मौद्रिक नीतिको समीक्षापछि बढेको सेयर बजारमा बजेटपछि निरन्तर गिरावट

0
Shares

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापश्चात निरन्तर सुधारको बाटोमा रहेको सेयर बजार बजेट सार्वजनिक भएपछि भने दैनिक ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक समीक्षा कर्जा नोक्सानी १.२५ प्रतिशतलाई घटाएर १.२ प्रतिशत कायम गर्नुपर्र्ने, घरजग्गा खरिद निर्माण क्षेत्रमा प्रवाहित कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ७० प्रतिशत कायम गर्नुपर्ने, वाणिज्य बैंकहरुले कुल पुँजीको १ प्रतिशतबाट बढाएर २० प्रतिशतसम्म सेयर बेच्न पाउने लगायतको व्यवस्था गरेको थियो । त्यस्तै २५ लाखभन्दा माथिको हायरपर्चेज कर्जा तथा सवारी कर्जामा लाग्दै आएको जोखिम भारलाई १०० प्रतिशतमा झार्नुपर्ने व्यवस्था गरेको थियो ।

मौद्रिक समीक्षाका क्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आगामी दिनमा मौद्रिक नीति अझै लचिलो हुने बताएपछि सेयर बजारका लगानीकर्ता उत्साहित भएका थिए । राष्ट्र बैंकले घरजग्गा तथा हायरपर्चेज एंवम सवारी कर्जामा केहि लचकता अपनाएपछि सेयरबजारप्रति पनि नरम हुने विश्वास लगानीकर्तामा रहेको थियो । तर, आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपनि सेयर लगानीकर्ताहरु निराश भएका छन । बजेटले सेयर बजारलाई उकास्ने अपेक्षामा रहेका लगानीकर्ता बजेटमा सेयर बजार सुधारका लागि ठोस कार्यक्रम नपाएपछि निरुत्साहित हुँदा सेयर बिक्रीको चाप परेको छ । जसले गर्दा बजारमा दैनिक गिरावट आएको हो ।

सरकारले बजेट मार्फत पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको संस्स्थागत क्षमता सुधार गर्ने घोषणा गरेको थियो । पुँजी बजाको फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको संरचनागत सुधार गरिने बजेटमा उल्लेख छ ।

पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्ड नेपालको संस्थागत सुदृढीकरण गरिने अर्थमन्त्रीको भनाई थियो । तर, सेयर लगानीकर्ताहरुले उठाउँदै आएका मागहरु बजेटले स्पष्ट रुपमा सम्बोधन नगरेपछि लगानीकर्ताको मनोबल खस्कदा सेयर बजार ओरालो लागेको छ । सेयर बजारका लगानीकर्ताले आगामी आर्थिक वर्षको बजेटमा कर सम्बन्धि नयाँ व्यवस्था गर्ने अपेक्षा गरेका थिए। सोही अपेक्षामा बजेट अघिका दिनहरुमा बजार बढेको थियो। तर, बजेटले कर सम्बन्धि कुनै हेरफेर नगरेपछि लगानीकर्ताहरु निराश भएका छन्।

बिहीबार नेप्से परिसूचक १९.८९ अंक घटेर २०६९.५३ विन्दुमा झरेको छ। बुधबार नेप्से २३.८१ अंकले ओरालो लागेको थियो । बजेटपछिका दुई दिनमा नेप्से परिसूचक झण्डै ४४ अंकले घटेको हो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ५७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ६१ हजार ७२ पटकको कारोबारमा ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरको ९८ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.२३ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन नेपाल फाइनान्स, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन युनिलिभर नेपालको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। यस दिन पोखरा फाइनान्सको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १९ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने जानकी फाइनान्सको कारोबार रकम साढे १३ करोड नाघेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।