मूल्य आकासिए पछि सुन आयातसँगै गहना निर्यातमा गिरावट

0
Shares

सुनको भाउले दिन दिनै ऐतिहासिक मूल्य कायम गर्दै गर्दा सुन आयातमा कमी आउनका साथै गरगहना निर्यात समेत घटेको छ । भन्सार विभागका अनुसार चालु आथिक वर्षको दश महिनाको अवधिमा २४ लाख ५१ हजार ८६४ केजी सुन आयात भएको छ ।

जुन गत आर्थिक वर्षको तुलनामा ४.४ प्रतिशतले मात्र कम हो । गत आर्थिक वर्षमा नेपालले २५ लाख ६६ हजार ५८६ ग्राम सुन आयात गरेको थियो ।

सुनको मूल्य भने एक वर्षको अवधिमा प्रतितोला २८ हजार ९०० रुपैयाँले बढेको छ । २०८० साल जेठ १० गते १ लाख ९ हजार ८०० रुपैयाँमा करोबार भएको सुनको भाउ आज २०८१ जेठ १० गते १ लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालमा सुनको कारोबारमा कमी आएता पनि नेपालबाट भारततर्फ हुने सुन तस्करी बढिरहेकोले आयातमा खासै परिवर्तन नभएको सुनचाँदी व्यवसायीहरु बताउँछन्।

नेपालमा सुन आयात गर्दा १५ प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ भने भारतमा सुन आयात गर्दा १८.४५ प्रतिशत राजस्व तिर्नुपर्छ  । भारतले गरगहना देखि धर्म संस्कृतीमा नै सुनको अत्याधिक प्रयोग गर्ने गरेको छ । भारतको धर्म संस्कृतीमा सुनको प्रयोग गर्ने प्रचलनले सुनका लागि भारतीय बजार बृहत छ । क्षेत्रफल र जनसंख्याको हिसावले पनि नेपालमा भन्दा भारतमा नै धेरै सुन कारोबार हुने गर्दछ ।

भारतको भन्सार दर भन्दा नेपालको सस्तो हुँदा नेपालमा सुन आयात गरी खुला सिमानामार्फत भारतमा सुन लैजाने गरिएकोले आयातमा फरक नपरेको व्यवसायीहरुको बुझाइ छ । सुनको मूल्य बढेका कारण स्वदेशी कालिगढ र व्यापारीहरु समस्यामा पर्ने गरेका छन् । क्रयशक्ति वृद्धि नभई मूल्य मात्र उचाइमा पुग्दा सुन व्यापार खस्किएको व्यापारीहरु बताउँछन्।

दश महिनाको अवधि (साउनदेखि बैशाखसम्म) सुनका गहना निर्यातमा कमी आएको छ । गत आवको दश महिना अवधिमा १४ करोड ६० लाख २८ हजार रुपैयाँ बराबरको १५ हजार ११० ग्राम सुनका गहना निर्यात हुँदा चालु आवको सोही अवधिमा ३ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको ३ हजार ७२७ ग्राम सुनका गहना निर्यात भएको छ ।

सुनको भाउ बढिरहेकोले सुन खरिद नै गर्न नसकिएकोले सुनका गहना निर्यातमा कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

यता, नेपालले दश महिनामा ४७ करोड ८७ लाख ५५ हजार रुपैयाँ बराबरको ५४ हजार ५४२ ग्राम सुनको गहना आयात गरेको छ । जसवापत ३ करोड ६१ लाख ७७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।