सबैभन्दा धेरै खराब कर्जा रहेको निर्माण क्षेत्रमा बैंकहरुको लगानी सवा २ खर्ब

0
Shares

बैंक तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा गरेको लगानी समग्र वित्तीय प्रणालीका लागि नै चुनौतिपुर्ण बन्दै गएको छ । निर्माण क्षेत्रको लगानी खराब कर्जामा परिणत हुने दर बढेसंगै जोखिम बढेको हो ।

कोरोना महामारी तथा आर्थिक मन्दीका कारण अर्थतन्त्रमा समस्या देखियो । अर्थतन्त्रको समस्याका कारण निर्माण क्षेत्र करिब ठप्प नै रह्यो । समग्र बजारमा आएको मागको कमीका कारण आर्थिक गतिविधि नै सुस्त भएको अवस्थामा निर्माण क्षेत्र झनै शिथिल बन्दै गएसंगै बैंक तथा वित्तीय संस्थाको कर्जा पनि समस्यामा पर्न थाल्यो।

अर्थतन्त्रले गति लिन नसक्दा थलिएका निर्माण क्षेत्रका कारण बैंकहरुको कर्जा डिफल्ट रेट बढ्दा खराब कर्जा समेत वृद्धि भएको बैंकरहरुले बताउने गरेका छन् । बैंक तथा वित्तीय संस्थाको लगानी रहेका क्षेत्र मध्ये सबैभन्दा धेरै खराब कर्जा निर्माण क्षेत्रको रहेको उनीहरुले बताउने गरेका छन् । चालु आर्थिक वर्षको फागुनसम्ममा वित्तीय क्षेत्रको खराब कर्जा कुल कर्जाको ३.७३ प्रतिशत रहेको छ ।

वित्तीय क्षेत्रमा बढेको खराब कर्जामा सबैभन्दा धेरै हिस्सा निर्माण क्षेत्रको रहेको बैंकहरुले खुलेआम बताउने गरेका छन् ।

गत बिहीबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सबैभन्दा धेरै खराब कर्जा निर्माण क्षेत्रको रहेको बताएका थिए । त्यसैगरी सोही कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष उपेन्द्र पौड्यालले पनि निर्माण क्षेत्रमा सरकारले भुक्तानी गर्न नसक्दा त्यो क्षेत्रको खराब कर्जा बढेको बताएका थिए । सरकारले भुक्तानी दिने हो भने खराब कर्जा कम हुने समेत पौड्यालको तर्क थियो ।

निर्माण क्षेत्रमा समस्या रहेको विषयमा राष्ट्रिय तथ्याङक कार्यालयका अनुसार चालु आर्थिक वर्षको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.०७ प्रतिशतले ऋणात्मक हुने प्रारम्भिक अनुमान छ ।

निर्माण सामाग्रीको आयातमा आएको कमी, निर्माण सामाग्रीको स्वदेशी उत्पादनमा भएको कमी जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा संकुचन हुने अनुमान गरिएको हो । यसले पनि निर्माण क्षेत्रमा समस्या रहेको र त्यसको असर बैंक वित्तीय संस्थामा पुगेको स्पष्ट हुन्छ । सरकारले पनि लक्ष्य अनुसारको पुँजीगत खर्च गर्न नसक्दा समेत निर्माण क्षेत्रमा समस्या बढेको हो ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंक तथा वित्तीय संस्थाले कुल कर्जा लगानी ५१ खर्ब २८ अर्ब ४३ करोड रुपैयाँ गरेका छन् । सो मध्ये निर्माण क्षेत्रमा २ खर्ब २० अर्ब ६७ करोड रुपैयाँ बराबरको लगानी रहेको छ । यो कर्जा रकम कुल कर्जा लगानीको करिब साढे ४ प्रतिशत हो । चालु आर्थिक वर्षको ९ महिनामा यो क्षेत्रको कर्जा ८.७ प्रतिशले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाको चालु आवको चैतसम्मको निर्माण क्षेत्रको कर्जा लगानी गत आवको सोही अवधिको तुलनामा ३१ अर्ब ८० करोड रुपैयाँले धेरै हो। गत आवको चैतसम्ममा बैंक तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा एक खर्ब ८८ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।