वैदेशिक व्यापारमा गिरावट, दश महिनाको व्यापार घाटा पौने १२ खर्ब

0
Shares

चालू आर्थिक वर्ष २०८०/८१ को दश महीना अर्थात वैशाखसम्ममा मुलुकको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ नाघेको छ । गत चैत महिनासम्म खर्ब १० अर्ब ५३ करोड ४२ लाख रुपैयाँ व्यापार घाटा रहेकोमा पछिल्लो महीना मात्रै व्यापार घाटा १ खर्ब २४ अर्बले बढेको हो ।

वैशाखसम्म मुलुकले व्यहोरेको व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा २.२६ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा नेपालले १२ खर्ब ४ अर्ब ४२ करोड व्यापार घाटा व्यहोरेको थियो ।

वैशाखसम्ममा १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । गत आवको तुलनामा कुल वैदेशिक व्यापार २.५० प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको १० महीना अवधिसम्ममा आयात निर्यात दुबै घटेको छ । यस अवधिमा आयात २.३९ प्रतिशतले घटेको छ भने निर्यात पनि ३.६१ प्रतिशतले घटेको छ ।

भन्सार विभागका अनुसार वैशाख महिनासम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

त्यस्तै, यस अवधिमा १ खर्ब २६ करोड १७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा १ खर्ब २० अर्ब ४४ करोड २२ लाख रुपैयाँको वस्तु र सेवा निर्यात भएको थियो ।

समीक्षा अवधिमा भारतसँग नेपालले सात खर्ब २९ अर्ब ७० करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । भारतबाट आठ खर्ब १५ अर्ब ७२ करोडको आयात र ८६ अर्बको निर्यात भएको छ । नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी मुलुक चीनसँगको व्यापार घाटा दुई खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ । दश महिनामा चीनसँग दुई खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात हुँदा २२ अर्ब ७४ करोड बराबरको निर्यात भएको छ ।

वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यो अवधिमा एक खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल ५६ अर्ब ८० करोड बराबरको डिजेल र ४६ अर्ब बराबरको खाना पकाउने ग्यास आयात भएको छ । सोही अवधिमा २४ अर्ब एक करोड बराबरको मोबाइल फोन आयात भएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट आठ अर्ब ७९ करोड, अलैंची ६ अर्ब ९१ करोड, फलामजन्य वस्तु पाँच अर्ब ५२ करोड र पाम आयल पाँच अर्ब ६० करोड बराबर छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।