बैंकहरुद्धारा अझै साढे ५ अर्ब कर्जा पुनरतालिकिकरण, समस्या भोलिका लागि सार्दै केन्द्रीय बैंक

0
Shares

बैंकहरुले अझै पनि करिब साढे ५ अर्ब कर्जाको पुनरतालिकिकरण तथा पुनसंरचना गरेका छन् । केन्द्रीय बैंकले बैंकिङ क्षेत्रको समस्या अहिले देखाउने भन्दा पनि भोलिका लागि सार्ने नीतिका कारण बैंकहरुले पुनरसंरचना र पुनरतालिकिकरणलाई निरन्तरता दिएका हुन ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासीक समिक्षा गर्दै कर्जाको पुनरसंरचना र पुनतरतालिकिकरण गर्न सक्ने व्यवस्था गर्यो । उक्त व्यवस्थाले बैंकहरुलाइ गत चैतसम्मको समय पनि दियो । त्यसले गर्दा पनि बैंकहरुले पुनरसंरचना र पुनतालिकिकरण गरेको कर्जा चैतसम्ममा पनि साढे ५ अर्ब देखिन आएको हो । बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीहरुबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको दश प्रतिशत रकम असूल गरी कर्जा पुनरसंरचना गर्न सक्ने व्यवस्था समिक्षामा उल्लेख छ ।

समिक्षाको उक्त व्यवस्था अनुसार केन्द्रीय बैंकले केही सर्तसहितको एकिकृत निर्देशक संशोधन गर्दै निर्देशन जारी गरेको थियो । केन्द्रीय बैंकले क्षेत्र तोकेको कर्जाको सबै र अन्य सबै क्षेत्रमा प्रवाह भएका ५ करोडसम्मका कर्जालाई आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्न सक्ने व्यवस्था गर्यो ।

यसरी पुनसंरचना र पुनरतालिकिकरण गर्दा २०८० चैत मसान्तभित्र गरिसक्नुपर्ने समय सीमा पनि तोक्यो । त्यसैगरी २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्न सकिने व्यवस्था गर्यो । यसरी पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

त्यसका साथै पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएको कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्ने शर्त पनि राख्यो । तोकिएका सर्त अनुसार बैंकहरुले चैतसम्ममा योग्य कर्जाहरुको पुनसंरचना र पुनरतालिकिकरण गरेका हुन ।

खराब कर्जा कम देखाउन मद्दत हुने भएपनि बैंकहरुले पनि केन्द्रीय बैंकले दिएको सुविधा प्रयोग गरे । सो अनुसार चालु आर्थिक वर्षको चैतसम्ममा बैंकहरुको पुनरतालिकिकरण र पुनसंरचना गरेको कुल कर्जा ५ अर्ब ३७ करोड ८० लाख रुपैयाँ रहेको छ । केन्द्रीय बैंकले पुनरसंरचनाको सुविधा नदिएको भएको यो पनि निष्क्रिय कर्जामा गणना हुन्थ्यो । त्यसले गर्दा पनि बैंकिङ क्षेत्रको समस्या बढ्न सक्ने भएकाले केन्द्रीय बैंकले खराब कर्जा कम देखाउन मद्दत हुने नीति अलम्बन गरेको एक पुर्व बैंकरले बताए । “केन्द्रीय बैंकले अहिले एकैपटक भन्दा पनि आगामी दिनमा विस्तारै देखियोस भन्ने मनसाय राखेको देखिन्छ,” ती पुर्व बैंकरले भने,“अहिले दिएको सुविधालाई निरन्तरता दिदै विस्तारै कम गर्दै गएको खण्डमा ठिकै पनि हो, तर अहिले दिएको सुविधा एकै पटक रोक्ने हो भने त्यसले झनै समस्या बढाउँछ ।”

सञ्चालनमा रहेको २० वाणिज्य बैंक मध्ये ९ ले कर्जाको पुनसंरचना गरेका छैनन् । तर, ११ बैंकहरुले केन्द्रीय बैंकले तोकेको सर्त पुरा भएका कर्जाको पुनसंरचना गरेका छन् । चालु आवको चैतसम्मको तथ्याङक अनुसार कृषि विकास बैंकले सबैभन्दा धेरै एक अर्ब ८९ करोड रुपैयाँ बराबरको कर्जा पुनरसंरचना गरेको छ ।

सो अवधिमा सबैभन्दा थोरै सिद्धार्थ बैंकले ८ लाख ११ हजार रुपैयाँ बराबरको कर्जा पुनरसंरचना गरेको छ । बैंकहरुले यसरी पुनसंरचना गरेको कर्जामा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था पनि गरेका छन् । तर, केही बैंकहरुले कर्जा पुनसंरचना र कमसल कर्जालाई जोडेर पनि देखाएका छन भने केहीले पुनरसंरचना भएको कर्जा नै सार्वजनिक गरेका छैनन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।