आर्थिक वर्ष सकिन डेढ महिना रहँदा विकास खर्च ४१% मात्रै, राजश्व ६०% उठ्यो, बजेट घाटा सवा २ खर्ब

0
Shares

चालु आर्थिक वर्ष २०८०/८१ को साढे दश महिना अर्थात जेठ १५ गतेसम्ममा सरकारको कुल बजेट खर्च वार्षिक विनियोजित रकमको ६३.७२ प्रतिशत देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार २०८१ जेठ १५ गतेसम्म ११ खर्ब १५ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बराबर बजेट खर्च भएको हो । चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । अहिलेको खर्चको अवस्था हेर्दा सरकारको लक्ष्य पूरा नहुने देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म चालुतर्फ ७ खर्ब ८५ अर्ब ८० करोड अर्थात ६८.८२ प्रतिशत, पुँजीगततर्फ १ खर्ब २५ अर्ब ९ करोड अर्थात ४१.४१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ५ अर्ब ५ करोड रुपैयाँ अर्थात् ६६.७ प्रतिशत बराबर मात्रै खर्च भएको छ ।

तर, अझै चालु शीर्षकको ३ खर्ब ५५ अर्ब ९७ करोड, पुँजीगत शीर्षकको १ खर्ब २५ अर्ब ९ करोड र वित्तीय व्यवस्थातर्फको १ खर्ब २ अर्ब ३९ करोड रुपैयाँ बराबर खर्च हुन सकेको छैन । सरकारले बजेटको लक्ष्य हासिल गर्न आगामी डेढ महिनामा उक्त परिमाणको बजेट खर्च गर्नुपर्नेछ । यस अवधिमा सरकारले ६ खर्ब ३५ अर्ब ३४ करोड रुपैयाँ बजेट खर्च गर्नुपर्ने हुन्छ । आगामी आर्थिक वर्ष लाग्नु अगाडि चालु आर्थिक वर्षको असारभित्रै बजेट सक्न सरकारले अगामी ४५ दिन लगातार दैनिक १४ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने तथ्यांकले देखाएको छ ।

चालु आवको साढे दश महिनाको अवधिमा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ६०.७१ प्रतिशत अर्थात ८ खर्ब ६३ अर्ब ५९ करोड रुपैयाँ बराबर देखिएको छ । चालु आवका लागि सरकारले १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

साढे दश महिनामा सरकारले राजश्व, अनुदान तथा अन्य क्षेत्रबाट ८ खर्ब ६३ अर्ब ५९ करोड ९७ लाख प्राप्ति गरेको छ । जुन सरकारले यस अवधिमा गरेको खर्च भन्दा २ खर्ब ५२ अर्ब ३६ करोड ७४ लाख कम हो । सरकारले चालु आवको साढे दश महिनाको अवधिमा कुल ८ खर्ब ८८ अर्ब ८६ करोड ७६ आम्दानी गरेर ११ खर्ब १५ अर्ब ९६ करोड ७१ लाख खर्च गरेको छ । यसअवधिमा सरकारको बजेट घाटा साढे सवा दुई खर्ब नाघेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार साढे दश महिनामा ८ खर्ब ६३ अर्ब ५९ करोड ९७ लाख राजश्व संकलन भएको छ । संकलित राजस्वमध्ये कर राजस्वतर्फ ७ खर्ब ७६ अर्ब ७९ करोड, गैरकर राजस्वतर्फ ८६ अर्ब ८० करोड र वैदेशिक अनुदानतर्फ २ अर्ब ७५ करोड रुपैयाँ बराबर संकलन भएको छ । यही अवधिमा अन्य प्राप्ति शीर्षकको राजस्व २२ अर्ब ५० करोड रुपैयाँ बराबर छ  ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।