दश महिनामा ४१ अर्ब वैदेशिक लगानी प्रतिवद्धता प्राप्त, वैशाखमा मात्रै सवा ११ अर्ब

0
Shares

चालु आर्थिक वर्षको १० महिनामा ४१ अर्ब बढीको वैदेशिक लगानी स्वीकृत भएको छ। उद्योग विभागका अनुसार गत साउनदेखि वैशाख मसान्तसम्ममा कुल ४१ अर्ब २ करोड बढी वैदेशिक लगानी स्वीकृत भएको हो ।

उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म ४१ अर्ब २ करोड २ लाख २६ हजार रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ । यो अघिल्लो आव २०७९/८० को सोही अवधिको तुलनामा सवा ११ अर्ब बढी हो । गत आव वैशाख मसान्तसम्म २९ अर्ब ७४ करोड रुपैयाँ बराबर एफडीआई आएको थियो ।

चालु आर्थिक १० महिनाको अवधिमा विभिन्न देशबाट ३०७ वटा नयाँ उद्योगका सो लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार वैशाखसम्म ४ वटा ठूला, १३ वटा मध्यम र २९० वटा साना उद्योगको लागि वैदेशिक लगानी स्वीकृत भएको हो। यी उद्योगहरुबाट १७ हजार २२३ रोजगारी सृजना हुने विभागको भनाई छ ।

वैशाखमा मात्रै ३८ वटा उद्योगका लागि ११ अर्ब २८ करोड ५७ लाख बराबरको लगानी प्रतिबद्धता स्वीकृत गरिएको छ। जसबाट १७३४ जनाले रोजगारी पाउने विभागले जनाएको छ । वैशाखमा ३७ वटा साना उद्योग तथा एउटा ठूलो उद्योगको लागि लगानी प्रतिवद्धता प्राप्त भएको हो ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म महिनागत रूपमा वैशाखमा चालु वर्षकै सबैभन्दा धेरै लगानी स्वीकृत भएको हो । सरकारले वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलन गरेको थियो। त्यसको प्रभाव लगानी प्रतिवद्धतामा देखिएको छ।

दश महिनामा स्वीकृत औद्योगिक परियोजना मध्येमा पर्यटन क्षेत्रका ४७ प्रतिशत, ३४ प्रतिशत सेवा क्षेत्र, ११ प्रतिशत उत्पादन क्षेत्र, ३ प्रतिशत सूचना तथा प्रविधि, २ प्रतिशत परियोजना कृषि क्षेत्रमा आधारित रहेका छन्।

वैशाखसम्म आएको एफडीआईको ठूलो हिस्सा पर्यटनमा केन्द्रित देखिन्छ । कुल लगानी प्रतिवद्धतामध्ये सबैभन्दा धेरै पर्यटन उद्योगमा आएको छ। यस क्षेत्रमा १४४ उद्योगको लगानी स्वीकृत भएको छ। सेवा क्षेत्रमा १०३, उत्पादनमूलक उद्योगमा ३४, सूचना प्रविधिमा नौ, पूर्वाधारमा ७, कृषिमा ७ र खानीमा दुई वटा उद्योगको लगानी स्वीकृत भएको विभागले जनाएको छ।

यता, वैशाखबाटै कार्यान्वयनमा आएको अटोमेटिक रुट अर्थात स्वालित प्रणालीमार्फत एकै महिनामा २ अर्ब १५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ यस प्रणालीमार्फत कूल २१ परियोजना स्वीकृत भएका थिए ।

विभागका अनुसार हालसम्म ६ हजार १६६ उद्योगहरुका लागि ४ खर्ब ७९ अर्ब ९४ करोड बराबरकोे लगानी प्रतिबद्धता आएको जनाइएको छ । ती उद्योगहरुबाट ३ लाख २७ हजार ३ सय ३२ जनाले रोजगारी पाउने विभागको भनाई छ ।

वैशाखसम्म झन्डै २ हजार विदेशी नागरिकले नेपालमा लगानीकर्ताका रूपमा बिजनेस भिसा पाएका छन् । तथ्यांक अनुसार वैशाखसम्म १ हजार ८ सय ९६ लगानीकर्ताले बिजनेस भिसा पाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।