आईपीओको तयारीमा रहेको अर्घाखाँची सिमेन्टको आम्दानी तथा रेटिङ खस्कियो

0
Shares

आईपीओ निष्कासनको तयारीमा रहेको अर्घाखाँची सिमेन्ट उद्योगको आम्दानीमा गिरावट आउनुका साथै रेटिङ समेत खस्किएको छ ।

सन् २०२३ मा ५ अर्ब ७७ करोड आम्दानी गरेको उद्योगले सन् २०२४ को ८ महिनामा ३ अर्ब ३६ करोड मात्र आम्दानी गरेको छ । उद्योगले सन २०२२ मा ७ अर्ब ५८ करोड ९० लाख तथा सन २०२१ मा ८ अर्ब ७० करोड ४० लाख आम्दानी गरेको थियो ।

इन्धन विशेषत कोलको मूल्यमा भएको वृद्धि, लाइमस्टोनको मूल्यमा भएको वृद्धि र बजारमा सिमेन्ट उत्पादक उद्योगबीचको प्रतिस्पर्धाका कारण उद्योगको आम्दानी खस्किन पुगेको उद्योगले जनाएको छ ।

उद्योगको नाफा मार्जिनमा आएको कमीका कारण कर्जा रेटिङमा समेत गिरावट आएको हो । आईपीओ निष्कासन तयारीमा रहेको अर्घाखाँची सिमेन्ट लिमिटेड (एसीएल) को कम्पनीको आम्दानी घटेपछि ‘क्रेडिट रेटिङ’ पनि घटेको छ ।

इक्रा नेपालले अर्घाखाँची सिमेन्टको दीर्घकालीन र अल्पकालीन दुवै कर्जाको सीमालाई तोकिएको रेटिङ घटाएको हो । ५ अर्ब २२ करोड ६० लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि उद्योगलाई इक्राले एलबीबी र एफोर रेटिङ गरेको छ ।

अर्घाखाँची सिमेन्टले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) पनि जारी गर्न लागेको छ । त्यसका लागि एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाइने पनि कम्पनीले बताएको छ ।

सन् १९९८ मा डाइनास्टी इन्डस्ट्रीज नेपालको नामबाट सञ्चालनमा आएको उद्योग सन् २०११ मा नाम परिवर्तन गरी अर्घाखाँची सिमेन्ट उद्योगको नामबाट सञ्चालनमा रहेको छ । उद्योगले क्लिंकर र सिमेन्टको उत्पादन र बिक्री वितरण गर्दै आएको छ। उद्योगको प्रतिवर्ष १० लाख मेट्रिक टन क्लिंकर उत्पादन र ८ लाख ग्राइन्डीङ क्षमता रहेको छ । उद्योगले ओपीसी र पिपिसी सिमेन्टको उत्पादन तथा वितरण गर्दै आएको छ । सिमेन्ट कारखाना रुपन्देहीमा छ ।

यसले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादन क्षमता बढाएर दैनिक ३ हजार टन पुर्याएको छ । साथै लगानी समेत बढाएर ७ अर्ब रुपैयाँ पुर्याइसकेको छ । अर्घाखाँची सिमेन्टले हाल आफ्नो उत्पादन क्षमता बढाए क्लिंकर, ओपीसी र पीपीसी सिमेन्टको उत्पादन गरिरहेको छ । अर्घाखाँची सिमेन्ट नेपालको ठूलोमध्येको एक कम्पनी हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका पशुपति मुरारका कम्पनीमा सञ्चालक छन् । कम्पनीमा नेपालको व्यवसायीक घरनाहरु मुरारका ग्रुपसहित सिद्धार्थ ग्रुप, केडिया ग्रुपको लगानी रहेको छ । उद्योगमा सिद्धार्थ ग्रुपको सेयर हिस्सा ३५ प्रतिशत, मुर्रारका ग्रपको ३० प्रतिशत, केडिया ग्रुपको १७.५ प्रतिशत र भारतीय कम्पनी उमा सिमेन्ट इन्टरनेशनलको १७.५ प्रतिशत रहेको छ ।

सिमेन्ट कम्पनीले अर्घाखाँची ओपीसी सिमेन्टले ४३ ग्रेडको इजाजत पाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले ‘एनएचएस–५७२’ प्रमाणीकरण गरी कम्पनीलाई ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो । अर्घाखाँची सिमेन्ट उद्योगले आफ्नो उत्पादन भारत निर्यात सुरु गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।