट्र बैंककै सहयोग, पुनरसंरचना र पुनरतालिकिकरण सुविधा अझै थपिने

0
Shares

बैंक तथा वित्तीय संस्थाको खराब कर्जा कम देखाउन राष्ट्र बैंकले नै सहयोग गर्दै आएको छ । केन्द्रीय बैंकले कर्जा पुनरसंरचना र पुनरतालिकिकरण गर्न दिएर खराब कर्जा कम देखाउन सहयोग गरेका हो ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत १० प्रतिशत ब्याज रकम असुल गरी कर्जाको पुनरसंरचना र पुनतालिकिकरण गर्न सक्ने व्यवस्था गर्यो । यसरी पुनरसंरचना र पुनरतालिकिकरण गर्ने अवधि २०८० चैत मसान्तसम्म कायम गर्यो । केन्द्रीय बैंकको यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा कम गर्न मद्दत पुग्यो ।

कोरोना महामारी तथा आर्थिक मन्दीका कारण सुस्त भएको आर्थिक गतिविधिमा सुधार आउन सकेको छैन । त्यसको असर बैंक तथा वित्तीय संस्थाको कर्जाको भुक्तानीमा देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा ऋणीको आम्दानीमा परेको असरका कारण ‘डिफल्ट’ रेट पनि बढ्दै गएको छ । केन्द्रीय बैंकले १० प्रतिशत ब्याज भुक्तानी गर्ने ऋणीको कर्जालाई पुनरसंरचना र पुनरतालिकिकरण गर्न नदिएको भए डिफल्ट रेट झनै बढ्ने थियो ।

केन्द्रीय बैंकले पुनरसंरचना र पुनरतालिकिकरणका लागि तोकेका समय गत चैत मसान्सम्म मात्र हो । यो समयमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याज असुल गरी कर्जाको पुनसंरचना र पुनतालिकिकरण गरेकाले पनि खराब कर्जाको दर कम भएको हो । केन्द्रीय बैंकले ऋणीलाई दिएको सुविधाका कारण खराब कर्जा थोरै देखिएको केन्द्रीय बैंकका एक अधिकारीले बताए ।

“कर्जाको पुनसंरचना र पुनरतालिकिकरण कारण खराब कर्जा कम देखिएको हो, त्यो हट्ने वित्तीकै खराब कर्जा अहिले देखिएको भन्दा धेरै हुन्छ,”ती अधिकारीले भने,“चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत संकेत गरि सकिएको हुनाले तेस्रो त्रैमासमा पनि त्यसलाई निरन्तरता दिने सम्भावना उच्च छ ।” कर्जा तिर्ने ऋणीका लागि बास्तविक समस्याका आधारमा सहजीकरण गर्ने भएकाले आगामी दिनमा पनि निरन्तरता पाउने ती अधिकारीको भनाई छ ।

कर्जाको पुनरसंरचना र पुनतरतालिकिकरणको सुविधाका कारण चालु आर्थिक वर्षको चैतसम्ममा वाणिज्य बैंकहरुको मात्रै औसत खराब कर्जा कुल कर्जाको ३.६५ प्रतिशत रहको छ । गत पुस मसान्तमा बैंकहरुको औसत खराब कर्जा ३.३९ प्रतिशत थियो । यो अवधिमा बैंक तथा वित्तीय संस्थाले खराब कर्जा कम देखाउनका लागि भएपनि ऋणीलाई १० प्रतिशत ब्याज भुक्तानी गर्न लगाएका थिए । बैंकहरुले ऋणीबाट १० प्रतिशत ब्याज लिदै कर्जाको पुनरसंरचना र पुनरतालिकिकरण गरेका कारण खराब कर्जाको वृद्धिदरमा कमी आएको एक बैंकरले बताए । बैंकहरुले १० प्रतिशत ब्याज पनि उठाउन चुनौतिपुर्ण भएको बताउदै ती बैंकरले भने,“खराब कर्जा थप नबढोस भनेर ऋणीलाई ब्याज तिर्न अनुरोध गर्ने गरेका छौ ।”

कर्जा पुनरसंरचना र पुनतालिकिरण सम्बन्धी व्यवस्था

केन्द्रीय बैंकले ऋणीलाई सहज बनाउने तथा वित्तीय क्षेत्रको खराब कर्जा अस्वभाविक नदेखियोस भनेर बैंक तथा वित्तीय संस्थालाई परिस्थितिवश समस्यामा परेका ऋणीहरुको हकमा कर्जाको पुनरसंरचना र पुनरतालिकिकरण गर्न दिएको हो । त्यसका लागि केन्द्रीय बैंकले कृषि र वन, माछापालन, खानी, कृषि, वन र पेयपदार्थ उत्पादन (सूर्ती प्रशोधन र मदिराजन्य बाहेक), गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादनहरु, मेसिनरी तथा इलेक्ट्रोनिक औजार तथा जडान, यातायात, भण्डार र संचार, थोक तथा खुद्रा विक्री, पर्यटन, शिक्षा एव स्वास्थ्य, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र अन्य सबै क्षेत्रमा प्रवाह भएका ५ करोडसम्मका कर्जालाई आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्न सक्ने व्यवस्था गर्यो ।

यसरी पुनसंरचना र पुनरतालिकिकरण गर्दा २०८० चैत मसान्तभित्र गरिसक्नुपर्ने समय सीमा तोकिदिएको छ । त्यसैगरी २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्न सकिनेछ । उपयुक्त बमोजिम पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । यसरी पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएको कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्ने शर्त रोखको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।